अध्याय १२

1 यसकारण भाइहरू हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई बिन्‍ती गर्छु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो । 2 यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई परिवर्तित होओ । परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर । 3 किनकि मलाई दिइएको अनुग्रहअनुसार तिमीहरूमध्ये हरेकलाई म भन्छुः तिमीहरूमध्‍ये कसैले पनि आफूलाई जस्तो ठान्‍नुपर्ने हो सोभन्दा बढी नठानोस्, बरु, परमेश्‍वरले तिमीहरूलाई दिनुभएको विश्‍वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच । 4 किनकि हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन । 5 त्यसरी नै, हामीहरू जो धेरै छौं, ख्रीष्‍टमा एउटै शरीर हौं, र भिन्‍नाभिन्‍नै एक-अर्काका अङ्गहरू हौं । 6 हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने, त्यसको विश्‍वासको परिमाणअनुसार गरियोस् । 7 यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् । 8 यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले त्यो उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यो होसियारीसाथ गरियोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्यो प्रसन्‍नतासाथ गरियोस् । 9 प्रेम निष्कपट होस् । जे खराब छ, त्यसलाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो । 10 दाजुभाइहरूबीच हुने प्रेमको सम्बन्धमा चाहिं एक-अर्काप्रति स्‍नेही बन । आदर गर्ने सम्बन्धमा एक-अर्कालाई आदर गर । 11 लगनशीलताको सम्बन्धमा नहिच्‌किचाओ । आत्माको सन्बन्धमा उत्सुक होओ । प्रभुको सम्बन्धमा उहाँको सेवा गर । 12 आशामा आनन्द मनाओ, दुःखमा धैर्य गर र प्रार्थनामा विश्‍वासयोग्‍य होओ । 13 विश्‍वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर । 14 तिमीहरूलाई सताउनेहरूलाई आशिष्‌‌ देओ; आशिष्‌‌ देओ र श्राप नदेओ । 15 आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ । 16 एक अर्काप्रति एउटै मनका होओ । अभिमानी तरिकाहरूले नसोच, तर नम्र मानिसहरूलाई स्वीकार गर । आफ्नै विचारहरूमा बुद्धिमान्‌ नहोओ । 17 खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल कुराहरू गर । 18 सम्भव भए, तिमीहरूको हकमा भएसम्म सबै मानिसहरूसँग शान्तिमा बस । 19 प्रिय हो, आफैंले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “'बदला लिने काम मेरो हो; मैले बदला लिनेछु', परमप्रभु भन्‍नुहुन्छ ।" 20 “तर तिम्रो शत्रु भोकाएको छ भने, त्यसलाई खान देऊ । त्यो तिर्खाएको छ भने, त्यसलाई पिउन देऊ । किनकि तिमीले यसो गर्‍यौ भने तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ ।” 21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।