अध्याय ४

1 तब हामी के भनौं त? हाम्रा पुर्खा अब्राहामले शरीरअनुसार के पाए त? 2 यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, तिनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्‍वरको सामु त होइन । 3 किनकि धर्मशास्‍‍त्रले के भन्छ? “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो तिनको निम्ति धार्मिकता गनियो ।” 4 अब जसले काम गर्छ, त्यसको ज्यालालाई अनुग्रहको रूपमा गनिँदैन, तर पाउनुपर्ने कुराको रूपमा गनिन्छ । 5 तर त्यसको निम्ति जसले काम गर्दैन, तर त्यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनुहुनेमा विश्‍वास गर्छ, त्यसको विश्‍वासलाई धार्मिकताको रूपमा गनिन्‍छ । 6 दाऊदले पनि कामविना नै परमेश्‍वरले धार्मिक गन्‍नुभएको मानिसलाई आशिष्‌‌ घोषणा गर्छन् । 7 तिनी भन्छन्, “ती धन्य हुन्, जसका अधर्महरू क्षमा भएका छन्, र जसका पापहरू ढाकिएका छन् । 8 त्यो मानिस धन्यको हो, जसको विरुद्धमा परमेश्‍वरले पापको लेखा राख्‍नुहुनेछैन ।” 9 तब के यो आशिष्‌‌ केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो, वा ती खतना नभएकाहरूका लागि पनि भनिएको हो? किनकि हामी भन्छौं, “अब्राहामको निम्ति विश्‍वास धार्मिकताको रूपमा गनियो ।” 10 त्यसो भए यो कसरी गनियो त? यो तिनको खतना हुनभन्दा अघि वा पछि भएको थियो? यो पछि भएको थिएन, तर अघि! 11 अब्राहामले धार्मिकताको छाप स्वरुप खतनाको चिन्ह पाए जुन तिनी बेखतना हुँदा नै विश्‍वासद्वारा पाइसकेका थिए ।विश्‍वास गरेका तर खतना नगरेका सबैका पिता तिनलाई बनाउने यसको उद्देश्य थियो ताकि त्यो तिनीहरूको निम्ति धार्मिकता गनियोस् । 12 तिनी खतना भएकाहरूका पनि पिता हुन् जसका खतना भएको मात्र होइन तर जो विश्‍वासका कदमहरूमा पनि हिंड्छन् जुन कदमहरूमा हाम्रा पिता अब्राहाम खतना हुन भन्दा अघि हिंडेका थिए । 13 किनकि अब्राहाम संसारको उत्तराधिकार हुनेछ भन्‍ने तिनी र तिनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा व्यवस्थाद्वारा आएको होइन तर विश्‍वासको धार्मिकताद्वारा आएको हो । 14 किनकि यदि व्यवस्थाअनुसार जिउनेहरू उत्तराधिकारीहरू हुन् भने, विश्‍वासलाई त रित्तो बनाइन्छ, र प्रतिज्ञालाई रद्द गरिन्छ । 15 किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन, त्यहाँ कुनै अपराध हुँदैन । 16 यसैकारण यो विश्‍वासद्वारा हुन्छ, ताकि प्रतिज्ञा अनुग्रहमा भर परोस् र अब्राहामका सारा सन्तानहरूका निम्ति निश्‍चित होस्—व्यवस्थामुनि भएकाहरूका लागि मात्र होइन, तर अब्राहामको विश्‍वासमा हुनेहरूका निम्ति पनि हो । तिनी हामी सबैका पिता हुन्, 17 जस्तो लेखिएको छ, “मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु ।” अब्राहाम आफूले भरोसा गरेका परमेश्‍वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई बोलाई अस्तित्वमा ल्याउनुहुन्छ । 18 “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनी तिनलाई भनिएअनुसार तिनी धेरै जातिहरूका पिता हुनेछन् भनी तिनले निराशामा आशा राखी विश्‍वास गरे । 19 तिनी विश्‍वासमा कमजोर नभईकन तिनले यो मानिलिए कि, तिनको शरीर मरेतुल्य छ (किनकि तिनी करिब एक सय वर्ष पुगेका थिए), र साराको कोख बाँझो छ । 20 तर परमेश्‍वरको प्रतिज्ञाका कारण, अब्राहाम अविश्‍वासमा हिचकिचाएनन् । बरु, तिनी विश्‍वासमा बलियो भए र परमेश्‍वरको प्रशंसा गरे । 21 परमेश्‍वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँ पूरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी तिनी पूर्ण रूपमा विश्‍वस्त थिए । 22 त्यसकारण यो पनि तिनको निम्ति धार्मिकता गनियो । 23 तर "तिनको निम्ति गनियो" भन्‍ने यो वचन तिनको निम्ति मात्र लेखिएको होइन । 24 यी हाम्रो निम्ति पनि लेखिएका थिए, र यो हाम्रो निम्ति गनिनेछ, हामी जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट जीवित पार्नुहुनेमाथि विश्‍वास गर्छौं । 25 यो उहाँ नै हुनुहुन्छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो, र हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो ।