अध्याय २४

1 येशू मन्दिरबाट बाहिर जानुभयो र उहाँ आफ्नो बाटोमा जाँदै हुनुहुन्थ्यो । उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँका चेलाहरू उहाँकहाँ आए । 2 तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले यी सबै कुरा देख्दैनौ? साँच्‍चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन, सबै भत्काइनेछन् ।” 3 जब उहाँ जैतून डाँडामा बस्‍नुभयो, चेलाहरू उहाँकहाँ सुटुक्‍कै आए र भने, “हामीलाई भन्‍नुहोस्, यी कुराहरू कहिले हुनेछन्? तपाईंको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ?” 4 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस् ।” 5 किनकि धेरै जना मेरो नाउँमा ‘म नै ख्रीष्‍ट हुँ!’ भन्दै आउनेछन् र धेरैलाई भड्काउनेछन् । 6 तिमीहरूले लडाइँ र लडाइँका हल्ला सुन्‍नेछौ । तर तिमीहरू विचलित नहोओ, किनकि यी कुराहरू हुनैपर्छ; तर अन्त त्यति नै बेला हुँदैन । 7 किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । विभिन्‍न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन् । 8 तर यी सबै कुरा प्रसव-वेदनाको सुरुवात मात्र हो । 9 तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ । 10 तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन् । 11 धेरै झूटा अगमवक्‍ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन् । 12 किनभने दुष्‍टताको वृद्धि हुनेछ, धेरै जनाको प्रेम सेलाउनेछ । 13 तर जो अन्तसम्म स्थिर रहन्छ, त्यसले उद्धार पाउनेछ । 14 राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ । तब अन्त आउनेछ । 15 त्यसकारण जब तिमीहरूले दानिएल अगमवक्‍ताले भनेका जस्तै त्यस विनाशकारी घृणित व्यक्‍तिलाई पवित्र स्थानमा उभिएको देख्छौ (पाठकले आफैं बुझोस्), 16 जो यहूदियामा छन्, तिनीहरू पहाडहरूतिर भागून्, 17 जो घरको छानामाथि छ, त्यो घरबाट कुनै सामान लिन तल नझरोस् । 18 र जो खेतमा छ, त्यो आफ्नो खास्टो लिन नफर्कोस् । 19 तर हाय, ती दिनमा तिनीहरूलाई, जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन्! 20 हिउँदमा वा विश्रामको दिनमा तिमीहरू भाग्‍न नपरोस् भनी प्रार्थना गर । 21 किनकि त्यस बेला महासङ्कष्‍ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ । 22 ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्‍नेछैन । तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन् । 23 तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्!’ वा, ‘ख्रीष्‍ट त्यहाँ छन्!’ भन्छ भने त्यसलाई विश्‍वास नगर । 24 किनकि झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्‍ताहरू आउनेछन् र हुन सके, चुनिएकाहरूलाई समेत बहकाउनलाई ठुला-ठुला चिन्हहरू र चमत्कारहरू देखाउनेछन् । 25 हेर, यी मैले अगाडि नै तिमीहरूलाई बताएको छु । 26 त्यसकारण यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्थानमा छन्’ भनेर भन्छन् भने, उजाड-स्थानतिर नजाओ । वा ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भनेर भन्छन् भने, त्यसलाई विश्‍वास नगर । 27 किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्‍चिमसम्मै त्यसको उज्यालो पुग्छ, मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ । 28 जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन् । 29 तर ती दिनमा सङ्कष्‍ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो ज्योति दिनेछैन, ताराहरू आकाशबाट खस्‍नेछन्, र स्वर्गका शक्‍तिहरू डगमगाउनेछन् । 30 तब मानिसका पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन् । तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्‍ति र ठुलो महिमासाथ आउँदै गरेको देख्‍नेछन् । 31 उनले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनेछन्, अनि तिनीहरूले उनका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गर्नेछन् । 32 अब अन्जीरको रूखबाट पाठ सिक । जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु आउँदै छ भनेर तिमीहरूले थाहा पाउँछौ । 33 त्यसरी नै जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ, उनी नजिकै अर्थात् ढोकाहरूमै छन् भनी तिमीहरूले जान्‍नुपर्छ । 34 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन । 35 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् । 36 तर त्यस दिन र घडीको विषयमा कसैलाई पनि थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई, न पुत्रलाई, तर पितालाई मात्र थाहा छ । 37 मानिसका पुत्रको आगमन पनि नोआका दिनमा जस्तै हुनेछ । 38 किनकि ती दिनहरूमा जलप्रलय आउनुभन्दा अगि नोआ जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै र पिउँदै, विवाह गर्दै र विवाह गराउँदै थिए, 39 अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन । मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ । 40 तब खेतमा दुई जना हुनेछन्– एक जना लगिनेछ, र अर्को छोडिनेछ । 41 दुई जना स्‍‍त्री जाँतो पिंधिरहेका हुनेछन्– एउटी लगिनेछ र अर्की छोडिनेछ । 42 त्यसकारण तिमीहरू जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्‍ने कुरा तिमीहरूलाई थाहा छैन । 43 तर यो जान, कि रातको कुन समयमा चोर आउँदैछ भन्‍ने कुरा घरको मालिकलाई थाहा भएको भए, त्यो जागा बस्‍ने थियो र चोरलाई त्यसको घर फोर्न दिनेथिएन । 44 त्यसकारण तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछन् । 45 त्यसैले विश्‍वासयोग्य र बुद्धिमान् नोकर को हो जसलाई त्यसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको छ? 46 त्यो नोकर धन्य हो, जसलाई त्यसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ । 47 साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि मालिकले त्यससित भएका सबै कुराको जिम्मा त्यसलाई दिनेछ । 48 तर यदि दुष्‍ट नोकरले त्यसको मनमा, ‘मेरो मालिकले ढिला गरेका छन्’ भनी भन्छ, 49 अनि त्यसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ, र मतवालाहरूसँग खान्छ र पिउँछ भने, 50 त्यस नोकरले नचिताएको दिन र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरका मालिक आउनेछन् । 51 त्यसका मालिकले त्यसलाई टुक्रा-टुक्रा पारी काट्नेछन् र त्यसलाई ती पाखण्डीहरूको ठाउँमा फाल्नेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।