अध्याय ७

1 वा भाइ हो, के तिमीहरूलाई थाहा छैन (किनकि म व्यवस्थाबारे जान्‍ने मानिसहरूसित बोल्दैछु), कि व्‍यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्‍‍त्रण गर्छ? 2 किनकि एक विवाहित स्‍‍त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि त्यसको पति मर्‍यो भने त्यो त्यस विवाहको व्यवस्थाबाट मुक्त हुन्छे । 3 त्यस्तै, त्यसको पति जीवित हुँदा त्यो अर्को पुरुषसँग बसी भने, त्यसलाई व्यभिचारिणी स्‍‍त्री भनिनेछ । तर त्यसको पति मर्‍यो भने, त्यो त्यस व्यवस्थाबाट मुक्त हुन्छे, त्यसैले त्यो अर्को पुरुषसँग बसी भने पनि त्यो व्यभिचारिणी हुँदिन । 4 त्यसैले मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । ताकि हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौं भनेर तिमीहरू अर्कोसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सकोस् । 5 किनकि जब हामी शरीरमा थियौं, व्यवस्थाद्वारा सक्रिय गराइएका पापमय स्वभावहरू, मृत्युको निम्ति फल फलाउन हाम्रा शरीरका अङ्गहरूमा काम गर्थे । 6 तर अब हामी व्यवस्थाबाट स्वतन्‍‍त्र पारिएका छौं । हामीलाई जुन कुराले बाँधेको थियो, त्यसको निम्ति हामी मरेका छौं । हामीले पुरानो विधानमा होइन, तर पवित्र आत्माको नयाँपनमा सेवा गर्न सकौं भनेर यसो भएको हो । 7 त्यसो भए, हामीले के भन्‍ने त? के व्यवस्था आफैं पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैंले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी जान्‍ने थिइनँ । 8 तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेको हुन्छ । 9 एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो, र म मरें । 10 जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्यु हुनपुग्यो । 11 किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्‍यो । आज्ञाद्वारा यसले मलाई मार्‍यो । 12 त्यसैले व्यवस्था पवित्र छ, अनि आज्ञा पवित्र, धार्मिक र असल छ । 13 त्यसैले के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा पापले ममा मृत्यु उत्पन्‍न गरायो, ताकि आज्ञाद्वारा पाप अत्यधिक पापमय बन्‍न सकोस् । 14 किनकि हामी जान्दछौं, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमुनि बेचिएको छु । 15 किनकि म जे गर्छु, त्यो म वास्तवमा बुझ्दिनँ । किनकि म जे गर्न चाहन्छु, त्यो म गर्दिनँ, अनि म जेलाई घृणा गर्छु, म त्यही गर्छु । 16 तर म जे चाहँदिनँ म त्यही गर्छु भने, व्यवस्था असल हो भनी म व्यवस्थासँग सहमत हुन्छु । 17 तर अब यो गर्ने म होइन, तर ममा रहने पाप हो । 18 किनकि म जान्दछु, कि ममा अर्थात् मेरो शरीरमा कुनै पनि असल थोक बास गर्दैन । किनकि ममा असल गर्ने इच्छा छ, तर म यो गर्न सक्दिनँ । 19 किनकि मैले चाहेको असल थोक म गर्दिनँ, तर म जुन खराब कुरो गर्न चाहन्‍नँ, म त्यही गर्छु । 20 अब म जे गर्न चाहँदिनँ त्यही गर्छु भने, यो गरिरहने म होइन, तर ममा बास गर्ने पाप हो । 21 त्यसैले म यो व्यवस्था भेट्टाउँछुः जब म असल गर्न चाहन्छु, दुष्‍टता मसँगै उपस्थित हुन्छ । 22 किनकि म भित्री मनुष्यत्वसँगै परमेश्‍वरको व्यवस्थामा आनन्द मनाउँछु । 23 तर म मेरा शरीरका अङ्गहरूमा फरक व्यवस्था देख्छु । यसले मेरो मनको नयाँ व्यवस्थाको विरुद्धमा लड्छ । मेरा शरीरका अङ्गहरूमा भएको पापको व्यवस्थाद्वारा यसले मलाई कैदी बनाउँछ । 24 म दुःखी मानिस हुँ! मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा दिनेछ? 25 तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्! त्यसैले म आफैंले मेरो मनले परमेश्‍वरको व्यवस्थाको सेवा गर्छु । तापनि शरीरले म पापको व्यवस्थाको सेवा गर्छु ।