5 1 किनकि मानिसहरूकै बिचबाट छानिएका हरेक प्रधान पूजाहारी, परमेश्‍वरका थोकहरूसम्बन्धी मानिसहरूका पक्षमा काम गर्न नियुक्त गरिएको हुन्छ ताकि तिनले पापहरूका निम्ति उपहार र बलिहरू दुवै चढाउन सकून्। 2 तिनले अजान र छलमा परेकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्, किनभने तिनी आफैँ पनि कमजोरीबाट घेरिएका छन् । 3 यसकारणले गर्दा, जसरी तिनले मानिसहरूका पापको निम्ति बलि चढाउँछन्, त्यसरी नै तिनीबाट पनि आफ्नो पापका निम्ति बलिदान चढाउन माग गरिएको छ । 4 कुनै पनि मानिस आफैंले यो आदर लिन सक्दैन । त्यसको सट्टामा, हारूनलाई जस्तै त्यसलाई परमेश्‍वरद्वारा बोलाइएको हुन्छ । 5 त्यसैगरी, न त ख्रीष्‍टले आफूलाई प्रधान पूजाहारी बनाएर आफैंलाई उचाल्नुभयो । बरु, उहाँसँग बोलिरहनुहुनेले भन्‍नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु ।” 6 जसरी अर्को ठाउँमा पनि उहाँले भन्‍नुभएको छ, “तिमी सधैंका निम्ति मल्कीसेदेकको दर्जाअनुसारको पूजाहारी हौ ।” 7 उहाँ शरीरमा हुनुहुँदाका दिनहरूमा ख्रीष्‍टले आफूलाई मृत्युबाट बचाउन सक्‍नुहुने परमेश्‍वरसँग ठुलो सोरमा क्रन्दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो, र उहाँको ईश्‍वरीय जीवनको कारणले गर्दा उहाँको सुनाइभयो । 8 उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्‍टबाट उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो । 9 उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्त मुक्‍तिको कारण बन्‍नुभयो । 10 मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पूजाहारी हुनलाई परमेश्‍वरले उहाँलाई नियुक्त गर्नुभयो । 11 हामीसँग येशूको बारेमा भन्‍नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्‍नमा मन्द भएकाले यसलाई व्याख्या गर्न गाह्रो छ । 12 किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरका वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्‍यक छ । 13 किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनभने त्यो अझसम्म बालकै हुन्छ । 14 तर खँदिलो भोजन परिपक्‍वहरूका लागि हो । यी तिनै हुन् जसका परिपक्‍वताको कारण तिनीहरूले दुष्‍टबाट असल छुट्‌‍याउन सक्‍ने बुझाइको तालिम पाएका हुन्छन् ।