अध्याय ३

1 हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्तान भनिनुपर्छ, र हामी यही हौं । यसैकारण संसारले हामीलाई चिन्दैन, किनभने यसले उहाँलाई चिनेन । 1 2 प्रिय हो, अब हामी परमेश्‍वरका सन्तानहरू हौं, र हामी के हुनेछौं भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौं, कि जब ख्रीष्‍ट देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौं, किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौं । 3 उहाँमा यो आशा राख्‍ने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ । 4 पाप गर्ने हरेकले दुष्‍ट कार्यहरू गर्दैछन्, किनकि पाप दुष्‍टता हो । । 5 पापहरू हटाई लानलाई नै ख्रीष्‍ट प्रकट हुनुभयो भन्‍ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन । 6 उहाँमा रहने कसैले पाप गरिरहँदैन । पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ । 7 बालकहरू हो, कसैलाई पनि तिमीहरूलाई बहकाउन नदेओ । जस्तो ख्रीष्‍ट धर्मी हुनुहुन्छ त्यसरी नै धार्मिकताको काम गर्ने धर्मी हुन्छ । 8 जसले पाप गर्छ, त्यो शैतानको हो, किनकि शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण परमेश्‍वरका पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् । 9 जो परमेश्‍वरबाट जन्मेको छ गरिरँहदैन, किनभने परमेश्‍वरको बीउ त्यसमा रहन्छ । त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्‍वरबाट जन्मेको हो । 10 यसैमा परमेश्‍वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन्ः जसले धार्मिकताको काम गर्दैन त्यो परमेश्‍वरको होइन, न त आफ्नो भाइलाई प्रेम नगर्ने नै हो । 11 किनकि तिमीहरूले सुरुदेखि सुनेको सन्देश यही नै होः  हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ । 12 हामी कयिनजस्तो हनुहुँदैन जो दुष्‍टको थियो र आफ्नो भाइको हत्या गर्‍यो । त्यसले आफ्नो भाइलाई किन मार्‍यो? किनभने त्यसका कामहरू दुष्‍ट थिए र त्यसको भाइका धार्मिक थिए । 13 मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान । 14 हामी जान्दछौं, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौं, किनभने हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ । 15 जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन । 16 यसैद्वारा हामी प्रेम थाहा पाउँछौं, किनभने ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ । 17 तर जससँग संसारका थोकहरू छन्, जसले आफ्नो भाइ खाँचोमा परेको देखेर पनि त्यसबाट आफ्नो दयाको हृदय बन्द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्यसमा रहन्छ? 18 मेरा बालकहरू हो, हामी वचन र मुखले मात्र प्रेम नगरौं, तर कामले र सत्यताले प्रेम गरौं । 19 यसैद्वारा हामी सत्यका हौं भन्‍ने जान्दछौं र हाम्रो हृदयलाई उहाँको सामुन्‍ने निश्‍चय गर्छौं । 20 किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्‍नुहुन्छ । 21 प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिंदैन भने हामी परमेश्‍वरप्रति द‍ृढ छौं । 22 हामीले जे माग्छौं त्यो हामी उहाँबाट पाउँछौं, किनभने हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको द‍ृष्‍टिमा असल हुने थोकहरू गर्छौं । 23 यो उहाँको आज्ञा होः कि हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो । 24 जसले परमेश्‍वरका आज्ञाहरू पालन गर्छ, त्यो उहाँमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनुहुन्छ । यसैद्वारा हामी जान्दछौ, कि उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्छ ।

1केही महत्वपूर्ण र प्राचीन प्रतिलिपिहरूमा हामी यही हौं छैन ।