1 1 प्राचीन कालमा परमेश्‍वर विभिन्‍न समयमा विभिन्‍न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्‍ताहरूद्वारा बोल्नुभयो । 2 तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्‍नुभएको छ, जसलाई उहाँले सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गर्नुभयो । परमेश्‍वरले उहाँद्वारा नै जगत् पनि बनाउनुभयो । 3 उहाँ नै परमेश्‍वरको महिमाको चमक,उहाँको स्वभावको सही प्रतिनिधि हुनुहुन्छ। आफ्नो शक्‍तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्‍नुभएको छ । उहाँले पापको शुद्धि गर्नुभएपछि उहाँ उच्‍च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभयो । 4 जसरी उहाँ स्वर्गदूतहरूभन्दा महान् हुनुभएको छ,त्यसरी नै जुन नाउँ उहाँले प्राप्‍त गर्नुभएको छ, त्यो तिनीहरूको नाउँभन्दा उत्तम छ । 5 किनकि स्वर्गदूतहरूमध्ये कसलाई परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभयो र, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु?” वा कुन स्वर्गदूतलाई परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभयो, “म उनका लागि पिता हुनेछु, र उनी मेरा लागि पुत्र हुनेछन्?” 6 तर फेरि,परमेश्‍वरले पहिले जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्छ, “परमेश्‍वरका सबै स्वर्गदूतहरूले उहाँलाई आराधना गर्नैपर्छ ।” 7 स्वर्गदूतहरूका विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “उहाँ जसले आफ्ना स्वर्गदूतहरूलाई बतास र आफ्ना सेवकहरूलाई आगोको ज्वाला तुल्याउनुहुन्छ।” 8 तर पुत्रको विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सधैंभरि रहिरहने छ । तपाईंको राज्यको राजदण्ड नै न्यायको राजदण्ड हो । 9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ र अधर्मलाई घृणा गर्नुभएको छ । यसकारण हे परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंका साथीहरूलाई भन्दा बढी तपाईंलाई आनन्दको तेलले अभिषेक गर्नुभएको छ।” 10 “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् । 11 तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू सबै कपडाको टुक्राझैँ झुत्रा हुनेछन् । 12 तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ फेरिनेछन् । तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य हुँदैन ।” 13 तर कुनचाहिँ स्वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै यस्तो भन्‍नुभएको छ, “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ ?” 14 के सबै स्वर्गदूतहरू सेवा गर्ने, र मुक्‍ति पाउनेहरूको वास्ता गर्न पठाइएका आत्माहरू होइनन् र?