अध्याय ५

1 अब भाइहरू हो, तिमीहरूलाई समय र ऋतुहरूको बारेमा कुनै कुरा लेखिरहनु जरुरत छैन । 2 किनकि तिमीहरू आफैले राम्ररी जान्दछौ कि प्रभुको आगमनको समय, राती आउने चोरको जस्तै हुनेछ । 3 जब तिनीहरूले “शान्ति र सुरक्षा” भन्छन् तब तिनीहरूमाथि अचानक विनाश आइपर्नेछ । त्याे गर्भवती स्‍त्रीलाई प्रसव-वेदना भएझैँ हुनेछ। तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन् । 4 तर भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोरझैं आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ । 5 किनकि तिमीहरू सबै प्रकाशका सन्तानहरू र दिनका सन्तानहरू हौ । हामी रातका सन्तान होइनौं, न त अन्धकारका नै । 6 त्यसैले, हामी बाँकी अरूहरूझैं नसुतौं । बरु हामी जागा रहौं र गम्भीर हौं । 7 किनकि सुत्‍नेहरू रातमा नै सुत्छन् र पिएर मात्‍नेहरू रातमा नै मात्छन् । 8 तर हामी दिनका सन्तानहरू भएकाले हामी गम्भीर हुनुपर्छ, विश्‍वास र प्रेमको छाती-पाता र मुक्‍तिको आशाकाे टोप लगाउनुपर्छ । 9 किनकि परमेश्‍वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्‍तिको निम्ति चुन्‍नुभयो । 10 उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौं वा निन्द्रामा, हामी उहाँसँगै जिउन सकौं । 11 यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर । 12 भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति र तिमीहरूलाई उत्साह दिनेहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं । 13 तिनीहरूको कामको खातिर प्रेममा उच्‍च आदरले तिनीहरूलाई सम्झनलाई पनि हामी तिमीहरूलाई आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो । 14 भाइहरू हो, हामी तिमीहरूलाई आग्रह गर्छौंः गोलमाल गर्नेहरूलाई चेतावनी देआे, निरुत्साहित भएकाहरूलाई उत्साह देआे, कमजोरलाई सहायता गर र सबैसँग धैर्यवान् हाेआे। 15 हेर, कसैले खराबीको बदला खराबी नगरोस्, बरु एक अर्कालाई र सबैलाई असल गर्ने प्रयत्‍न गर । 16 सदैव आनन्द गर । 17 नरोकी प्रार्थना गरिरहो । 18 हरेक कुरामा धन्यवाद देओ । किनकि यो तिमीहरूको निम्ति ख्रीष्‍ट येशूमा परमेश्‍वरको इच्छा हो । 19 पवित्र आत्मालाई ननिभाओ । 20 अगमवाणीहरूलाई अवहेलना नगर । 21 सबै कुराको जाँच गर । जे असल छ त्यसमा लागिरहो । 22 सबै किसिमको खराबीलाई टाढै बस । 23 शान्तिका परमेश्‍वरले तिमीहरूलाई पूर्ण रूपमा पवित्र पारून् । र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा दोषरहित राखून् । 24 तिमीहरूलाई बोलाउनुहुने विश्‍वासयोग्य हुनुहुन्छ, जसले यो पनि गर्नुहुनेछ । 25 भाइहरू हो, हाम्रो निम्ति पनि प्रार्थना गर । 26 सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर । 27 म प्रभुद्वारा तिमीहरूलाई बिन्ती गर्छु, कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस् । 28 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस् ।