अध्याय ४

1 अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौं। जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ, त्यसरी नै तिमीहरू चल, ताकि तिमीहरूले अझै बढी गर्न सक । 2 किनकि तिमीहरूलाई थाहा छ, हामीले प्रभु येशू ख्रीष्‍टद्वारा तिमीहरूलाई के अर्ती दियौं। 3 किनकि तिमीहरूकाे पवित्रीकरण परमेश्‍वरको इच्छा हो, कि तिमीहरू यौन अनैतिकताबाट टाढै बस । 4 ताकि तिमीहरू प्रत्येकले पवित्रता र सम्मानमा आफ्नो भाँडो कसरी राख्ने भनी जान्‍न सक, 5 (परमेश्‍वरलाई नचिन्‍ने गरैयहूदीहरू जस्तै) कामवासनामा जलेर होइन । 6 यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् । किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दियाैं । 7 किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि बोलाउनुभएन, तर पवित्रताको लागि हो । 8 त्यसकारण, जसले यो इन्कार गर्छ त्यसले मानिसलाई होइन, तर परमेश्‍वरलाई इन्कार गर्छ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ । 9 भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन, किनकि एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ । 10 वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई यसाे गरेका छौ, तर भाइहरू, हामी तिमीहरूलाई आग्रह गर्छाेैं कि याे अझै बढी गर । 11 हामीले तिमीहरूलाई आग्रह गरेझैँ शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने गर जसरी हामीले आज्ञा दियाैं, 12 ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका अघि तिमीहरू ठिक प्रकारले जिउन सक र तिमीहरूलाई कुनै कुराको अभाव नहोस् । 13 भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्‍ने हामी चाहन्‍नौं ताकि बाँकीका, आशा नहुनेहरू जस्तै तिमीहरूले शोक गर्न नपरोस् । 14 येशू मर्नुभयो र फेरि जीवित हुनुभयो भनी हामी विश्‍वास गर्छौं भने परमेश्‍वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ । 15 परमेश्‍वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौं कि हामी जो जीवित छौं र प्रभुको आगमनसम्म बाँचिरहन्छौं, हामीले कुनै हालतमा पनि सुतिगएकाहरूलाई उछिन्‍नेछैनौं । 16 किनकि प्रभु आफै स्वर्गबाट ओर्लनुहुनेछ। उहाँ चर्को सोर, प्रधान स्वर्गदूतको आवाज र परमेश्‍वरकाे तुरहीको गर्जनका साथ आउनुहुनेछ र ख्रीष्‍टमा मरेकाहरू पहिले जीवित हुनेछन् । 17 तब हामी जो जीवित छौं, छोडिएका छौं, उठाई लगिएकाहरूसँग बादलमा एकसाथ आकाशमा प्रभुलाई भेट्नेछौं । यसरी हामी सदासर्वदा प्रभुसँगै हुनेछौं । 18 त्यसकारण, यी वचनहरूले एक अर्कालाई सान्त्वना देओ ।