7 1 यिनै मल्कीसेदेक शालेमका राजा, सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए, जसले राजाहरुलाई मारेर फर्किरहेका अब्राहामलाई भेटेर आशीर्वाद दिए । 2 तिनलाई नै अब्राहामले सबै कुराको दशांश दिए । तिनको नाउँको अर्थ हुन्छ, “धार्मिकताका राजा”; तिनी “शालेमका राजा” पनि हुन् अर्थात् “शान्तिका राजा ।” 3 तिनी विनापिता, विनामाता, विनापिता-पुर्खाहरू र जीवनको सुरु वा अन्त्य नभएका हुन् । बरु, तिनी परमेश्‍वरका पुत्रजस्तै सदाकालका पूजाहारी भइरहन्छन्। 4 हेर, यी मानिस कति महान् थिए । जसलाई हाम्रा पुर्खा अब्राहामले लडाइँमा जितेर ल्याएका सबै कुराको दशांश दिए । 5 लेवीका सन्तानहरू जसले पूजाहारी पदलाई प्राप्‍त गरेका छन्, तिनीहरूलाई मानिसहरू अर्थात् आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानबाट आएका हुन् । 6 तर मल्कीसेदेक जसका वंशावली तिनीहरूबाटका थिएनन्, तिनले अब्राहामबाट सबै दशांश प्राप्‍त गरे, र जसलाई प्रतिज्ञाहरू गरिएको थियो उनलाई आशिष्‌‌ दिए । 7 ठुला मानिसले साना मानिसलाई आशीर्वाद दिन्छन् भन्‍ने कुरा इन्कार गर्ने कुनै कारण छैन । 8 यस अवस्थामा मरणशील मानिसहरूले दशांश प्राप्‍त गर्छन्, तर त्यस अवस्थामा तिनी जीवित रहन्छन् भनी यसले प्रमाणित गर्छ । 9 र यस सन्दर्भमा भन्‍नुपर्दा, दशांश पाउने लेवीले पनि अब्राहामद्वारा दशांश दिए, 10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी पनि आफ्ना पुर्खाकै शरीरमा थिए । 11 अब यदि लेवीको पूजाहारी पदद्वारा पूर्णता सम्भव भएको भए (किनकि जसबाट मानिसहरूले व्यवस्था प्राप्‍त गर्छन्), हारूनको दर्जाबमोजिम नभएर मल्कीसेदेकको दर्जाअनुसार अर्को पूजाहारी स्थापित गर्न किन आवश्यक पर्थ्यो? 12 किनकि जब पूजाहारी पद परिवर्तन हुन्छ, तब व्यवस्था पनि परिवर्तन हुनुपर्छ । 13 किनकि एक जना जसको बारेमा यी कुराहरू भनिएका छन्, उहाँ अर्कै कुलका हुनुहुन्छ, जसबाट कहिल्यै कसैले वेदीमा सेवा गरेका छैनन् । 14 अब यो स्पष्‍ट छ, कि यहूदाको कुलबाट हाम्रा प्रभु जन्मनुभएको थियो, जुन कुलबाट मोशाले पूजाहारीहरूका बारेमा कहिल्यै उल्लेख गरेका थि‍एनन् । 15 यदि मल्कीसेदेकजस्तै अर्को स्वरूपमा पूजाहारी खडा हुन्छ भने, हामीले जे भनिरहेका छौं त्यो स्पष्‍ट छ । 16 उहाँ शारीरिक पुर्खाहरूका व्यवस्थाका आधारमा होइन, तर अविनाशी जीवनको शक्‍तिमा पूजाहारी हुनुभयो । 17 किनकि उहाँको बिषयमा धर्मशास्‍‍त्र यसरी गवाही दिन्छः “मल्कीसेदेकको दर्जाजस्तै तिमी सधैंका निम्ति पूजाहारी हौ ।” 18 किनकि पहिलेको आज्ञा रद्द भएको छ, कारण त्यो कमजोर र काम नलाग्‍ने थियो— 19 किनकि व्यवस्थाले कुनै पनि कुरालाई सिद्ध बनाएन— तथापि, भविष्यको निम्ति उत्तम निश्‍चयता छ, जसद्वारा हामी परमेश्‍वरको नजिक पुग्छौं । 20 अनि यो शपथविना भएको होइन! अरूहरू शपथविना नै पूजाहारीहरू भएका थिए , 21 तर उहाँ शपथविना नै पूजाहारी हुनुभयो, जसको बारेमा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ, र उहाँले आफ्नो मन परिवर्तन गर्नुहुनेछैन, ‘तिमी सदाकाल पूजाहारी हौ’ ।” 22 यसद्वारा येशूले उत्तम करारको निश्‍चयता दिनुभएको छ । 23 अघिका पूजाहारीहरू संख्यामा धेरै थिए, किनकि मृत्युले तिनीहरूलाई निरन्तर पूजाहारीको कार्यमा लागिरहन दिएन । 24 तर येशू सदासर्वदा जिवित रहिरहनुभएकोले उहाँसँग एउटा स्थायी पूजाहारी पद छ । 25 त्यसकारण, उहाँद्वारा परमेश्‍वरको नजिक आउने मानिसहरूलाई पूर्ण रूपमा बचाउनका निम्ति उहाँ सामर्थी हुनुहुन्छ, किनभने उहाँ तिनीहरूका निम्ति अन्‍तर-बिन्‍ती गर्नलाई सधैं जीवित हुनुहुन्छ । 26 किनकि यस्तै प्रकारको प्रधान पूजाहारी हाम्रा निम्ति सुहाउँदो थियो, जो पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएको र आकाशभन्दा उच्‍च पारिनुभएको छ । 27 प्रधान पूजाहारीहरूले जस्तै पहिले आफ्नै पापका निम्ति र त्यसपछि मानिसहरूका पापका निम्ति उहाँले दिनहुँ बलिदान चढाइरहनुपर्दैन । जब उहाँले आफैंलाई अर्पण गर्नुभयो, तब उहाँले यो एकै पटक सधैंका निम्ति गर्नुभयो । 28 किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पूजाहारीको रूपमा नियुक्त गर्छ, जससँग कमजोरी छ। तर व्यवस्थापछि आएको शपथको वचनले सदाकालका निम्ति सिद्ध बनाइनुभएको पुत्रलाई नियुक्त गर्‍यो।