3 1 यसकारण, पवित्र भाइहरू हो, तिमीहरू स्वर्गीय बोलावटमा सहभागी छौ । हामीले स्वीकार गरेका प्रेरित र प्रधान पूजाहारी येशू ख्रीष्‍टलाई विचार गर । 2 उहाँलाई नियुक्त गर्नुहुने परमेश्‍वरप्रति उहाँ विश्‍वासयोग्य हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्‍वरको सबै घरानामा विश्‍वासयोग्य थिए । 3 किनकि मोशाभन्दा येशू महान् महिमाका योग्य ठहरिनुभएको छ किनभने घर आफैंलाई भन्दा घर बनाउनेको बढी आदर हुन्छ । 4 हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने परमेश्‍वर नै हुनुहुन्छ । 5 किनकि मोशा परमेश्‍वरका सारा घरानामा सेवकको रूपमा विश्‍वासयोग्य थिए जो भविश्यमा बोलिने कुराहरूका एक गवाही थिए । 6 तर परमेश्‍वरको घरानाको जिम्मा पाएका पुत्रको रूपमा ख्रीष्‍ट विश्‍वासयोग्य हुनुहुन्छ । यदि हामी हाम्रो साहस र हामीले गर्व गर्ने आशालाई पक्रिरहन्छौं भने हामी उहाँका घराना हौं । 7 यसकारण, जसरी पवित्र आत्मा भन्‍नुहुन्छ, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, 8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार । 9 त्यतिबेला जब तिम्रा पुर्खाहरूले मेरो परीक्षा गरेर विद्रोह गरे र जब चालिस वर्षसम्म मैले गरेका काम तिनीहरूले देखे । 10 यसकारण म त्यस पुस्तासँग अप्रसन्‍न भए । मैले भनें, ‘तिनीहरू जहिले पनि आफ्ना हृदयबाट तर्किएर गएका छन् । तिनीहरूलाई मेरा बाटाहरू थाहा छैन ।’ 11 मेरो क्रोधमा मैले शपथ खाएः ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउनेछैनन्’ ।” 12 भाइहरू हो, होसियार बस ताकि तिमीहरूमध्ये कोहीमा पनि अविश्‍वासको दुष्‍ट हृदय नहोस्, जुन हृदयले जीवित परमेश्‍वरबाट तर्काएर टाढा लैजान्छ । 13 बरु, जबसम्म “आजको दिन” भन्‍ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ ताकि तिमीहरूमध्ये कसैको पनि पापको छलकपटद्वारा हृदय कठोर नहोस् । 14 किनकि यदि हामीले सुरुदेखि अन्त्यसम्मै उहाँमा राखेको हाम्रो भरोसालाई बलियोसँग पक्रिराख्यौं भने, ख्रीष्‍टसँगै हामी साझेदार भएका हुन्छौं । 15 यसको बारेमा यस्तो भनिएको थियो, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, विद्रोहमा गरेजस्तै तिमीहरूले हृदय कठोर नपार ।” 16 ती को थिए जसले परमेश्‍वरको आवाज सुने र विद्रोह गरे? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् र? 17 कोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभयो? के ती पाप गर्नेहरूसित होइन र,जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिए? 18 तिनीहरू उहाँको विश्राममा पस्‍न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्‍नेहरू होइनन् र? 19 हामी देख्छौं कि अविश्‍वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्‍न सकेनन् ।