11 1 अब विश्‍वासचाहिं आशा गरिएका कुराहरूको बारेमा भएको निश्‍चयता हो र नदेखिएका कुराहरूको बारेमा निश्‍चित हुनु हो । 2 किनकि हाम्रा पुर्खाहरू तिनीहरूको विश्‍वासका निम्ति यसरी नै प्रमाणित भएका थिए । 3 विश्‍वासद्वारा हामी बुझ्‍न सक्छौं, कि सारा विश्‍व परमेश्‍वरको आज्ञाद्वारा सृष्‍टि भएको थियो । त्यसकारण, जे देखिन्छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन् । 4 विश्‍वासद्वारा नै हाबिलले परमेश्‍वरलाई कयिनले भन्दा उत्तम बलिदान चढाए, जसद्वारा तिनी धर्मी हुन पुगे र तिनको भेटीको कारणले परमेश्‍वरले तिनलाई समर्थन गर्नुभयो र विश्‍वासद्वारा हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन् । 5 विश्‍वासद्वारा नै हनोक माथि उठाई लगिए र तिनले मृत्यु देखेनन् । “तिनी भेटिएनन्, किनभने परमेश्‍वरले तिनलाई उठाउनुभयो ।” किनकि तिनी उठाइनुभन्दाअघि तिनले परमेश्‍वरलाई प्रसन्‍न पारेको प्रमाणित भएको थियो । 6 अब विनाविश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्भव छ । किनकि जो परमेश्‍वरकहाँ आउँछ त्यसले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँ इनाम दिने हुनुहुन्‍छ भनी विश्‍वास गर्नुपर्छ । 7 विश्‍वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्‍वरीय सन्देश दिइएको थियो । तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाएर आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्‍वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए । 8 अब्राहामलाई बोलाइँदा विश्‍वासद्वारा नै तिनले आज्ञापालन गरे र तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए । आफू कहाँ जाँदैछु भन्‍ने कुरा थाहै नपाए तापनि तिनी गए । 9 तिनी विश्‍वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीहरू, इसहाक र याकूबसँग बसे । 10 किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्‍वर हुनुहुन्छ । 11 सारा बाँझी भए तापनि तिनले गर्भधारण गर्ने शक्‍ति विश्‍वासद्वारा नै प्राप्‍त गरिन् । तिनी एकदमै वृद्ध भइसक्दा पनि यसो भएको थियो, किनकि तिनीले प्रतिज्ञा दिनुहुनेलाई विश्‍वासयोग्य ठानिन् । 12 त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट—आकाशका असङ्ख्य ताराहरू र समुद्री किनारका अनगिन्‍ती बालुवासरह सन्तानहरू जन्मिए । 13 विश्‍वासमा नै प्रतिज्ञाहरू प्राप्‍त नगरिकनै यी सबै मरे । बरू तिनीहरूले ती टाढैबाट देखे र स्वागत गरे, अनि पृथ्वीमा तिनीहरू परदेशी र निर्वासितहरू मात्र हुन् भन्‍ने कुरा स्वीकार गरे । 14 किनकि जसले यस्ता कुराहरू भन्छन् तिनीहरूले एउटा स्वदेश खोजिरहेका छन् भन्‍ने कुरा स्पष्‍ट हुन्छ । 15 यदि तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए । 16 तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण परमेश्‍वर तिनीहरूका परमेश्‍वर कहलाइनुहुन लजाउनुहुन्‍न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ । 17 आफ्नो जाँच हुँदा विश्‍वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए । बलि चढाएका तिनी, तिनका एक मात्र छोरा थिए जसले प्रतिज्ञाहरू प्राप्‍त गरेका थिए । 18 यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरा सन्तानहरूको नाउँ रहनेछ ।” 19 परमेश्‍वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्‍नुहुने थियो भन्‍ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्‍नुपर्दा तिनले तिनीहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए । 20 आउन लागेका थोकहरूको बारेमा इसहाकले विश्‍वासद्वारा नै याकूब र एसावलाई आशिष्‌ दिए । 21 याकूब मर्नै लागेका बेलामा विश्‍वासद्वारा नै तिनले योसेफका प्रत्‍येक छोराहरूलाई आशिष्‌‌ दिए । लौरोको टुप्पोमा अडेस लागेर याकूबले आराधना गरे । 22 योसेफको अन्त्य नजिकिँदा विश्‍वासद्वारा नै तिनले मिश्रबाट इस्राएलीहरू प्रस्थान हुने विषयमा बोले र तिनका अस्थिहरूको बारेमा तिनीहरूलाई आदेश दिए । 23 मोशा जन्मँदा तिनी सुन्दर भएको कारणले गर्दा तिनका आमाबुबाले विश्‍वासद्वारा नै तिनलाई तीन महिनासम्म लुकाएर राखे । तिनीहरू राजाको आदेशसित डराएनन् । 24 मोशा हुर्केपछि विश्‍वासद्वारा नै तिनले फारोकी छोरीको छोरा कहलाईनलाई इन्कार गरे । 25 तिनले पापको क्षणिक सुख भोग्‍नुभन्दा बरु परमेश्‍वरका मानिसहरूसँगै दुःख भोग्‍ने कुरालाई छाने । 26 मिश्रको सम्‍पत्तिमा भन्दा ख्रीष्‍टलाई पछ्‍याउँदा सहनुपर्ने अपमानलाई नै तिनले बहुमूल्यको ठाने । किनकि तिनले आफ्ना आँखालाई इनाममाथि केन्द्रित गरिरहेका थिए । 27 विश्‍वासद्वारा नै मोशाले मिश्रदेश छोडे । उनी राजाको क्रोधदेखि डराएनन्, किनकि एक जो अद‍ृश्यलाई देखेजस्तै गरी तिनले सहिरहे । 28 जेष्‍ठ सन्‍तान नाश गर्नेले इस्राएलीहरूका जेठा छोराहरूलाई छुन नसकोस् भनी विश्‍वासद्वारा नै तिनले निस्तार-चाड र रगतको छिट्काउको पालन गरे । 29 विश्‍वासद्वारा नै तिनीहरूले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे । जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबे । 30 तिनीहरूले सात दिनसम्म यरीहो पर्खालको वरिपरि घुमेपछि विश्‍वासद्वारा नै यो ढल्यो । 31 राहाब वेश्याले विश्‍वासद्वारा नै जासुसहरूलाई शान्तिसाथ सत्कार गरेकी हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्‍ट भइनन् । 32 अनि योभन्दा बढी म के भनौं? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्‍ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्‍नेछेैन । 33 विश्‍वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे, र प्रतिज्ञाहरू प्राप्‍त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए, 34 आगोको ज्वालालाई निभाए, तरवारको धारबाट भागे, रोगहरूबाट निको पारिए, युद्धमा शक्‍तिशाली भए, र विदेशी सेनाहरूलाई हराए । 35 स्‍‍‍‍त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्‍त गरे । अरूहरूले छुटकारालाई स्वीकार नगरी यातना भोगे ताकि तिनीहरूले अझ उत्तम पुनरुत्थान अनुभव गर्न सकून् । 36 अरूहरूले निन्दा, कोर्रा, साङ्‌ला र कैदजस्ता आदि कुराहरू सहे । 37 तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्‍यो । तिनीहरूले गरीबी, थिचोमिचो, दूरव्‍यवहार सहे । 1 38 यो संसार तिनीहरूका लागि योग्य थिएन । तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर सधैैं डुलिरहे । 39 यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्‍वासको कारण परमेश्‍वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गरेनन् । 40 परमेश्‍वरले हाम्रा लागि अझ उत्तम कुरा योजना गरिदिनुभयो ताकि हामीविना तिनीहरू सिद्ध नहोऊन् ।

1केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुनेगरी चिरियो । तिनीहरूलाई परीक्षा गरियो । तिनीहरूलाई तरवारले मारियो