अध्याय ११

1 त्यसो भए म भन्छु, के परमेश्‍वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त? त्यस्तो कहिल्यै नहोस् । किनकि म पनि अब्राहामको सन्तान, बेन्यामीन कुलका एक इस्राएली हुँ । 2 परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो मानिसलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्‍‍त्रले के भन्छ अर्थात् तिनले इस्राएलको विरुद्धमा परमेश्‍वरसँग कसरी बिन्ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? 3 “हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म एक्लै छोडिएको छु, र तिनीहरूले मेरो ज्यान लिन खोजिरहेका छन् ।” 4 तर परमेश्‍वरको जवाफले तिनलाई के भन्छ? “बालको सामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मैले मेरो निम्ति साँचेर राखेको छु ।” 5 त्यसो भएपनि, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् । 6 तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन । नत्रता अनुग्रह, अनुग्रह नै हुने थिएन । 1 7 त्यसो भए के त? इस्राएलले जे खोजिरहेको थियो, त्यो पाएन, तर चुनिएकाहरूले त्यो पाए, र बाँकी रहेकाहरूलाई चाहिं कठोर बनाइए । 8 जस्तो लेखिएको छः “आजको दिनसम्म पनि परमेश्‍वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्‍न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्‍न नसकून् ।” 9 अनि दाऊद भन्छन्, “तिनीहरूका टेबुल तिनीहरूका निम्ति जाल र पासो, बाधा र प्रतिशोध बनोस् । 10 तिनीहरूका आँखा अँध्यारो होस्, ताकि तिनीहरूले नदेखून्, र तिनीहरूका ढाड सधैं कुप्रो भइरहून् ।” 11 त्यसो भए म भन्छु, “के तिनीहरू पतन हुनका लागि ठक्‍कर खाएका हुन्?” त्यस्तो कहिल्यै नहोस् । बरु, तिनीहरूलाई डाही तुल्याउनको निम्ति, तिनीहरूका असफलताद्वारा गैरयहूदीहरूकहाँ मुक्‍ति आएको छ । 12 अब यदि तिनीहरूको असफलता संसारको निम्ति धन हो, र यदि तिनीहरूको नोक्सानी गैरयहूदीहरूका निम्ति धन हो भने, तिनीहरूको पूर्णता झनै कति ठुलो हुनेछ? 13 तर अहिले म गैरयहूदीहरूसँग बोलिरहेको छु, र जबसम्म म गैरयहूदीहरूको प्रेरित हुन्छु, म मेरो सेवकाईमा गर्व गर्छु । 14 सायद मेरा आफ्नैहरूलाई म डाही तुल्याउनेछु । सायद हामीले तिनीहरूमध्ये केहीलाई बचाउनेछौं । 15 किनकि यदि तिनीहरूको इन्कार संसारको मिलाप हो भने, तिनीहरूको स्वीकार, मृतकहरूबाट जीवित पारिनुबाहेक के हुनेछ र? 16 यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्‍कालाई पनि त्यसै गरिन्छ । यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ । 17 तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जङ्गली जैतूनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने, र तिमीहरू जैतून रूखको उर्बर जरामा तिनीहरूसँग सहभागी भयौ भने 18 हाँगाहरू भएकोमा घमण्ड नगर । तर यदि तिमीले गर्व गर्छौ भने, जरालाई थाम्‍ने तिमी होइनौ, तर जराले तिमीलाई थाम्छ । 19 तब तिमीले भन्‍नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।” 20 त्यो सत्य हो । तिनीहरूको अविश्‍वासको कारण तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्‍वासको कारण खडा छौ । आफैंलाई अति उच्‍च नठान, तर भय मान । 21 किनकि परमेश्‍वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन । 22 तब परमेश्‍वरको दयाका कामहरू र कठोरतालाई हेर: पतन भएका यहूदीहरूमाथि कठोरता आयो, तर यदि तिमीहरू उहाँको भलाइमा लागिरह्‍यौ भने तिमीहरूमाथि परमेश्‍वरको भलाइ आउँछ । नत्रता तिमीहरू पनि काटिनेछौ । 23 अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्‍वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् । किनकि परमेश्‍वरले तिनीहरूलाई फेरि कलमी बाँध्‍न सक्नुहुन्छ । 24 किनकि यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनको रूख भएर पनि काटियौ, र त्यस स्वभाव विपरीत असल जैतून रूखमा कलमी बाँधियौ भने, यी प्राकृतिक हाँगाहरू आफ्नै जैतूनको रूखमा कति धेरै कलमी बाँधिनेछन्? 25 किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्‍ने म चाहन्‍नँ, ताकि तिमीहरू आफ्‍नै विचारमा बुद्धिमानी नहोऊः गैरयहूदीहरू पूरा संख्यामा नआएसम्म इस्राएलमा आंशिक कठोरता आएको छ । 26 त्यसैले सबै इस्राएल उद्धार हुनेछ, जस्तो लेखिएको छ: “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ, 27 अनि तिनीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाई लानेछु ।” 28 सुसमाचारको सम्बन्धमा भन्‍नुपर्दा, तिमीहरूका खातिर तिनीहरू शत्रु हुन् । तर चुनाउको सम्बन्धमा भन्‍नुपर्दा, तिनीहरूका पुर्खाहरूका कारण तिनीहरू प्रियहरू हुन् । 29 किनकि परमेश्‍वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन् । 30 किनकि तिमीहरू पहिला परमेश्‍वरप्रति अनाज्ञाकारी थियौ, तर तिनीहरूका अनाज्ञाकारिताले अहिले तिमीहरूले दया प्राप्‍त गरेका छौ । 31 त्यसरी नै, अहिले यी यहूदीहरू अनाज्ञाकारी भएका छन् । परिणाम यो हो कि तिमीहरूलाई देखाइएको दयाद्वारा तिनीहरूले पनि दया प्राप्‍त गर्न सकून् । 32 किनकि परमेश्‍वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्‍नुभएको होस् । 33 ओहो! परमेश्‍वरका बुद्धि र ज्ञान दुवैका सम्पत्ति कति गहन! उहाँका न्यायहरू कति अगम्य, र उहाँका मार्गहरू खोज्‍न नै नसकिनेछन्! 34 “किनकि परमेश्‍वरको मनलाई कसले जानेको छ अथवा उहाँको सल्लाहकार को भएको छ र? 35 अथवा कसले परमेश्‍वरलाई पहिले कुनै कुरा दिएको छ, कि परमेश्‍वरले त्यसलाई फिर्ता दिनुपर्छ?” 36 किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।

1केही प्राचीन प्रतिलिपिहरूमा तर यदि यो कामहरूद्वारा हो भने यो अनुग्रह हुँदै होइन; नत्रता काम, काम नै हुँदैन छ ।