अध्याय २५

1 तब स्‍वर्गको राज्‍य ती दस कन्‍याजस्‍तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्‌न गए । 2 तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए । 3 किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् । 4 तर बुद्धिमती कन्याहरूले बत्तीहरूसँगै आ-आफ्ना भाँडाहरूमा तेल पनि लगे । 5 दुलहा आउन ढिला गर्दा तिनीहरू सबै निन्‍द्रामा परे र सुते । 6 तर मध्‍यरातमा एउटा आवाज आयो, ‘हेर दुलहा! बाहिर जाऊ अनि उनलाई भेट ।’ 7 त्‍यसपछि ती सबै कन्‍या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्‍क पारे । 8 निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देओ किनभने हाम्रा बत्तीहरू निभ्‍न लागेका छन् ।’ 9 तर बुद्धिमती कन्‍याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्‍त पुग्‍ने तेल नभएकोले, तेल बेच्‍नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’ 10 जब तिनीहरू तेल किन्‍न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्‍द गरियो । 11 केही समयपछि अरू कन्‍याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस्‌ ।’ 12 तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ ।’ 13 त्‍यसकारण जागा रहो किनकि त्‍यो दिन वा घडी तिमीहरूलाई थाहा छैन । 14 किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो । तिनले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए । 15 तिनले तिनीहरूमध्ये एकजनालाई पाँच सिक्‍का, अर्कोलाई दुई सिक्‍का र फेरि अर्कोलाई एक सिक्‍का दिए । प्रत्येकले आफ्ना क्षमताअनुसार रकम पाए र ती मानिस आफ्नो यात्रामा हिंडे । 16 पाँच सिक्‍का पाउने तुरुन्तै गयो र त्‍यसले त्यसलाई लगानी गर्‍यो, र त्‍यसबाट अर्को पाँच सिक्‍का कमायो । 17 त्यसै गरी जसले दुई सिक्‍का पाएको थियो, त्यसले पनि त्‍यसबाट अर्को दुई सिक्‍का कमायो । 18 तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो र त्यसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो । 19 अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए । 20 पाँच सिक्‍का पाएको नोकर आयो र त्यसले अर्को पाँच सिक्‍का ल्यायो । त्यसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँच सिक्‍का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्को पाँच सिक्‍का कमाएको छु ।’ 21 त्यसको मालिकले त्यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’ 22 दुईवटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुई सिक्‍का दिनुभएको थियो । हेर्नुहोस्‌, मैले अर्को दुई सिक्‍का कमाएको छु ।’ 23 त्यसको मालिकले त्यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’ 24 त्यसपछि एउटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मालिक, मलाई थाहा छ कि तपाईं कडा स्‍वभावको मानिस हुनुहुन्‍छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ । 25 मलाई डर लाग्यो, त्यसैले म गएँ र तपाईंको सिक्‍कालाई जमिनमुनि लुकाइराखें । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’ 26 तर त्यसको मालिकले जवाफ दिए र त्यसलाई भने, ‘ए दुष्‍ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो । 27 त्यसकारण तैंले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्‍याजसहित पाउने थिएँ । 28 त्‍यसकारण त्योसँग भएको एक सिक्‍का लेओ र जुन नोकरसँग दस सिक्‍का छ त्‍यसलाई देओ । 29 किनकि जससँग छ त्‍यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्‍यससँग भएको पनि त्यसबाट खोसिनेछ । 30 त्यो बेकम्मा नोकरलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’ 31 जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्‍वर्गदूतहरू आउनेछन्, तब उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् । 32 उनको सामुन्‍ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्‍यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् । 33 उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्‍नेछन् । 34 त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू, जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर । 35 किनकि म भोकाएको थिएँ अनि तिमीहरूले मलाई खान दियौ; म तिर्खाएको थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ; 36 म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्‍ता गर्‍यौ; म झ्‍यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’ 37 त्‍यसपछि धर्मी जनहरूले जवाफ दिई भन्‍नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्‍यौं र तपाईंलाई खुवायौं? वा तिर्खाउनुभएको देख्यौं र तपाईंलाई पिउन दियौं? 38 र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्‍यौं र तपाईंलाई भित्र ल्यायौं? अथवा नाङ्गो देख्यौं र पहिराइदियौं? 39 र हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानामा कहिले देख्यौं र हामी तपाईंकहाँ आयौं?’ 40 तब राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सबैभन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्यो मेरो निम्ति नै गर्‍यौ ।’ 41 त्‍यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई पनि भन्‍नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको हो, 42 किनभने म भोकाएको थिएँ तर तिमीहरूले मलाई खान दिएनौ, म तिर्खाएको थिएँ तर तिमीहरूले मलाई पिउन दिएनौ, 43 म परदेशी थिएँ तर तिमीहरूले मलाई भित्र लगेनौ, नाङ्गो थिएँ तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’ 44 त्‍यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्‍नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्‍यौं र हामीले तपाईंको सेवा गरेनौं?’ 45 अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सबैभन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’ 46 यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिं अनन्‍त जीवनमा प्रवेश गर्नेछन् ।”