अध्याय १४

1 बहसहरूको बारेमा न्याय नगरीकनै विश्‍वासमा कमजोर हुनेलाई ग्रहण गर । 2 एक जनासँग कुनै पनि थोक खाने विश्‍वास हुन्छ, अर्को जो कमजोर छ, त्यसले सागसब्जी मात्र खान्छ । 3 सबै थोक खानेले सबै थोक नखानेलाई तुच्छ नठानोस्; अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि त्यसलाई परमेश्‍वरले ग्रहण गर्नुभएको छ । 4 अरूको सेवकको न्याय गर्ने तिमी को हौ? त्यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ । 5 एक जनाले कुनै दिनलाई अर्कोभन्दा मूल्यको मान्छ । अर्कोले हरेक दिनलाई समान रूपमा लिन्छ । प्रत्‍येक व्यक्ति आ-आफ्नै मनमा विश्‍वस्त होस् । 6 जसले कुनै दिन पालन गर्छ, त्यसले प्रभुकै निम्ति पालन गर्छ, र जसले खान्छ, त्यसले प्रभुकै निम्ति खान्छ, किनकि त्यसले परमेश्‍वरलाई धन्यवाद दिन्छ । जसले खाँदैन, त्यसले प्रभुकै निम्ति खानबाट आफूलाई रोक्‍छ; त्यसले पनि परमेश्‍वरलाई धन्यवाद दिन्छ । 7 किनकि हामी कोही पनि आफ्नै निम्ति जिउँदैनौं, र कोही पनि आफ्नै निम्ति मर्दैनौं । 8 किनकि यदि हामी जिउँछौं भने, प्रभुकै निम्ति जिउँछौं, र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्यसैले हामी चाहे जिऔं वा मरौं, हामी प्रभुकै हौं । 9 किनकि यही उद्देश्यको निम्ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्‍नुभएको होस् । 10 तर तिमी किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको सामु खडा हुनेछौं । 11 किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्‍नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्‍नेछ, र हरेक जिब्रोले परमेश्‍वरलाई स्वीकार गर्नेछ ।” 12 यसैले हामी प्रत्येकले परमेश्‍वरलाई आफ्नो लेखा दिनेछौ । 13 यसकारण हामी एक-अर्काको न्याय नगरौं, बरु यो अठोट गरौं, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौं । 14 म यो जान्दछु र म प्रभु येशूमा विश्‍वस्त गर्छु, कि कुनै पनि थोक आफैं अशुद्ध हुँदैन । जसले कुनै थोकलाई अशुद्ध भनी ठान्छ, त्यसको निम्ति मात्र यो अशुद्ध हुन्छ । 15 यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने, तिमी अझ प्रेममा चलिरहेका छैनौ । जसको निम्ति ख्रीष्‍ट मर्नुभयो त्यसलाई तिम्रो खानाले नष्‍ट नपार । 16 त्यसैले तिमीले असल ठानेको कुरालाई खराब भन्‍न नदेऊ । 17 किनकि परमेश्‍वरको राज्य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दबारे हो । 18 किनकि यसरी ख्रीष्‍टको सेवा गर्ने व्यक्‍ति परमेश्‍वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ । 19 यसैले शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पछि लागौं । 20 खानाको कारणले परमेश्‍वरको कामलाई नष्‍ट नगर । सबै थोक शुद्ध छन्, तर अरूलाई ठेस पुर्‍याउने कुनै पनि कुरा खानु, त्यस मानिसको निम्ति यो गलत हो । 21 मासु नखानु, मद्यपान नगर्नु, र आफ्नो भाइलाई चोट पुर्‍याउने कुनै पनि कुरा नगर्नु असल हो । 22 तिमीसँग भएको विश्‍वास, आफू र परमेश्‍वरको बीचमा नै राख । आफूले मञ्‍जुर गरेको कुराले आफैंलाई दोषी नठहराउने मानिस धन्यको हो । 23 जसले शङ्का गरेर खान्छ,त्यो दोषी ठहरिन्छ किनभने यो विश्‍वासबाट आएको होइन । अनि जे विश्‍वासबाट आएको होइन, त्यो पाप हो ।