6 1 त्यसकारण, सुरुको ख्रीष्‍टको वचनलाई छोडेर हामी परिपक्‍वतातिर अगाडि बढौं। परमेश्‍वरमाथिको विश्‍वासका कुराको र मरेका कामहरूबाट पश्‍चात्तापको जग बसाल्ने काम फेरि नगरौं, 2 न त बप्‍तिस्माबारे शिक्षाको जग, हात राख्‍ने काम, मरेकाहरूको पुनरुत्थान, र अनन्त न्यायको जग बसालौं । 3 यदि परमेश्‍वरले अनुमति दिनुभयो भने हामीले पनि यो गर्नेछौं। 4 किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो, 5 र जसले परमेश्‍वरको असल वचन र आउने युगको शक्‍तिको स्वाद चाखेका थिए, 6 तर जो पतित भए, तिनीहरूलाई फेरि पश्‍चात्तापमा ल्याउन असम्भव छ । किनभने तिनीहरूले फेरि आफ्नै निम्ति परमेश्‍वरका पुत्रलाई क्रुसमा टाँग्छन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्छन् । 7 किनकि जुन जमिनले आफूमाथि बारम्बार बर्सिने पानी पिउँछ, र जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्‍न उत्पादन गर्छ—त्यस जमिनले परमेश्‍वरबाट आशिष् प्राप्‍त गर्छ । 8 तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र त्यो श्रापको नजिक पुग्छ, र अन्त्यमा त्यसलाई जलाइन्छ । 9 तर हामीले यस प्रकारले बोले, तापनि प्रिय हो, तिमीहरूका असल कुराहरूका बारेमा हामी आश्‍वस्‍त भएका छौं, र त्यो कुरा मुक्तिको विषयमा हो । 10 किनकि परमेश्‍वर अधर्मी हुनुहुन्‍न ।तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई उहाँले बिर्सनुहुनेछैन, किनभने तिमीहरूले पवित्र जनहरूको सेवा गर्यौ, र अझै पनि तिनीहरूको सेवा गर्दैछौ । 11 अनि हामी उत्कट इच्छा गर्दछौं, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो आशा निश्‍चित गर्नको निम्ति त्यही उत्सुकता देखाओ । 12 ताकि तिमीहरू अल्छे नहोओ, तर विश्‍वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ । 13 किनकि परमेश्‍वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफै‍ंले शपथ खानुभयो । 14 उहाँले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई आशिष्‌‌ दिनेछु, र तँलाई ज्यादै वृद्धि गराउनेछु ।” 15 यसरी, अब्राहामले धैर्यसाथ पर्खे, र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्‍त गरे । 16 किनकि मानिसहरूले आफूभन्दा ठुलाहरूद्वारा शपथ खान्छन्, र शपथले अन्त्यमा तिनीहरूका प्रत्येक वादविवाद मिलाउन निश्‍चयता दिन्छ । 17 परमेश्‍वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्‍ट रूपले देखाउने निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै यो पक्‍का गर्नुभयो । 18 त्यसैले, यी दुईवटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो—जसद्वारा परमेश्‍वरलाई झुट बोल्न असम्भव छ—ताकि हामी, जो शरणको लागि भागेकाछौ , हाम्रो अगाडि राखिदिएको आशालाई बलियो गरी समात्‍नलाई दह्रो उत्साह पाउन सकौं। 19 हामीसित प्राणको लागि सुरक्षित र भरपर्दो लङ्गरको रुपमा यो, अर्थात् आशा छ, जुन पर्दा पछाडिको भित्रको स्थानमा पनि पस्छ, 20 जहाँ येशू हामीभन्दा पहिले गएर त्यस ठाउँमा हाम्रो सट्टामा पस्‍नुभएको छ । मल्कीसेदेकको दर्जाअनुसार उहाँ सधैंका निम्ति प्रधान पूजाहारी हुनुभएको छ ।