2 1 यसकारण हामीले जे सुनेका छौं त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ ताकि यसबाट बहकिएर हामी टाढा नजाऔं । 2 किनकि यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देश अति भरपर्दो प्रमाणित भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र, 3 हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्छौं भने, तब हामी कसरी उम्कन सक्छौं र? यो मुक्‍ति हो जुन पहिले प्रभुद्वारा घोषणा गरिएको थियो र यो सुन्‍नेहरूद्वारा हाम्रा निम्ति पक्‍का गरियो । 4 त्यही समयमा परमेश्‍वरले यसलाई चिन्‍हहरू, अचम्मका कामहरू र विभिन्‍न शक्‍तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो । 5 हामीले कुरा गरिराखेको आउँदो संसारलाई परमेश्‍वरले स्वर्गदूतहरूको अधीनमा राख्‍नुभएन । 6 त्यसको सट्टामा, कसैले कुनै ठाउँमा यसो भन्दै गवाही दिएको छ, “मानिस के हो र, तपाईं त्यसको ख्याल गर्नुहुन्छ? वा मानिसको छोरो के हो जसका निम्ति तपाईं वास्ता गर्नुहुन्छ? 7 तपाईंले मानिसलाई स्वर्गदूतहरूभन्दा अलि कम बनाउनुभयो; तपाईंले त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभयो । 1 8 तपाईंले हरेक कुरा त्यसको पाउको अधीनमा राख्‍नुभयो ।” किनकि परमेश्‍वरले सबै कुरा मानिसको अधीनमा राख्‍नुभएको थियो । उहाँले कुनै पनि थोक त्यसको अधीन बाहिर रहन दिनुभएन । तर आज हामी सबै कुरा त्यसको अधीनमा रहेको देख्दैनौं । 9 तर हामी उहाँ, येशूलाई देख्छौ जो केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइनुभयो जसलाई उहाँका दुःख र मृत्युको कारणले महिमा र आदरको मुकुट पहिराइयो ताकि परमेश्‍वरको अनुग्रहबाट उहाँले हरेक मानिसको निम्ति मृत्यु चाखून् । 10 किनकि यो परमेश्‍वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा छ, धेरै छोराहरू महिमामा ल्याउनको लागि, उहाँको दुःखद्वारा तिनीहरूका मुक्‍तिका कर्तालाई सिद्ध तुल्याउनु उहाँको निम्ति उपयुक्त थियो । 11 किनकि पवित्र गर्नुहुने र पवित्र गरिएकाहरू दुवैको एउटै स्रोत छ। त्यसैले उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न । 12 उहाँ भन्‍नुहुन्छ, “म तपाईंको नाउँ मेरा भाइहरूलाई घोषणा गर्नेछु, म सभाको बीचबाट तपाईंको गीत गाउनेछु ।” 13 र फेरि, “म उहाँमा भरोसा गर्नेछु ।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्‍वरले मलाई दिनुभएको छ ।” 14 यसकारण, छोराछोरीहरू मासु र रगतको सहभागी भएका हुनाले उहाँ पनि त्यही कुराहरूको सहभागी हुनुभयो ताकि मृत्युद्वारा उहाँले मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पारून् । 15 यसो भयो ताकि मृत्युको डरद्वारा आफ्नो सबै जीवन दासत्‍वमा जिएकाहरू सबैलाई उहाँले स्वतन्‍‍त्र गर्न सकून् । 16 किनकि वास्तवमा उहाँले स्वर्गदूतहरूको सहायता गर्नुहुन्‍न तर अब्राहामको सन्तानको गर्नुहुन्छ । 17 त्यसैले सबै क्षेत्रमा आफ्ना भाइहरूजस्तै बन्‍नु उहाँको लागि आवश्यक थियो ताकि उहाँ परमेश्‍वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्‍वासयोग्य महान् पूजाहारी होऊन् र उहाँले मानिसका पापहरूको प्रायश्‍चित गर्न सकुन् । 18 किनभने येशू आफैंले दुःख भोग्‍नुभएको, र परीक्षित हुनुभएकोले, उहाँले परीक्षित हुनेहरूलाई सहायता गर्न सक्‍नुहुन्छ ।

1केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू थप्छन् र तपाईंले त्यसलाई तपाईंका हातका कामहरूमाथि राख्‍नुभएको छ