अध्याय २३

1 त्यसपछि येशू भीडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो । 2 उहाँले भन्‍नुभयो, “शास्‍‍त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्छन् ।” 3 यसकारण तिनीहरूले तिमीहरूलाई जे गर भनी आज्ञा गर्छन्, ती कुरा गर र तिनीहरूलाई पालन गर । तर तिनीहरूका कामहरूको अनुसरण नगर, किनकि तिनीहरू कुराहरूचाहिं गर्छन्, तर आफैंले ती गर्दैनन् । 4 हो, तिनीहरूले बोक्‍न कठिन हुने गह्रौं भारीहरू बाँधिदिन्छन्, अनि तिनीहरूले ती मानिसहरूका काँधहरूमा राखिदिन्छन् । तर तिनीहरू आफैंले भने ती बोक्‍नलाई एउटा औंला पनि चलाउँदैनन् । 5 तिनीहरूले सबै काम मानिसहरूले देखून् भनेर गर्छन् । किनकि तिनीहरूले आफ्ना निधारमा र नाडीमा राखिने व्यवस्था-पत्रीहरू ठुलो बनाउँछन्, र तिनीहरूले आफ्ना वस्‍‍त्रका झुम्काहरू लामो पार्छन् । 6 तिनीहरूले भोजमा मुख्य स्थानहरू र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्, 7 अनि बजारहरूमा विशेष अभिवादन गरिएको र मानिसहरूद्वारा ‘रब्बी’ भनी सम्बोधन गरिएको चाहन्छन् । 8 तर तिमीहरूलाई ‘रब्बी’ भनी सम्बोधन गरिनुहुँदैन, किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ, र तिमीहरू सबै दाजुभाइहरू हौ । 9 अनि पृथ्वीमा कुनै पनि मानिसलाई पिता भनी नपुकार, किनकि तिमीहरूका एक मात्र पिता हुनुहुन्छ, र उहाँ स्वर्गमा हुनुहुन्छ । 10 न त ‘मालिक’ भनी कसैले तिमीहरूलाई बोलाऊन्, किनकि ख्रीष्‍ट तिमीहरूका एक मात्र मालिक हुनुहुन्छ । 11 तर जो तिमीहरूका माझमा सबैभन्दा महान् छ, त्यो तिमीहरूका सेवक हुनेछ । 12 जसले आफूलाई उच्‍च पार्छ, त्यसलाई होच्याइनेछ । अनि जसले आफूलाई होच्याउँछ, त्यसलाई उच्‍च पारिनेछ । 13 तर धिक्‍कार तिमीहरूलाई, शास्‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! तिमीहरू मानिसहरूका सामुन्‍ने स्वर्गको राज्यलाई बन्द गर्छौ । किनकि तिमीहरू यसमा आफैं प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ । 14 1 15 धिक्‍कार तिमीहरूलाई, शास्‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि एक जनालाई आफ्नो मतमा ल्याउनलाई तिमीहरू समुद्र र जमिन चहार्छौ । जब त्यो तिमीहरूको मतमा आउँछ, त्यसलाई आफूभन्दा दोब्बर नरकको पुत्र बनाउँछौ । 16 धिक्‍कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्छौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, त्यो आफ्नो शपथद्वारा बाँधिन्छ ।’ 17 ए अन्धा मूर्खहरू हो! कुनचाहिं ठुलो हो– सुन कि त्यस सुनलाई पवित्र पार्ने मन्दिर? 18 अनि, ‘कसैले वेदीको शपथ खान्छ भने, केही पनि हुँदैन । तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने, त्यो आफ्नो शपथद्वारा बाँधिन्छ ।’ 19 ए अन्धा मानिसहरू हो, कुनचाहिं ठुलो हो– भेटी कि त्यस भेटीलाई पवित्र गर्ने वेदी? 20 अनि जसले वेदीको शपथ खान्छ, त्यसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ । 21 अनि जसले मन्दिरको शपथ खान्छ, त्यसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ । 22 अनि जसले स्वर्गको शपथ खान्छ, त्यसले परमेश्‍वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ । 23 धिक्‍कार तिमीहरूलाई, शास्‍‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि तिमीहरू पुदीना, सूँप र जीराका दशांश दिन्छौ, तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय, कृपा र विश्‍वासलाई बेवास्ता गरेका छौ । तर तिमीहरूले यी कुराहरू गर्नुपर्नेथियो र यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्नेथियो । 24 ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्छौ, तर ऊँटलाई चाहिं निल्छौ! 25 धिक्‍कार तिमीहरूलाई, शास्‍‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! तिमीहरू कचौराहरू र थालहरूको बाहिरपट्टि धुन्छौ, तर भित्रपट्टि तिनीहरू लोभ र अन्यायपूर्ण मागले भरिएका छन् । 26 ए अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर ताकि त्यसको बाहिरपट्टि पनि सफा होस् । 27 धिक्‍कार तिमीहरूलाई, शास्‍‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि तिमीहरू चुनले पोतेका चिहानहरूजस्ता छौ, जुन बाहिरपट्टि सुन्दर देखा पर्छन्, तर भित्रपट्टि चाहिं मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका छन् । 28 यसैगरी तिमीहरू पनि बाहिर मानिसहरूका सामुन्‍ने धर्मी देखा पर्छौ, तर भित्रपट्टि तिमीहरू कपट र दुष्‍टताले भरिएका छौ । 29 धिक्‍कार तिमीहरूलाई, शास्‍‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि तिमीहरू अगमवक्‍ताहरूका चिहानहरू बनाउँछौ र धर्मीहरूका चिहानहरूलाई सिङ्गार्छौ । 30 तिमीहरू भन्छौ, ‘यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए, अगमवक्‍ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौं ।’ 31 त्यसकारण तिमीहरू तिनीहरूका सन्तान हौ भनी आफैं गवाही दिन्छौ जसले अगमवक्‍ताहरूको हत्या गरे । 32 तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पूरा गर्छौ । 33 ए सर्पहरू हो, विषालु सर्पका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ? 34 त्यसकारण हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ । 35 जसको परिणाम स्वरूप पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ । 36 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् । 37 ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्! जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ, त्यसरी नै कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले इच्छा गरिनस् । 38 हेर, तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन् । 39 किनकि म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ भनी तिमीहरूले नभनेसम्म, अबदेखि तिमीहरूले मलाई देख्‍नेछैनौ ।”

1प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा १४ पद छैन (केही प्रतिलिपिहरूले निम्‍न पद १२ पदपछि लेख्छन्) धिक्‍कार तिमीहरूलाई, शास्‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि तिमीहरू विधवाहरूका घरहरू निल्छौ, र लामो-लामो प्रार्थना गर्ने बहाना गर्छौ । यसकारण तिमीहरूले अझ बढी दण्ड पाउनेछौ ।