अध्याय १०

1 भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्‍वरलाई मेरो बिन्ती तिनीहरूका लागि यही छ कि तिनीहरूले उद्धार पाऊन् । 2 किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्‍वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन । 3 किनकि तिनीहरूले परमेश्‍वरबाट आएको धार्मिकता नबुझेर, र आफ्नै धार्मिकता स्थापित गर्न खोजेर, तिनीहरू परमेश्‍वरको धार्मिकताको अधीनमा रहेनन् । 4 किनकि विश्‍वास गर्ने सबैको निम्ति ख्रीष्‍ट नै धार्मिकताको निम्ति व्यवस्थाको समाप्‍ति हुनुहुन्छ । 5 किनकि मोशा व्यवस्थाबाट आउने धार्मिकताको विषयमा लेख्‍छन्ः “व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस, यो धार्मिकताद्वारा नै जिउनेछ ।” 6 तर विश्‍वासद्वारा आउने धार्मिकताले यसो भन्छ: “आफ्नो हृदयमा यसो नभन, ‘स्वर्गमा को उक्लने?’ (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन); 7 र यसो नभन, ‘तल पातालसम्म को ओर्लने ?’" (अर्थात् ख्रीष्‍टलाई मरेकाहरूबाट ल्याउन), 8 तर यसले के भन्छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखमा र तिम्रो हृदयमा छ ।” त्यो विश्‍वासको वचन हो, जुन हामी घोषणा गर्छौं । 9 किनकि यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ, र परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्‍वास गर्छौ भने, तिमी बचाइनेछौ । 10 किनकि मानिसले आफ्नो हृदयले विश्‍वास गर्छ र त्यससँग धार्मिकता हुन्छ, र त्यसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ । 11 किनकि धर्मशास्‍‍त्रले भन्छ, “हरेक जसले उहाँमा विश्‍वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।” 12 किनकि यहूदी र ग्रीकहरूबीच कुनै भिन्‍नता छैन । किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ । 13 किनकि प्रभुको नाम पुकार्ने सबैले उद्धार पाउनेछन् । 14 त्यसो हो भने, जसमाथि तिनीहरूले विश्‍वास गरेका छैनन् उहाँलाई कसरी पुकार्न सक्छन्? जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्‍वास गर्न सक्छन्? प्रचारकविना तिनीहरूले कसरी सुन्‍न सक्छन्? 15 र जबसम्म तिनीहरू पठाईंदैनन्, तिनीहरूले कसरी प्रचार गर्न सक्छन्?—जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति राम्रा!” 16 तर तिनीहरू सबैले सुसमाचार पालन गरेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्‍वास गरेको छ?” 17 त्यसैले विश्‍वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्‍टको वचनद्वारा आउँछ । 18 तर म भन्छु, “के तिनीहरूले सुनेनन्?” हो, निश्‍चय नै । “तिनीहरूको आवाज सारा पृथ्वीभरि, र तिनीहरूका वचनहरू पृथ्वीको अन्त्यसम्म पुगेका छन् ।” 19 यसको अतिरिक्‍त, म भन्छु, “के इस्राएलले बुझेन?” पहिले मोशा भन्छन्, “म तिमीहरूलाई एउटा जाति नै नभएको समूहद्वारा डाही तुल्याउनेछु । समझविनाको जातिद्वारा म तिमीहरूलाई क्रोधित तुल्याउनेछु ।” 20 तब यशैया निकै साहसी थिए, जब तिनी भन्छन्, “जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए । जसले मलाई बिन्ती गरेनन्, म तिनीहरूकहाँ देखा परें ।” 21 तर इस्राएललाई उहाँ भन्‍नुहुन्छ, “मैले मेरा हात दिनभरि अनाज्ञाकारी र हठी मानिसहरूतिर फैलाएँ ।”