अध्याय २

1 भाइहरू हो, तिमीहरू आफैलाई थाहा छ कि तिमीहरूमा हाम्रो आगमन बेकम्मा थिएन, 2 तर तिमीहरूलाई थाहा छ, हामीले पहिला नै कष्‍ट भोग्यौं र फिलिप्पिमा हामीलाई निर्लज्जपूर्वक व्यवहार गरियो । हामी ठुलो विवादको बिचमा पनि तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बताउन परमेश्‍वरमा साहसी भयौं । 3 किनभने हाम्रो उपदेश गलत कुराबाट होइन न त अशुद्ध, न छलबाट नै आएको हो, 4 तर जसरी परमेश्‍वरले हामीहरूलाई सुसमाचार सुम्पिएको व्यक्तिको रूपमा स्वीकृति दिनुभएको छ, त्यसैले हामी मानिसलाई होइन तर हाम्रो हृदय जाँच्‍नुहुने परमेश्‍वरलाई खुसी पार्नलाई बोल्छौं । 5 तिमीहरूलाई थाहा छ र परमेश्‍वर पनि साक्षी हुनुहुन्छ कि हामीले कुनै पनि बेला चाप्लुसी गरेनौं, न त लोभको निम्ति बहाना नै बनायौं, 6 न त हामीले मानिसहरूबाट महिमा खोज्यौं, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्‍टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौं । 7 यसको सट्टा हामीहरू तिमीहरूका माझमा एउटा आमाले आफ्ना बाल बच्‍चालाई सान्त्वना दिएजस्तै भद्र भयौं । 8 यसरी तिमीहरूप्रति हाम्रो गहिरो प्रेम थियो, हामी तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बाँड्न मात्र होइन, तर हाम्रो जीवन बाँड्न पनि खुसी थियौं किनकि तिमीहरू हाम्रो निम्ति अति प्रिय भएका छौ । 9 किनभने भाइहरू हो, तिमीहरूलाई हाम्रो परिश्रम र काम याद छ, कि हामीले तिमीहरूलाई परमेश्‍वरको सुसमाचार प्रचार गर्दै हामी तिमीहरू कसैलाई बोझ नबनौं भनेर हामीले दिनरात काम गर्‍यौं । 10 हामीले तिमीहरू विश्‍वास गर्नेहरूसित कति पवित्रता, धार्मिकता र कपटरहित व्यवहार गर्‍यौं भन्‍ने कुराको साक्षी तिमीहरू छौ र परमेश्‍वर पनि हुनुहुन्छ, 11 तिमीहरूलाई पनि थाहा छ, कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैं तिमीहरूलाई उत्साह, सान्त्वना दियौं र गवाही दियौं, 12 कि तिमीहरू परमेश्‍वरको योग्यको भएर हिँड्न सक जसले तिमीहरूलाई उहाँको राज्य र महिमामा बोलाउनुहुन्छ । 13 यही कारणको निम्ति हामी परमेश्‍वरलाई निरन्तर धन्यवाद दिन्छौं । किनकि तिमीहरूले जब हामीबाट परमेश्‍वरको सन्देशको वचन पायौ तिमीहरूले मानिसको वचनको रूपमा मात्र ग्रहण गरेनौ, तर साँच्‍चै परमेश्‍वरको वचनको रूपमा नै ग्रहण गर्‍यौ, जुन वचनले विश्वास गर्नेहरूमा पनि काम गर्छ । 14 किनभने भाइहरू हो, तिमीहरू ख्रीष्‍ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्‍वरको मण्डलीको नक्‍कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाएजस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ । 15 जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् । 16 तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ । 17 भाइहरू हो, हामीहरू छोटो समयको निम्ति हृदयमा होइन, तर उपस्थितिमा छुट्‌ट्याइएका थियौं र हामीले तिमीहरूलाई भेट गर्नलाई सक्दो तीव्र इच्छा गर्‍यौं । 18 किनभने हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौं । म पावलले बारम्बार कोसिस गरें, तर शैतानले हामीलाई बाधा दियो । 19 किनभने हाम्रा प्रभु येशूको आगमनमा उहाँको सामु हाम्रो भविष्यको निम्ति दृढ आनन्द वा महिमाको मुकुट अरूहरू जति नै तिमीहरू नै होइनौ र ? 20 किनभने तिमीहरू हाम्रो महिमा र आनन्द हौ ।