अध्याय २६

1 येशूले यी सबै वचन भनिसक्‍नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, 2 “तिमीहरूलाई थाहा छ, कि दुई दिनपछि निस्तार-चाड आउँदैछ, र मानिसका पुत्र क्रुसमा टाँगिनको निम्ति सुम्पिनेछन् ।” 3 त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पूजाहारीको दरबारमा मुख्य पूजाहारीहरू तथा मानिसहरूका धर्म‍-गुरुहरू एकसाथ भेला भए । 4 तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्‍‍त्र गरे । 5 किनकि तिनीहरूले यसरी भनिरहेका थिए, “चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्‍चियोस् ।” 6 अनि जब येशू बेथानियामा सिमोन भन्‍ने एक जना कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो, 7 उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्‍‍त्री उहाँकहाँ आई, र त्यसले त्यो उहाँको शिरमा खन्याइदिई । 8 तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो? 9 यसलाई ठुलो रकममा बेच्‍न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो ।” 10 तर येशूले यो जानेर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यी स्‍‍त्रीलाई किन दुःख दिइरहेका छौ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छिन् । 11 गरिबहरू त तिमीहरूसँग सधैं हुनेछन्, तर म तिमीहरूसँग सधैं रहनेछैनँ । 12 किनकि जब यी स्‍‍त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन् । 13 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसुकै ठाउँमा प्रचार गरिंदा, यी स्‍‍त्रीले जे गरेकी छिन्, यिनको सम्झनामा यो चर्चा गरिनेछ ।” 14 त्यसपछि बाह्र जनामध्ये एक जना जसको नाउँ यहूदा इस्करियोत थियो, त्यो मुख्य पूजाहारीहरूकहाँ गयो, 15 र भन्यो, “उहाँलाई तपाईंहरूका हातमा पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले त्यसको निम्ति तीसवटा चाँदीका सिक्‍का छुट्‌ट्याइदिए । 16 त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई त्यसले मौका खोजिरह्‍यो । 17 अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ?” 18 उहाँले भन्‍नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ र त्यसलाई भन, ‘गुरुज्यू भन्‍नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ । म तिम्रो घरमा आफ्ना चेलाहरूसँगै निस्तार-चाड मनाउनेछु ।'" 19 येशूले जस्तो निर्देशन दिनुभएको थियो, चेलाहरूले त्यस्तै गरे, र तिनीहरूले निस्तार-चाडको निम्ति तयारी गरे । 20 जब साँझ पर्‍यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्‍नुभयो । 21 जब उहाँहरू खाइरहनुभएको थियो, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।” 22 तिनीहरू सबै अति दुःखित भए, र हरेकले उहाँलाई यसरी सोध्‍न थाले, “प्रभु, म त निश्‍चय नै होइन होला?” 23 उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, त्यसले नै मलाई धोका दिनेछ । 24 मानिसका पुत्र त्यहीअनुसार नै जानेछन् जसरी उनको बारेमा लेखिएको छ । तर धिक्‍कार त्यस मानिसलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्छ! त्यो मानिस त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो ।” 25 यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, त्यसले भन्यो, “रब्बी, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्‍नुभयो, “तिमी आफैंले त्यो भनेका छौ ।” 26 उहाँहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई आशिष् दिनुभयो र त्यो भाँच्‍नुभयो । उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।” 27 उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “तिमीहरू सबैले यसलाई पिओ । 28 किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ । 29 तर म तिमीहरूलाई भन्दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैनँ, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिनँ ।” 30 उहाँहरू सबैले भजन गाइसक्‍नुभएपछि उहाँहरू जैतून डाँडातर्फ लाग्‍नुभयो । 31 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र बथानका सबै भेडा तितरबितर हुनेछन् ।’ 32 तर म उठाइएपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।” 33 तर पत्रुसले उहाँलाई भने, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ ।” 34 येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आज राती भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ ।” 35 पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” अरू सबै चेलाले पनि त्यसै भने । 36 त्यसपछि येशू तिनीहरूसँगै गेतसमनी भन्‍ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्दा तिमीहरूचाहिं यहीं बस ।” 37 उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो । 38 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो आत्मा अत्याधिक शोकले भरिएर मरेतुल्य भएको छ । यहीं बस र मसँगै जागा रहो ।” 39 उहाँ अलि पर जानुभयो, घोप्‍टो पर्नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्‍नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस् । तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस् ।” 40 उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ? 41 जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर । आत्‍मा त तयार छ, तर शरीर भने कमजोर छ ।” 42 उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्‍नुभयो, “हे मेरा पिता, यदि मैले नपिइकन यो हुँदैन भने, तपाईंकै इच्छा पूरा होस् ।” 43 उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए । 44 त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो । उहाँले उही वचन दोहोर्‍याउँदै तेस्रो पल्ट प्रार्थना गर्नुभयो । 45 त्यसपछि येशू चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ? हेर, त्यो घडी आइसकेको छ, र मानिसका पुत्रलाई पापीहरूको हातमा पक्राइँदैछ । 46 उठ, अब हामी जाऔं । हेर, मलाई पक्राइदिने नजिकै छ ।” 47 जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए । मुख्य पूजाहारीहरू र मानिसहरूका धर्म‍-गुरुहरूको एउटा ठुलो भीड त्यससँगै आयो । तिनीहरू तरवारहरू र लाठीहरू बोकेर आए । 48 अब जुन मानिसले येशूलाई पक्राइदिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन् । उनलाई नै पक्रनू ।” 49 तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन!” अनि त्यसले उहाँलाई चुम्बन गर्‍यो । 50 येशूले त्यसलाई भन्‍नुभयो, “मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल ।” त्यसपछि तिनीहरू आए, र येशूमाथि हात हाले, र उहाँलाई पक्रे । 51 हेर, येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो, आफ्नो तरवार थुत्यो, र प्रधान पूजाहारीको एउटा नोकरमाथि प्रहार गर्‍यो, अनि त्यसको कान काटिदियो । 52 त्यसपछि येशूले तिनलाई भन्‍नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्‍ट पारिनेछन् । 53 तिमी के विचार गर्छौ, के मैले मेरा पितालाई पुकार्न सक्दिनँ र, के उहाँले मेरो निम्ति बाह्र पल्टनभन्दा बढी स्वर्गदूतहरू पठाइदिनुहुन्‍न र? 54 तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍‍त्रले भनेको कसरी पूरा हुने थियो त?” 55 त्यति बेला येशूले भीडलाई भन्‍नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैं मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसें, अनि तिमीहरूले मलाई पक्रेनौ । 56 तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पूरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे । 57 जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे, जहाँ शास्‍‍त्रीहरू र धर्म‍-गुरुहरू एकसाथ भेला भएका थिए । 58 तर पत्रुसले प्रधान पूजाहारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे । तिनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे । 59 अब मुख्य पूजाहारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झूटो गवाही खोजिरहेका थिए । 60 थुप्रै झूटा गवाह अगि आए तापनि तिनीहरूले कुनै प्रमाण भेट्टाएनन् । तर पछि दुई जना अगि आए, 61 र भने, “यो मानिसले, ‘मैले परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा पुनर्निर्माण गर्न सक्छु’ भन्यो ।” 62 प्रधान पूजाहारी उभिए र उहाँलाई भने, “के तँसँग कुनै उत्तर छैन? यी मानिसहरूले तेरो विरुद्धमा दिइरहेको गवाही के हो?” 63 तर येशू चूप रहनुभयो । प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तँलाई आज्ञा गर्छु, हामीलाई बता कि के तँ ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र होस्?” 64 येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैंले नै भन्‍नुभएको छ । तर म तपाईंहरूलाई भन्दछु, कि अबदेखि उसो तपाईंहरूले मानिसका पुत्रलाई सर्वशक्‍तिमान्‌को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्‍नुहुनेछ ।” 65 त्यसपछि प्रधान पूजाहारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्‍वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो? हेर्नुहोस्, अब तपाईंहरूले ईश्‍वर-निन्दा सुन्‍नुभएको छ । 66 तपाईंहरू के विचार गर्नुहुन्छ?” तिनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ ।” 67 त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए, 68 र भने, “हे ख्रीष्‍ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो?” 69 अब पत्रुसचाहिं बाहिर आँगनमा बसिरहेका थिए र एउटी नोकर्नी तिनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र?” 70 तर तिनले तिनीहरू सबैका अगि यसो भन्दै यस कुरालाई इन्कार गरे, “तैंले केको बारेमा कुरा गर्दै छेस्, मलाई त्यो थाहा छैन ।” 71 जब तिनी ढोकातिर बाहिर गए, अर्की नोकर्नीले तिनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसँग थियो ।” 72 अनि तिनले पुनः शपथ खाँदै इन्कार गरे, “म यी मानिसलाई चिन्दिनँ ।” 73 त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, “निश्‍चय नै तिमी पनि तिनीहरूमध्ये कै एक हौ, किनकि तिम्रो बोलीले नै यो सङ्केत गर्छ ।” 74 त्यसपछि तिनले सराप्‍न र शपथ खान लागे, “म यी मानिसलाई चिन्दिनँ,” अनि तुरुन्तै भाले बास्यो । 75 अनि येशूले भन्‍नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ ।” त्यसपछि तिनी बाहिर गए र धुरुधुरु रोए ।