अध्याय ५

1 हामी विश्‍वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी परमेश्‍वरसँग शान्‍तिमा छौं । 2 उहाँद्वारा हामीले पनि यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं जसमा हामी खडा छौं, र हामी परमेश्‍वरको महिमाको आशामा रमाउँछौं । 3 यति मात्र होइन, तर हामी हाम्रो कष्‍टमा पनि रमाउँछौं । हामी जान्दछौं, कि कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ । 4 सहनशीलताले चरित्र उत्पन्‍न गराउँछ र चरित्रले आशा उत्पन्‍न गराउँछ । 5 यो आशाले निराश पार्दैन, किनभने हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ । 6 किनकि हामी कमजोर हुँदा नै ख्रीष्‍ट अधर्मीहरूको निम्ति ठिक समयमा मर्नुभयो । 7 किनकि एक जना धर्मी मानिसको लागि मुस्‍किलले कोही मर्नेछ, वा एक जना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्नेछ । 8 तर परमेश्‍वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्‍छ, किनभने हामी पापी हुँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो । 9 अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका हुनाले हामी उहाँको क्रोधबाट बचाइनेछौं । 10 किनकि हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग मिलाप गराइयो, मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौं । 11 यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा पनि रमाउँछौं, जसद्वारा हामीले यो मिलाप प्राप्‍त गरेका छौं । 12 यसकारण एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्‍यो, यसरी पापद्वारा मृत्‍यु प्रवेश गर्‍यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे । 13 किनकि व्‍यवस्‍था नहुँदा पनि संसारमा पाप थियो, तर व्‍यवस्‍था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन । 14 तथापि, मृत्‍युले आदमदेखि मोशासम्‍म, आदमले झैं अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्‍य गर्‍यो जो आउन लागेको थियो, त्यसको नमूना हो । 15 तर सित्तैंको वरदान अपराध जस्‍तो होइन । किनकि एक जनाको अपराधले धेरै जना मरे भने, परमेश्‍वरको अनुग्रहले र एक जना मानिस अर्थात् येशू ख्रीष्‍टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त भयो । 16 किनकि वरदान एक जना मानिसको पापको परिणामजस्तो होइन । एउटा अपराधपछि न्याय आयो र दण्‍ड ल्यायो, तर धेरै अपराधपछि सित्तैंको वरदान आयो र धर्मीकरण ल्यायो । 17 किनकि यदि एक जनाको अपराधले एक जनाद्वारा मृत्‍युले राज्‍य गर्‍यो भने, अनुग्रहको प्रशस्तता र धार्मिकताको सितैंको वरदानको प्राप्‍त गर्नेहरूले एक जना अर्थात् येशू ख्रीष्‍टद्वारा जीवनमा अझ धेरै राज्‍य गर्नेछन् । 18 त्यसैले जसरी एउटा अपराधद्वारा सबै मानिसहरूमा दण्ड आयो, त्यसरी नै एउटा धार्मिकताको कामद्वारा सबै मानिसको निम्ति धर्मीकरण र जीवन आयो । 19 किनकि जसरी एक जना मानिसको अनाज्ञाकारिताद्वारा धेरै जनालाई पापी बनाइयो, त्यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई धर्मी बनाइनेछ । 20 तर अपराध बढोस् भनेर व्‍यवस्‍था आयो । तर जहाँ पाप बढ्‌यो, त्‍यहाँ अनुग्रह झन् बढी बढ्‌यो । 21 ताकि जसरी पापले मृत्युमा राज्‍य गर्‍यो, त्यसरी नै अनुग्रहले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा अनन्‍त जीवनको निम्ति धार्मिकताद्वारा राज्‍य गरोस् ।