4 1 यसकारण, परमेश्‍वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा अझै भइरहेको हुनाले हामी निकै होसियार होऔं ताकि हामीमध्ये कोही पनि त्यो देखि वञ्‍चित हुन नपरोस् । 2 किनकि तिनीहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो । तर त्यो सन्देशले तिनीहरूलाई कुनै फाइदा भएन जो आज्ञा पालन गर्नेहरूसँग विश्‍वाससाथ एक भएनन् । 1 3 किनकि हामी जसले विश्‍वास गरेका छौं त्यस विश्राममा हामी प्रवेश गर्नेछौं, जसरी उहाँले भन्‍नुभयो, “जसरी मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ ।” यद्यपि संसारको उत्‍पत्तिदेखि नै उहाँका कामहरू पुरा भइसकेका थिए । 4 किनकि सातौं दिनको विषयमा उहाँले कहीं भन्‍नुभएको छ, “र परमेश्‍वरले सातौं दिनमा आफ्ना सबै कामबाट विश्राम लिनुभयो ।” 5 र फेरि यही खण्डमा उहाँले भन्‍नुभयो, “तिनीहरू मेरो विश्राममा कहिल्यै प्रवेश गर्नेछैनन् ।” 6 यसकारण, त्यो विश्राममा प्रवेश गर्न अझै कसैका लागि बाँकी नै छ, र धेरै जसलाई पहिले नै सुसमाचार सुनाइएको थियो, तिनीहरूले आज्ञापालन नगरेको कारण त्यसमा प्रवेश गर्न सकेनन् । 7 त्यसैले “आज” भनेर परमेश्‍वरले फेरि एउटा निश्‍चित दिन ठहराउनुभयो, जब उहाँले दाऊदद्वारा अगिबाटै भनिएका कुराहरू बोल्नुभयो, “आज तिमीहरूले उहाँको आवाजलाई सुन्यौ भने, तिमीहरूका हृदय कठोर नपार ।” 8 किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्‍वरले अर्को दिनको विषयमा बोल्नुहुने थिएन । 9 यसकारण, परमेश्‍वरका मानिसहरूका निम्ति एउटा विश्राम दिनको विश्राम अझै बाँकी छ । 10 किनकि जसले परमेश्‍वरको विश्राममा प्रवेश गर्छ, त्यो आफैंले पनि आफ्ना कामहरूबाट विश्राम लिन्छ, जसरी परमेश्‍वरले उहाँका कामहरूबाट विश्राम लिनुभयो । 11 यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नका निम्ति प्रयत्‍न गरौं, ताकि कोही पनि त्यस प्रकारको अनाज्ञाकारितामा नपरोस् जसरी तिनीहरू परे । 12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा र प्राण, जोर्नी र मासीलाई अलग हुनेगरी छेड्छ अनि यो हृदयका विचार र भावनाहरूको जाँच गर्न सक्षम छ । 13 सृष्‍टिको कुनै पनि थोक परमेश्‍वरको द‍ृष्‍टिमा लुकेको छैन । बरु, उहाँको द‍ृष्‍टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ। 14 यसकारण, जसै स्वर्ग भएर जानुभएका, महान् प्रधान पूजाहारी, परमेश्‍वरका पुत्र येशू हामीसँग हुनुहुन्छ, हामी हाम्रो विश्‍वासलाई द‍ृढतासाथ थामिराखौं । 15 किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्‍ने एक जना प्रधान पूजाहारी हुनुहुन्‍न, त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै सबै कुरामा परीक्षित हुनुभएको छ, तरै पनि उहाँ पापरहित हुनुहुन्छ । 16 तब हामी अनुग्रहको सिंहासनमा साहसपूर्वक जाऔं, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौं ।

1केही महत्‍वपूर्ण र प्राचीन प्रतिलिपिहरूमा पढ्छौं, तर त्यो सन्देशले सुन्‍नेहरूलाई कुनै फाइदा भएन जो विश्‍वाससाथ त्यसमा मिल्न सकेनन्