अध्याय ३

1 तर यो जान कि अन्तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ । 2 किनकि मानिसहरू आफैलाई प्रेम गर्नेहरू, धनका प्रेमी, घमण्डी, हठी, अरूको निन्दा गर्ने, आमा बुबाले भनेको नमान्‍ने, कृतघ्‍न, अपवित्र, 3 स्वाभाविक प्रेमरहित, पुनर्मिलाप गर्न नसक्‍ने, निन्दा गर्नेहरू, आत्म-नियन्‍‍‍त्रण गर्न नसक्‍ने, विद्रोही, असल नरुचाउने, 4 ठगाहा, लापर्वाह गर्नेहरू, घमण्डी, परमेश्‍वरको प्रेमी हुनुको साटो सुखविलास प्रेमी हुनेछन् । 5 तिनीहरूमा भक्तिको भेष हुनेछ, तर यसको शक्‍तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस । 6 किनकि तिनीहरूमध्ये केही यस्ता मानिसहरू छन् जसले घर-घरमा पसेर मूर्ख स्‍‍‍त्रीहरूलाई अधीनमा पार्छन् । यी यस्ता स्‍‍त्रीहरू हुन् जो पापले थिचिएका र धेरै अभिलाषाले प्रभावित भएका छन् । 7 यी स्‍‍‍त्रीहरू सधैं सिकिरहन्छन्, तर कहिल्यै सत्यको ज्ञानमा आउन सक्दैनन् । 8 जसरी यान्‍नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् । तिनीहरू भ्रष्‍ट मन भएको मानिसहरू हुन्, र विश्‍वासको सन्दर्भमा तिनीहरू झूटा प्रमाणित भएका छन् । 9 तर तिनीहरू धेरै अगाडि जाने छैनन् । किनकि तिनीहरूको मूर्खता यी मानिसहरूको जस्तै सबै मानिसहरूलाई थाहा हुनेछ । 10 तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्‍वास, धैर्य धारण, प्रेम, संयम, 11 सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्‍‍‍त्रामा ममाथि आइपरेका कुराको अनुकरण गरेका छौ । मैले सतावटहरू सहें । प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो । 12 ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन चाहने सबै सतावटमा पर्नेछन् । 13 दुष्‍ट मानिस र ठगाहाहरू, अरूहरू र तिनीहरू आफैँलाई भड्काउँदै, खराबबाट अझ खराब हुनेछन् । 14 तर तिमीचाहिं सिकेका र बलियोसँग विश्‍वास गरेको कुराहरूमा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ । 15 तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍‍‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिको लागि तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ । 16 सम्‍पूर्ण पवित्रशास्‍‍‍त्र परमेश्‍वरबाट प्रेरित भएको हो । यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ, 17 ताकि परमेश्‍वरको मानिस सक्षम भएर हरेक असल कामको लागि सुसज्जित हुन सकून् ।