अध्याय २

1 यसकारण तिमीहरूलाई कुनै बहाना छैन, ए मानिस, तिमी जसले न्याय गर्छौ, तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैं पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ । 2 तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौं । 3 तर यसलाई विचार गर, ए मानिस, तिमी जसले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ यद्यपि तिमी आफैंले पनि त्यही गर्छौ । के तिमी परमेश्‍वरको न्यायबाट उम्कनेछौ र? 4 अथवा के तिमी उहाँको भलाइको प्रशस्तता, उहाँको दण्डको ढिलाइ, र उहाँको धैर्यलाई तुच्छ ठन्छौ? के उहाँको भलाइ तिमीलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमी जान्दैनौ? 5 तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनमा आफ्नो निम्ति क्रोध थुपारिरहेका छौ । 6 उहाँले हरेक मानिसलाई त्यसका कर्महरूको नापअनुसार दिनुहुनेछः 7 अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्‍जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ । 8 तर आफ्‍नो लागि मात्रै खोज्‍ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकता पालना गर्नेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ । 9 परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि, अनि ग्रीकहरूमाथि पनि । 10 तर असल काम गर्ने हरेकमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रीकहरूमाथि पनि । 11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न । 12 किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट पनि हुनेछन्, र जतिले व्यवस्थाको आधारमा पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् । 13 किनकि परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्‍नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् । 14 किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन्, तिनीहरू आफ्ना निम्ति आफैं नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन । 15 यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने तिनीहरूले देखाउँछन् । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ, र तिनीहरूका आफ्नै विचारले कि तिनीहरूआफैंलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ 16 अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ । मेरो सुसमाचारअनुसार, येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन त्यो हुनेछ । 17 तर यदि तिमी आफैंलाई यहूदी भन्छौ र व्यवस्थामाथि भर परेर , परमेश्‍वरमा गर्व गर्छौ, 18 र उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर असल कुराहरूको मन्जूर गर्दछौ; 19 र यदि तिमी विश्‍वस्‍त छौ कि तिमी आफैं अन्धाहरूका अगुवा हौ, अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, 20 मूर्खलाई सुधार गर्ने हौ, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ भने, यसले तिमीले जिउने तरिकामा कसरी असर पार्छ? 21 तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैंलाई चाहिं सिकाउँदैनौ? तिमी जसले चोरीको विरुद्धमा प्रचार गर्छौ, के तिमी नै चोरी गर्छौ? 22 तिमी जसले कसैले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ? 23 तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्व गर्छौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ? 24 किनकि यस्तो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको छ ।” 25 किनकि यदि तिमीले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीलाई लाभ दिन्‍छ, तर यदि तिमी व्‍यवस्‍था भङ्‌ग गर्छौ भने, तिम्रो खतना बेखतना हुन्‍छ । 26 यदि बेखतने व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्‍यसको बेखतना खतना नै ठानिनेछैन र? 27 र यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पूरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित व्‍यवस्‍था र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो । 28 किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो । 29 तर त्यही यहूदी हो जो भित्री रूपमा यहूदी हो, र अक्षरमा होइन तर आत्‍माद्वारा हृदयको खतना नै खतना हो । यस्‍तो व्यक्‍तिको प्रशंसा मानिसबाट होइन, तर परमेश्‍वरबाट आउँछ ।