अध्याय ४

1 परमेश्‍वर र ख्रीष्‍ट येशूको सामने, जसले जिउँदा र मरेकाहरूको न्याय गर्नुहुनेछ, उहाँको आगमन र राज्यको कारण, म तिमीहरूलाई कडा आज्ञा दिन्छुः 2 वचन प्रचार गर; सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ । 3 त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । बरु, तिनीहरू आफ्नो अभिलाषाअनुसारका शिक्षकहरूको थुप्रो लगाउनेछन् जसले तिनीहरूका चिलाइरहेका कानले सुन्‍न चाहेका कुराहरू गर्छन् । 4 तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन् र दन्त्य कथातिर लाग्‍नेछन् । 5 तर तिमी सबै कुरामा सचेत होऊ । कष्‍ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पूरा गर । 6 किनकि म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु । मेरो बिदाइको समय आएको छ । 7 मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु; मैले दौड सिध्याएको छु; मैले विश्‍वासलाई जोगाइराखको छु । 8 मेरो लागि धार्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्‍ने सबैलाई । 9 जतिसक्दो छिटो मकहाँ आऊ । 10 किनकि डेमासले मलाई छोडिदिए । यस वर्तमान संसारलाई प्रेम गरेर तिनी थेसलोनिकेमा गएका छन् । क्रेसेन्स गलातियामा गए र तीतसचाहिं दलमातियामा गए । 11 लूका मात्र मसँग छन् । मर्कूसलाई तिमीसँगै लिएर मकहाँ आऊ, किनभने काममा तिनी मेरो लागि उपयोगी छन् । 12 तुखिकसलाई मैले एफिससमा पठाए । 13 तिमी आउँदा मैले त्रोआसमा कार्पससित छाडेका कपडा र किताबहरू, विशेष गरी चर्मपत्रका मुट्ठाहरू लिएर आऊ । 14 तमौटे अलेक्जेन्डरले मप्रति धेरै खराब व्यवहार देखायो । प्रभुले त्यसलाई त्यसका कामहरूअनुसारको बदला लिनुहुनेछ । 15 तिमी पनि त्यससँग होसियार होऊ, किनभने त्यो हाम्रो वचनको विरुद्धमा जोडदारसँग खडा भयो । 16 मेरो पहिलो प्रतिरक्षामा कसैले मलाई साथ दिएन । बरु, सबैले मलाई छाडे । तिनीहरूको विरुद्धमा त्यो नगनियोस् । 17 तर प्रभु मसँग उभिनुभयो र मलाई बलियो बनाउनुभयो, ताकि मद्वारा सुसमाचारको पूर्ण रूपमा घोषणा हुन सकोस् र सबै गैरयहूदीहरूले सुन्‍न पाऊन् । र मैले सिंहको मुखबाट छुटकारा पाएँ । 18 प्रभुले मलाई सबै दुष्‍ट कामबाट छुटकारा दिनुहुनेछ, र उहाँको स्वर्गीय राज्यको लागि बचाउनुहुनेछ । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन । 19 प्रिस्किला, अकिलास र ओनेसिफरसको घरानालाई अभिवादन गर । 20 इरास्तस कोरिन्थमा नै बसे, तर त्रोफिमसलाई मैले बिरामी अवस्थामा मिलेटसमा छोडें । 21 हिउँद लाग्‍नुभन्दा अगाडि नै मकहाँ आउने कोसिस गर । युबुलसले तिमीलाई अभिवादन पठाएका छन् र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि । 22 प्रभु तिम्रो आत्मामा हुनुभएको होस् । तिमीसँग अनुग्रह रहोस् । आमेन ।