अध्याय ९

1 म ख्रीष्‍टमा साँचो भन्दछु । म ढाँट्‌दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ, 2 कि मेरो लागि मेरो हृदयमा असाध्य शोक र अटुट पीडा छ । 3 किनकि म इच्छा गर्थें, कि मेरा भाइहरू अर्थात् शरीरअनुसार आफ्नै जातिका खातिर म आफैंचाहिं श्रापित होऊँ र ख्रीष्‍टबाट अलग गरिऊँ । 4 तिनीहरू इस्राएलीहरू हुन् । तिनीहरूसँग धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्‍वरको आराधना र प्रतिज्ञाहरू छन् । 5 तिनीहरू ती पुर्खाहरू हुन् जसबाट शरीरअनुसार ख्रीष्‍ट आउनुभएको छ—उहाँ नै सबैमाथिका परमेश्‍वर हुनुहुन्छ । सदासर्वदा उहाँको प्रशंसा भइरहोस् । आमेन । 6 तर यो परमेश्‍वरका प्रतिज्ञाहरू चुकेकोजस्तो होइन । किनकि इस्राएलमा भएका सबैजना साँचो रूपमा इस्राएलका होइनन् । 7 न त अब्राहामका सबै सन्तानहरू साँचो रूपमा तिनका छोराछोरीहरू नै हुन् । तर, “इसहाकबाट नै तेरा सन्तानहरू भनिनेछन् ।” 8 अर्थात् शरीरबाट जन्मेका छोराछोरीहरू परमेश्‍वरका छोराछोरीहरू होइनन् । तर प्रतिज्ञाका छोराछोरीहरू नै सन्तानहरूका रूपमा गनिन्छन् । 9 किनकि प्रतिज्ञाको वचन यही होः “म यही समयमा आउनेछु, र सारालाई एउटा छोरो दिइनेछ ।” 10 यति मात्र होइन, तर रिबेका पनि एक जना मानिस अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि– 11 किनकि छोराछोरीहरू अझ जन्मेका थिएनन् र तिनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्‍वरको उद्देश्य कामहरूका कारण होइन, तर बोलाउनुहुनेको कारणले चुनाउअनुसार ठहरियोस्— 12 तिनलाई यसो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।” 13 जस्तो लेखिएको थियोः “मैले याकूबलाई प्रेम गरें, तर एसावलाई घृणा गरें ।” 14 त्यसो हो भने, हामी के भनौं त? के परमेश्‍वरसित अधार्मिकता छ त? यस्तो कहिल्यै नहोस् । 15 किनकि उहाँ मोशालाई भन्‍नुहुन्छ, “जसमाथि म दया देखाउन चाहन्छु, त्यसमाथि म दया देखाउनेछु, र जसमाथि म करुणा देखाउन चाहन्छु, त्यसमाथि म करुणा देखाउनेछु ।” 16 त्यसैले यो इच्छा गर्नेको कारणले होइन, न त दौड्नेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्‍वरको कारणले नै हो । 17 किनकि धर्मशास्‍‍त्रले फारोलाई भन्छ, “यही उद्देश्यको निम्ति मैले तँलाई खडा गरें, ताकि मैले तँमा मेरो शक्‍ति प्रदर्शन गर्न सकूँ, र सारा पृथ्वीमा मेरो नाउँ घोषणा गरियोस् ।” 18 त्यसैले परमेश्‍वरले जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई दया गर्नुहुन्छ, र जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई कठोर पनि बनाउनुहुन्छ । 19 तब तिमीहरूले मलाई भन्‍नेछौ, “उहाँले किन अझ पनि गल्ती नै भेट्टाउनुहुन्छ त? किनकि उहाँको इच्छाको सामु को खडा भएको छ?” 20 त्यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनायौ? ” 21 के कुमालेसित उही माटोको डल्लोबाट एउटा भाँडो विशेष प्रयोगको निम्ति र अर्को भाँडो दैनिक प्रयोगको निम्ति बनाउने अधिकार हुँदैन र? 22 परमेश्‍वरले नै उहाँको क्रोध देखाउने र आफ्नो शक्ति प्रकट गर्ने इच्छा गर्दै, विनाशको निम्ति तयार पारिएका भाँडाहरूलाई निकै धैर्यसाथ सहनुभयो भने के त? 23 यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नुभएको दयाका भाँडाहरूमाथि उहाँको महिमाको सम्पत्ति प्रकट गर्न यसो गर्नुभयो भने के त? 24 यदि उहाँले यो हाम्रो निम्ति पनि गर्नुभयो, जसलाई उहाँले यहूदीहरूबाट मात्र होइन, तर गैरयहूदीहरूबाट पनि बोलाउनुभयो भने के त? 25 जसरी उहाँ होशेको पुस्तकमा पनि भन्‍नुहुन्छः “जो मेरा मानिसहरू थिएनन्, म तिनीहरूलाई मेरा मानिसहरू भन्‍नेछु, र जो प्रिय थिईनन् तिनलाई प्रिय भन्‍नेछु । 26 र यस्तो हुनेछ, कि जहाँ तिनीहरूलाई ‘तिमीहरू मेरा मानिसहरू होइनौ’ भनियो, त्यहाँ तिनीहरूलाई ‘जीवित परमेश्‍वरका छोराहरू’ भनिनेछ ।” 27 यशैया इस्राएलको विषयमा भन्छन्, “इस्राएलका छोराहरूको सङ्ख्या समुद्रको बालुवाजत्ति भए तापनि बाँकी रहेकाहरू मात्र बचाइनेछन् । 28 किनकि प्रभुले आफ्नो वचन पृथ्वीमा पूर्ण रूपमा र ढिला नगरी पूरा गर्नुहुनेछ ।" 29 जसै यशैयाले अगाडि भनेका थिए, “यदि सेनाहरूका प्रभुले हाम्रा निम्ति सन्तानहरू छोड्नुभएको थिएन भने, हामी सदोम जस्तै हुनेथियौं र गमोराजस्ता बन्‍नेथियौं ।” 30 त्यसो भए, हामी के भनौं त? गैरयहूदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन्, तिनीहरूले धार्मिकता अर्थात् विश्‍वासद्वारा आउने धार्मिकता प्राप्‍त गरे । 31 तर इस्राएल, जो धार्मिकताको व्यवस्थाको पछि लागे, तिनीहरू त्यसमा आइपुगेनन् । 32 किन त? किनभने तिनीहरूले त्यसलाई विश्‍वासद्वारा खोजेनन्, तर कामहरूद्वारा खोजे । तिनीहरू ठेस लाग्‍ने ढुङ्गामा ठेस खाए, 33 जस्‍तो लेखिएको छ, “हेर, मैले सियोनमा एउटा ठेस लाग्‍ने ढुङ्गा र ठक्कर लाग्‍ने चट्टान राख्‍दैछु । जसले यसमा विश्‍वास गर्छ त्यो लज्‍जित हुनेछैन ।”