अध्याय ३

1 त्यसो भए यहूदीलाई के फाइदा छ त? अनि खतनाको के फाइदा छ त? 2 यो हरतरहले महान् छ । सर्वप्रथम त परमेश्‍वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको थियो । 3 किनकि केही यहूदीहरू विनाविश्‍वासका भए, के भयो त? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्यतालाई हटाउनेछ र? 4 यस्तो कहिल्यै नहोस् । यसको सट्टा, हरेक मानिस झूटा ठहरिए तापनि परमेश्‍वर सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि तपाईं न्यायमा आउनुहुँदा तपाईं विजय हुनभएको होस् ।” 5 तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्‍न सक्छौ र? परमेश्‍वरले उहाँको क्रोध हामीमाथि ल्याउनुहुँदा,उहाँ अधर्मी हुनुहुन्छ भनेर के हामीले भन्‍न सक्‍छौं र? (म मानवीय तर्कअनुसार बोलिरहेको छु ।) 6 यस्तो कहिल्यै नहोस्! किनकि त्यसो भए त परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ? 7 तर यदि मेरो झूटद्वारा परमेश्‍वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने, मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त? 8 किन नभनौं, जसरी हामीलाई झुटो रूपमा आरोप लगाइन्छ, र केहीले पुष्‍टि गर्छन्, कि हामी भन्छौं, “दुष्‍ट काम गरौं, ताकि असल आओस् ।” तिनीहरूमाथिको न्याय उचित छ । 9 त्यसो भए के त? के हामी आफैंले आफ्‍नो सफाइ दिंदैछौं? अवश्य छैनौं! किनकि यहूदीहरू र ग्रीकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौं । 10 यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन । 11 बुझ्‍ने कोही पनि छैन । परमेश्‍वरलाई खोज्‍ने कोही पनि छैन । 12 तिनीहरू सबै तर्केर गएका छन् । तिनीहरू सबै जना एकैसाथ अनुपयोगी भएका छन् । असल गर्ने कोही पनि छैन, अहँ, एक जना पनि छैन ।" 13 "तिनीहरूको घाँटी खुल्ला चिहान हो । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमुनि सर्पको विष छ ।" 14 "तिनीहरूका मुखहरू श्राप र तिक्‍तताले भरिएका छन् ।" 15 तिनीहरूका खुट्टाहरू रगत बगाउनमा द्रूत छन् । 16 विनाश र कष्‍ट तिनीहरूका मार्गहरूमा छन् । 17 यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन् । 18 तिनीहरूका आँखाको सामुन्‍ने परमेश्‍वरको डर छैन । 19 अब हामी जान्दछौं, कि व्यवस्थाले जे भन्छ, त्यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्छ । यो यसको लागि हो कि, हरेक मुख बन्द होस् र सारा संसार परमेश्‍वरप्रति जवाफदेही होस् । 20 उहाँको द‍ृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ । 21 तर अब व्यवस्थाविना नै परमेश्‍वरको धर्मीकता प्रकट गरिएको छ । व्यवस्था र अगमवक्‍ताहरूद्वारा यसको साक्षी दिइएको छ, 22 अर्थात् यो विश्‍वास गर्ने सबैका निम्ति येशू ख्रीष्‍टमा विश्‍वासद्वारा आउने परमेश्‍वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन । 23 किनकि सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमासम्म पुग्‍न चुकेका छन्, 24 र ख्रीष्‍टमा भएको छुटकाराद्वारा तिनीहरू उहाँको अनुग्रहबाट सित्तैंमा धर्मी ठहराइन्छन् । 25 किनकि परमेश्‍वरले येशू ख्रीष्‍टको रगतमा विश्‍वासद्वारा प्रायश्‍चित्तको रूपमा उहाँलाई अर्पण गर्नुभयो । उहाँको धैर्यमा विगतका पापहरू बेवास्ता गर्नुभएकोले उहाँले ख्रीष्‍टलाई उहाँको न्यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो । 26 यी सबै कुरा वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए । उहाँ आफैंलाई न्यायी प्रमाणित गर्न सक्‍नुभएको होस् र उहाँले येशूमाथिको विश्‍वासले जो कोहीलाई धर्मी ठहराउनुहुन्छ भन्‍ने देखाउन यसो भयो । 27 तब घमण्ड कहाँ छ? यो त हटाइएको छ । केको आधारमा? कामहरूको? होइन, तर विश्‍वासको आधारमा हो । 28 तब हामी निचोडमा आउँछौं, कि कुनै पनि व्यक्‍ति व्यवस्थाका कामहरूविना नै विश्‍वासद्वारा धर्मी ठहरिन्छ । 29 अथवा के परमेश्‍वर यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका परमेश्‍वर हुनुहुन्‍न र? हो, गैरयहूदीहरूका पनि हुनुहुन्छ । 30 यदि वास्तवमै परमेश्‍वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्‍वासद्वारा र खतना नभएकाहरूलाई विश्‍वासद्वारा नै धर्मी ठहराउनुहुनेछ । 31 के हामीले विश्‍वासद्वारा व्यवस्थालाई रद्द गर्छौं त? यस्तो कहिल्यै नहोस्! बरु, हामीले व्यवस्थालाई कायम पो राख्‍छौं ।