अध्याय ८

1 त्यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन । 2 किनकि ख्रीष्‍ट येशूमा जीवनको आत्माको व्यवस्थाले तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्‍‍त्र बनाएको छ । 3 किनकि व्यवस्था शरीरद्वारा कमजोर भएको हुनाले जे व्यवस्थाले गर्न असमर्थ थियो, सो परमेश्‍वरले गर्नुभयो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो, र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो । 4 हामीमा व्यवस्थाका आवश्‍यकताहरू पूरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, हामी जो शरीरअनुसार होइन, तर आत्माअनुसार चल्छौं। 5 जो शरीरअनुसार जिउँछन्, तिनीहरूले शरीरका कुराहरूमा ध्यान दिन्छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माका कुराहरूमा ध्यान दिन्छन् । 6 किनकि शरीरमा मन लगाउनु मृत्यु हो, तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो । 7 शरीरमा मन लगाउनु परमेश्‍वरप्रति शत्रुता हो, किनकि यो परमेश्‍वरको व्यवस्थाको अधीनमा हुँदैन, न त त्यो कहिल्यै हुनसक्छ । 8 जो शरीरमा छन्, तिनीहरू परमेश्‍वरलाई खुसी तुल्याउन सक्दैनन् । 9 तापनि यदि वास्तवमा परमेश्‍वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने, तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ । तर यदि कसैसँग ख्रीष्‍टका आत्मा हुनुहुन्‍न भने, त्यो उहाँको होइन । 10 यदि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ भने, पापको कारणले शरीर मृत हुन्छ, तर धार्मिकताको कारणले आत्मा जीवित हुन्छ । 11 यदि येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने, ख्रीष्‍टलाई मृतकहरूबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ । 12 त्यसकारण भाइ हो, हामी ऋणी छौं, तर शरीरअनुसार जिउन शरीरप्रति ऋणी छैनौं । 13 किनकि यदि तिमीहरू शरीरअनुसार जिउँछौ भने, तिमीहरू मर्न लागेका छौ, तर यदि तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ । 14 किनकि जति परमेश्‍वरका आत्माद्वारा डोर्‍याइएका छन्, तिनीहरू नै परमेश्‍वरका छोराछोरीहरू हुन् । 15 तिमीहरू फेरि भयभीत भई जिउनको लागि दासत्वको आत्मा पाएका छैनौ; बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता!” भनी पुकार्छौं । 16 हामी परमेश्‍वरका सन्तान हौं भनी आत्मा स्वयम्‌ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ । 17 यदि हामी सन्तानहरू हौं भने त हामी उत्तराधिकारीहरू पनि हौं अर्थात् परमेश्‍वरका उत्तराधिकारीहरू हौं । अनि हामी ख्रीष्‍टसँगै साझे-उत्तराधिकारीहरू हौं, वास्तवमा हामी उहाँसँगै कष्‍ट भोग्छौं भने हामी पनि उहाँसँगै महिमित हुनसक्छौं । 18 किनकि यो वर्तमान समयका कष्‍टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्‍ने म ठान्छु । 19 किनकि सृष्‍टिको उत्कट आशा परमेश्‍वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ । 20 किनकि सृष्‍टिलाई व्यर्थताको वशमा सुम्पिइयो, यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्‍नुहुनेको कारणले, यसै आशामा, 21 कि सृष्‍टि स्वयम्‌लाई विनाशको दासत्वबाट मुक्‍त गरिनेछ, र यसलाई परमेश्‍वरका सन्तानहरूका महिमाको स्वतन्‍‍त्रतामा ल्याइनेछ । 22 किनकि हामी जन्दछौं, कि सारा सृष्‍टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ । 23 यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैं पनि भित्र क्रन्दनमा छौं, जसै हामी हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षा गर्छौं । 24 किनकि हामीलाई यही आशाद्वारा बचाइएको थियो ।अब देखिएको आशा चाहिं आशा होइन । किनकि आफूले देख्‍न सक्ने कुराको लागि कसले आशा गर्छ? 25 तर यदि हामी आफूले नदेखेका कुरामा आशा गर्छौं भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्छौं । 26 त्यसै गरी, आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौं, तर आत्माले व्यक्त गर्न नसकिने क्रन्दनले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ । 27 जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले आत्माको विचार जान्‍नुहुन्छ, किनभने उहाँले परमेश्‍वरका पवित्र जनहरूको तर्फबाट अन्तरबिन्‍ती गर्नुहुन्छ । 28 हामी जान्दछौँ, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ । 1 29 किनभने जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति पनि गर्नुभयो ताकि उहाँ धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् । 30 जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो । 31 त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौं त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हुनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र? 32 उहाँ जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्‍नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैंमा दिनुहुन्‍न र? 33 परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले कुनै दोष ल्याउनेछ? धर्मी तुल्याउनुहुने त परमेश्‍वर नै हुनुहुन्छ । 34 दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ? ख्रीष्‍ट येशू नै हुनुहुन्छ जो मर्नुभयो—अनि त्यसभन्दा बढी जो जीवित भई उठ्नुभयो—जो परमेश्‍वरको दाहिने हाततर्फ हुनुहुन्छ, र जो हाम्रा लागि मध्यस्थता पनि गरिरहनुभएको छ । 35 हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्नेछ? सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले? 36 जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौं । हामीलाई मारिने भेडाहरूझैं ठानियो ।” 37 यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौं । 38 किनकि म विश्‍वस्त भएको छु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न शासकहरूले, न वर्तमानका कुराहरूले, न आउने कुराहरूले, 39 न उचाइले, न गहिराइले, न सृष्‍टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ ।

1केही ग्रीक प्रतिलिपिहरूमा उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ को सट्टामा सबै थोकले एकसाथ भलाइको निम्ति काम गर्छन्