अध्याय १५

1 अब हामी जो बलिया छौं, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैंलाई मात्र खुसी पार्नुहुँदैन । 2 जे असल छ त्यसको निम्ति आफ्नो छिमेकीलाई निर्माण गर्नको लागि, हामी प्रत्येकले त्यसलाई खुसी पारौं । 3 किनकि ख्रीष्‍टले पनि आफैंलाई खुसी पार्नुभएन । बरु, यो लेखिएको जस्तै थियो, “तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि पर्‍यो ।” 4 किनकि पहिले जे लेखिएका थिए, ती हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धैर्य र धर्मशास्‍‍त्रको उत्साहद्वारा हामीलाई आशा होस् । 5 अब धैर्य र उत्साहका परमेश्‍वरले ख्रीष्‍ट येशूअनुसार तिमीहरू एक-अर्कासँग एकै मनको हुन दिऊन् । 6 उहाँले यो गर्नुभएको होस्, ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टको पिताको प्रशंसा गर्न सक । 7 त्यसकारण परमेश्‍वरको प्रशंसाको निम्ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभए झैं तिमीहरूले पनि एक-अर्कालाई ग्रहण गर । 8 किनकि म भन्छु, कि परमेश्‍वरको सत्यताको तर्फबाट ख्रीष्‍टलाई खतनाको एक सेवक बनाइएको छ, ताकि पुर्खाहरूलाई दिइएका प्रतिज्ञाहरूलाई पक्‍का गरियोस्, 9 अनि गैरयहूदीहरूले परमेश्‍वरको दयाको निम्ति उहाँको महिमा गर्न सकून् । यस्तो लेखिएको छ, “यसकारण म गैरयहूदीहरूका माझमा तपाईंको प्रशंसा गर्नेछु, अनि तपाईंको नाउँको स्तुति गाउनेछु ।” 10 यसले फेरि भन्छ, “हे गैरयहूदीहरू हो, उहाँका मानिसहरूसँग आनन्द मनाओ ।” 11 अनि फेरि “हे सबै गैरयहूदीहरू हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून् ।” 12 यशैया फेरि भन्छन्, “यिशैको जराबाट एक जना आउनुहुनेछ, जो गैरयहूदीहरूमाथि शासन गर्न उदाउनुहुन्छ; उहाँमा गैरयहूदीहरूले आशा गर्नेछन् । 13 अब आशाका परमेश्‍वरले विश्‍वासमा तिमीहरूलाई सारा आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्‍तिद्वारा तिमीहरूमा आशा होस् । 14 मेरा भाइहरू हो, म आफैं पनि तिमीहरूको बारेमा विश्‍वस्त छु । म विश्‍वस्त छु, कि तिमीहरू आफैं पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्‍वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ । 15 तर मलाई परमेश्‍वरद्वारा दिइएको अनुग्रहको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु । 16 यो वरदानचाहिं पूजाहारीको रूपमा परमेश्‍वरको सुसमाचार दिन गैरयहूदीहरूकहाँ पठाइनलाई म ख्रीष्‍ट येशूको सेवक बन्‍नुपर्छ भन्‍ने थियो, ताकि पवित्र आत्माद्वारा चोखो भएर गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस् । 17 मसँग ख्रीष्‍ट येशूमा परमेश्‍वरको निम्ति मेरो सेवाको गर्व गर्ने कारण छ । 18 किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्‍टले मद्वारा पूरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा, 19 चिन्हहरू र आश्‍चर्यकर्महरूको शक्‍तिद्वारा अनि पवित्र आत्माको शक्‍तिद्वारा गरिएका हुन् । मैले यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो । 20 यसरी सुसमाचार घोषणा गर्ने मेरो इच्छा भएको छ, तर ख्रीष्‍टको नाउँ चिनिएका ठाउँहरूमा होइन, ताकि अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरूँ । 21 जस्तो लेखिएको छ, “जसकहाँ उहाँको समाचार आएन तिनीहरूले उहाँलाई देख्‍नेछन्, अनि जसले सुनेका छैनन्, तिनीहरूले बुझ्‍नेछन् ।” 22 यसकारण पनि तिमीहरूकहाँ आउन म धेरै पल्ट रोकिएको थिएँ । 23 तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन, र धेरै वर्षदेखि म तिमीहरूकहाँ आउने चाह गरिरहेको छु । 24 म स्पेन जाँदै गर्दा, म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग आनन्द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा सहायता गरिने आशा गर्छु । 25 तर अहिले म परमेश्‍वरका पवित्र जनहरूको सेवा गर्न यरूशलेमतिर गइरहेको छु । 26 किनकि यरूशलेममा हुने परमेश्‍वरका पवित्र जनहरूमध्ये गरिबहरूलाई केही योगदान दिने माकेडोनिया र अखैयाको उत्तम आनन्द थियो । 27 हो, यो तिनीहरूको उत्तम आनन्द थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् । 28 यसकारण जब मैले यो काम पूरा गरेको हुन्छु र सङ्कलन भएका सबै तिनीहरूले पाएको निश्‍चित गर्छु, म तिमीहरूकहाँ भएर स्पेन जानेछु । 29 म जान्दछु, कि जब म तिमीहरूकहाँ आउँछु, म ख्रीष्‍टको आशिष्‌को पूर्णतामा‌ आउनेछु । 30 भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा बिन्ती गर्छु, कि मेरो निम्ति तिमीहरूको परमेश्‍वरसितको प्रार्थनामा तिमीहरू मसँग एकसाथ प्रयत्‍न गर । 31 यो प्रार्थना गर, कि म यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा परमेश्‍वरका पवित्र जनहरूलाई ग्रहणयोग्य हुन सकोस् । 32 प्रार्थना गर, कि म परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ । 33 शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून् । आमेन!