अध्याय ४

1 प्रिय हो, हरेक आत्मालाई विश्‍वास नगर । बरु, ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झूटा अगमवक्‍ताहरू संसारमा निस्कि आइसकेका छन् । 2 यसैद्वारा तिमीहरूले परमेश्‍वरको आत्मालाई चिन्‍नेछौ—येशू ख्रीष्‍ट शरीरमा आउनुभयो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्‍वरबाटको हो, 3 अनि येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्‍वरबाटको होइन । यो ख्रीष्‍ट विरोधीको आत्मा हो, जुन तिमीहरूले आउँदैछ भनी सुनेका छौ, र अब त्यो यस संसारमा अगिदेखि नै छ । 4 बालकहरू हो, तिमीहरू परमेश्‍वरबाटका हौ, र तिनीहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ । 5 तिनीहरू संसारबाटका हुन्; यसकारण तिनीहरूले भनेका कुराहरू संसारबाटकै हुन्, र संसारले तिनीहरूको कुरा सुन्छ । 6 हामी परमेश्‍वरबाटका हौं । जसले परमेश्‍वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्‍वरबाटको होइन, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौं । 7 प्रिय हो, हामी एकले अर्कालाई प्रेम गरौं, किनकि प्रेम परमेश्‍वरबाटको हो, र हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो र त्यसले परमेश्‍वरलाई चिन्छ । 8 जसले प्रेम गर्दैन, त्यसले परमेश्‍वरलाई चिन्दैन, किनकि परमेश्‍वर प्रेम हुनुहुन्छ । 9 यसैकारण परमेश्‍वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि परमेश्‍वरले आफ्नो एक मात्र पुत्र संसारमा पठाउनुभएको छ ताकि हामी उहाँको कारणले जिउन सकौं । 10 प्रेम यसैमा छ, हामीले परमेश्‍वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्‍चित्त हुनलाई उहाँले आफ्नो पुत्र पठाउनुभयो । 11 प्रिय हो, परमेश्‍वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ । 12 परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्‍वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ । 13 यसैद्वारा हामी जान्दछौं, कि हामी उहाँमा रहन्छौं र उहाँ हामीमा रहनुहुन्छ, किनभने उहाँले हामीलाई उहाँका आत्माको केही भाग दिनुभएको छ । 14 साथै, हामीले देखेका छौं र गवाही दिएका छौं, कि पिताले संसारको मुक्‍तिदाता हुन पुत्रलाई पठाउनुभएको छ । 15 जसले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, परमेश्‍वर त्यसमा रहनुहुन्छ र त्यो परमेश्‍वरमा रहन्छ । 16 साथै हामीप्रति परमेश्‍वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौं र विश्‍वास गरेका छौं । परमेश्‍वर प्रेम हुनुहुन्छ, र जो यस प्रेममा रहन्छ, त्यो परमेश्‍वरमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनुहुन्छ । 17 यसैकारण न्यायको दिनमा हामीमा द‍ृढता होस् भनेर प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौं । 18 प्रेममा कुनै डर हुँदैन । बरु सिद्ध प्रेमले डरलाई हटाउँछ, किनभने डरले दण्डसँग सरोकार राख्छ । तर जो डराउँछ, त्यो प्रेममा सिद्ध बनाइएको हुँदैन । 19 हामी प्रेम गर्छौं, किनभने परमेश्‍वरले हामीलाई पहिले प्रेम गर्नुभयो । 20 कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो । किनकि जसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यसले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन । 21 साथै, उहाँबाटको यो आज्ञा हामीसँग छः कि जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ ।