अध्याय १

1 पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित, ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार, 2 प्रिय बालक तिमोथीलाईः पिता परमेश्‍वर र हाम्रा प्रभु ख्रीष्‍ट येशूको अनुग्रह, कृपा र शान्ति । 3 मैले दिन-रात तिमीलाई निरन्तर मेरो प्रार्थनामा सम्झिरहँदा म परमेश्‍वरलाई धन्यवाद चढाँउछु, जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्छु । 4 तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ । 5 मलाई तिम्रो साँचो विश्‍वासको सम्झना भएको छ जुन सर्वप्रथम तिम्री हजुरआमा लोइस र तिम्री आमा युनिसमा थियो र त्यो तिमीमा पनि छ भन्‍ने कुरामा म विश्‍वस्त छु । 6 यही कारणले गर्दा मैले तिमीमाथि हात राखेर तिमीले प्राप्‍त गरेको परमेश्‍वरको वरदानलाई फेरि प्रज्वलित पार भनी म तिमीलाई सम्झना गराउँदैछु । 7 किनकि परमेश्‍वरले हामीलाई डरको आत्मा होइन तर शक्‍ति र प्रेम र अनुशासनको आत्मा दिनुभयो । 8 तब हाम्रा प्रभुको बारेमा गवाही दिन नशर्माऊ, न मेरो बारेमा, म पावल उहाँका एक कैदी हुँ । बरु, परमेश्‍वरको शक्‍तिअनुसार सुसमाचारको खातिर कष्‍टमा सहभागी होओ । 9 उहाँ परमेश्‍वर हुनुहुन्छ जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो । उहाँले हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार यसो गर्नुभयो । उहाँले यी कुराहरू हामीलाई ख्रीष्‍ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभयो । 10 तर अहिले हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको आगमनद्वारा परमेश्‍वरको मुक्ति प्रकट गरिएको छ ।उहाँ ख्रीष्‍ट हुनुहुन्छ जसले मृत्युलाई नाश पार्नुभयो र सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो । 11 त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्‍त भएको थिएँ । 1 12 यसको निम्ति म पनि सतावटमा परेको छु । तर म शर्माऊँदिनँ, किनकि म उहाँलाई जान्दछु जसलाई मैले विश्‍वास गरेको छु । म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍न सक्नुहुन्छ । 13 ख्रीष्‍ट येशूको विश्‍वास र प्रेममा तिमीले मबाट सुनेको असल शिक्षाको अनुसरण गर । 14 जुन-जुन असल कुराहरू परमेश्‍वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख । 15 तिमीलाई यो थाहा छ, कि एसियामा हुनेहरू सबै मबाट तर्केर गएका छन् । यो समूहमा फुगेलस र हर्मोगेनस पर्छन् । 16 प्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले प्रायःजसो मलाई उत्साह दिए र मेरा साङ्लाहरूको शर्म मानेनन् । 17 बरु जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए । 18 त्यस दिनमा प्रभुले उहाँबाट तिनलाई कृपा प्रदान गर्नुभएको होस् । तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।

1केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, गैर-यहूदीहरूको लागि