अध्याय १६

1 किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु, 2 ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर्न सक । यो परमेश्‍वरका पवित्र जनहरूलाई सुहाउँदो प्रकारले गर, अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर, किनकि तिनी धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् । 3 ख्रीष्‍ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर, 4 जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारे । म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन, तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन् । 5 तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ । मेरा प्रिय इपेनितसलाई अभिवादन भनिदेओ, जो ख्रीष्‍टमा एसियाको पहिलो फल हुन् । 6 मरियमलाई अभिवादन भनिदेओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी छिन् । 7 एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी कैदीहरूलाई अभिवादन भनिदेओ । तिनीहरू प्रेरितहरूमध्ये विशिष्‍ट छन्, र तिनीहरू मभन्दा पहिले नै ख्रीष्‍टमा थिए । 8 प्रभुमा मेरा प्रिय एम्प्लीआतसलाई मेरो अभिवादन भनिदेओ । 9 उर्बानस, ख्रीष्‍टमा हाम्रा सहकर्मी र मेरा प्रिय स्ताखुसलाई अभिवादन भनिदेओ । 10 ख्रीष्‍टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन भनिदेओ । अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन भनिदेओ । 11 मेरा आफन्त हेरोदियनलाई अभिवादन भनिदेओ । प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेओ । 12 प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन देओ । प्रिय परसीसलाई अभिवादन भनिदेओ, जसले प्रभुमा धेरै काम गरेका छन् । 13 प्रभुमा चुनिएका रूफस र तिनकी र मेरी आमालाई अभिवादन भनिदेओ । 14 असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र तिनीहरूसित भएका भाइहरूलाई अभिवादन भनिदेओ । 15 फिलोलोगस र युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास र तिनीहरूसित भएका सबै परमेश्‍वरका पवित्र जनहरूलाई अभिवादन भनिदेओ । 16 एक आपसमा पवित्र चुम्बनले अभिवादन गर । ख्रीष्‍टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन भन्छन् । 17 अब भाइहरू हो, जसले विभाजन र बाधा ल्याइरहेका छन्, तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस । 18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूको आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूले आफ्‍ना चिप्ला र चाप्लुसी कुराले निर्दोषहरूको हृदयलाई छल्छन् । 19 किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ । त्यसकारण, तिमीहरूमा म आनन्द मनाउँछु, तर तिमीहरू जुन कुरो असल छ त्यसमा बुद्धिमानी होओ, र जुन कुरा खराब छ त्यसमा निर्दोष होओ भन्‍ने म चाहन्छु । 20 शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतालामुनि कुच्‍च्याउनुहुनेछ । हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसित रहोस् । 21 मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन भन्छन् । 22 यो पत्र लेख्‍ने म तर्तियसले तिमीहरूलाई प्रभुमा अभिवादन गर्छु । 23 गायस जसले मलाई र सम्पूर्ण मण्डलीलाई तिनको घरमा राखेका छन्, तिनले तिमीहरूलाई अभिवादन भन्छन् । सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्‍वार्टसले तिमीहरूलाई अभिवादन भन्छन् । 24 1 25 अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्‍टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्‍त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्‍न सक्षम हुनुहुन्छ, 26 तर अब सबै जातिहरूका बीचमा विश्‍वासको आज्ञाकारिता ल्याउन, अनन्त परमेश्‍वरको आज्ञाअनुसार अगमवाणीका लेखहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ । 27 एक मात्र बुद्धिमान्‌ परमेश्‍वरलाई, येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा होस् । आमेन!

1उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा यो पद छैन (रोमी १६∶२० हेर्नुहोस्) पद २४ हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् । आमेन !