अध्याय २

1 त्यसैकारण, मेरा बालक,ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा बलियो होऊ । 2 र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ । 3 ख्रीष्‍ट येशूको असल सिपाहीझैं मसँग कष्‍ट भोग । 4 सिपाहीमा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि त्यसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् । 5 यदि कोही खेलाडीको रूपमा खेलमा भाग लिन्छ भने, त्यसले नियमअनुसार नखेली मुकुट जित्‍न सक्दैन । 6 परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिलो भाग प्राप्‍त गर्नुपर्छ । 7 मैले भनिरहेका कुरामा विचार गर, किनकि प्रभुले तिमीलाई सबै कुरामा समझशक्‍ति दिनुहुनेछ । 8 दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्‍टको सम्झना गर, जो मृतकबाट जीवित भई उठ्‍नुभयो । यो मैले सुसमाचारको सन्देशमा भनेअनुसार हो, 9 जुन कुराको लागि मैले अपराधीझैं बन्धनमा पर्ने अवस्थासम्म कष्‍ट भोगिरहेको छु । तर परमेश्‍वरको वचन बन्धनमा परेको छैन । 10 त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले पनि अनन्तको महिमाका साथ ख्रीष्‍ट येशूमा भएको मुक्‍ति प्राप्‍त गरून् । 11 यो भरोसायोग्य भनाइ होः “यदि हामी उहाँसँगै मरेका छौं भने, हामी उहाँसँगै जीवित पनि हुनेछौं । 12 यदि हामी सहन्छौं भने, हामी पनि उहाँसँगै राज्य गर्नेछौं । यदि हामी उहाँलाई इन्कार गर्छौं भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ । 13 यदि हामी उहाँमा विश्‍वासयोग्य छैनौं भनेतापनि उहाँ विश्‍वासयोग्य रहनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न ।" 14 तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्‍वरको अगाडि चेतावनी देओ; यसले केही फाइदा गर्दैन र सुन्‍नेहरूलाई नोक्सान मात्र गर्छ । 1 15 सत्यको वचनलाई ठीकसँग सिकाउने र शर्माउन नपर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य तुल्याउन भरमग्दुर प्रयत्‍न गर । 16 भक्‍तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्‍तिहीनतातर्फ डोर्‍याउँछ । 17 तिनीहरूका कुरा निको नहुने सइनको घाउजस्तै फैलिनेछ । तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्, 18 जो सत्यताबाट बहकिएका छन् ।तिनीहरूले पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्छन्, र केहीको विश्‍वासलाई नाश गर्छन् । 19 तथापि परमेश्‍वरको द‍ृढ जग स्थिर रहन्छ ।यसमा यस्तो छाप लागेको छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले प्रभुको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहनुपर्छ ।" 20 सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन् । त्यहाँ काठ र माटाका भाँडाहरू पनि हुन्छन् । यीमध्ये केही आदर र केही अनादरको निम्ति प्रयोग हुन्छन् । 21 कसैले अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्छ भने, त्यो अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ । 22 जवानीको अभिलाषाबाट अलग बस । शुद्ध हृदयले प्रभुलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्‍वास, प्रेम, शान्तिको खोजी गर । 23 तर मूर्ख र अज्ञानी प्रश्‍नहरूलाई इन्कार गर । तिमीहरूलाई थाहा छ कि तिनीहरूले वादविवादलाई ल्याउँछन् । 24 प्रभुका सेवकहरूले झगडा गर्नुहुँदैन । बरु त्यो सबैप्रति दयालु, सिकाउन सक्‍ने र धैर्यवान् हुनुपर्छ । 25 त्यसले आफ्ना विरोधीहरूलाई विनम्रतामा सिकाउनुपर्छ । सायद परमेश्‍वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्‍चात्ताप दिनुहुनेछ । 26 तिनीहरू फेरि सचेत हुनेछन् र दुष्‍टको इच्छा पूरा गर्नको लागि तिनीहरू त्यसद्वारा पक्राउ भइसकेपछि त्यसको पासोबाट उम्कनेछन् ।

1केही महत्‍वपूर्ण र प्राचीन ग्रीकमा पाउँछौं, तिनीहरूलाई प्रभुको अगाडि चेतावनी देओ