अध्याय ६

1 हामी अब के भनौं त? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त? 2 यस्तो कहिल्यै नहोस् । हामी जो पापको निम्ति मर्‍यौं, हामी अझै यसमा कसरी जिउन सक्छौं? 3 के तिमीहरू जान्दैनौ कि जतिलाई ख्रीष्‍ट येशूमा बप्‍तिस्मा दिइयो, उहाँकै मृत्युमा बप्‍तिस्मा दिइएको थियो? 4 तब हामी बप्‍तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौं । ताकि जसरी ख्रीष्‍ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिंड्न सकौं । 5 किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौं भने, हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौं । 6 हामी जन्दछौं, कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रूसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि अब उप्रान्त हामी पापको दास बन्‍न नपरोस् । 7 जो मरेको छ, पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिएको छ । 8 तर यदि हामी ख्रीष्‍टसँग मरेका छौं भने, हामी विश्‍वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौं । 9 हामी जान्दछौं, कि ख्रीष्‍ट मृतकबाट जीवित पारिनुभएको छ, उहाँ फेरि मर्नुहुन्‍न; अब मृत्युको उहाँमाथि राज्य हुँदैन । 10 किनकि मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकैपल्ट सबैका लागि मर्नुभयो । तथापि जुन जीवन उहाँ जिउनुहुन्छ, उहाँले परमेश्‍वरको निम्ति जिउनुहुन्छ । 11 त्यसै गरी, तिमीहरूले पनि आफैंलाई पापको निम्ति मरेको, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको निम्ति जीवित ठान्‍नुपर्छ । 12 त्यसकारण तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्‍न परोस् । 13 आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका लागि प्रयोग गरिने साधनहरूको रूपमा समर्पण नगर । तर आफैंलाई मृतकबाट जिउँदो पारिएको जस्तै परमेश्‍वरको निम्ति आफैंलाई समर्पण गर अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्‍वरको निम्ति धार्मिकताको लागि प्रयोग गरिने साधनहरूको रूपमा समर्पण गर । 14 पापलाई आफूमाथि राज्य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामुनि छैनौ, तर अनुग्रहमुनि छौ । 15 त्यसो भए के त? के हामी व्यवस्थामुनि छैनौं, तर अनुग्रहमुनि छौं भनेर हामी पाप गरौं त? यस्तो कहिल्यै नहोस् । 16 के तिमीहरू जान्दैनौ, यदि तिमीहरूले आफैंलाई दासहरूको रूपमा समर्पण गर्छौ भने, तिमीहरूले जसको आज्ञा पालन गर्छौ त्यसैका तिमीहरू दास हौ? तिमीहरू या त मृत्युमा पुर्‍याउने पापका दासहरू हौ, या धार्मिकतामा पुर्‍याउने आज्ञाकारिताका दासहरू हौ । 17 तर परमेश्‍वरलाई धन्यवाद होस्! किनकि तिमीहरू पापका दासहरू थियौ, तर तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गरेका छौ । 18 तिमीहरूलाई पापबाट छुटकारा दिइएको छ, र तिमीहरूलाई धार्मिकताको दासहरू बनाइएको छ । 19 म तिमीहरूको शरीरको कमजोरीको कारण म मानिसलेझैं बोल्छु । किनकि जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र दुष्‍टताका निम्ति दासहरूको रूपमा समर्पण गर्‍यौ, त्यसरी नै अब पवित्रीकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको निम्ति दासहरूको रुपमा समर्पण गर । 20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्‍‍त्र थियौ । 21 अहिले तिमीहरू लज्‍जित हुने कुराहरूमा, त्यति बेला ती कुराहरूबाट तिमीहरूले के फल पायौ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो । 22 तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ, अनि परमेश्‍वरको दास बनाइएको छ र तिमीहरूसित पवित्रीकरणको लागि आफ्नो फल छ । त्यसको परिणाम चाहिं अनन्त जीवन हो । 23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको सित्तैंको वरदानचाहिं हाम्रा प्रभु येशू ख्रीष्‍टमा अनन्त जीवन हो ।