अध्याय ७

1 इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन । 2 किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ । 3 र किन तिमीहरूले आफ्नो भाइको आँखामा भएको परालको सानो टुक्रा देख्छौ, तर आफ्नै आँखामा भएको मुढालाई तिमीहरू ख्याल गर्दैनौ? 4 तिमीले आफ्नो भाइलाई, ‘मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ’ भनेर कसरी भन्‍न सक्छौ, जब कि मुढाचाहिं तिम्रो आफ्नै आँखामा छ? 5 ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्‍टसँग देख्‍न सक्नेछौ ।

6 जे कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ, र आफ्ना मोतीहरू सुङ्गुरहरूको अगाडि नफाल । नत्रता तिनीहरूले त्यसलाई खुट्टाले कुल्चेलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान् ।

7 माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ । 8 किनकि माग्‍ने सबैले पाउँछन्; खोज्‍‍ने सबैले भेट्टाउँछन्; र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ ।

9 वा तिमीहरूमध्ये कसले आफ्नो छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा दिनेछ? 10 वा त्यसले माछा माग्दा त्यसलाई सर्प दिनेछ? 11 यसकारण तिमीहरू दुष्‍ट भएर पनि आफ्ना छोराछोरीलाई कसरी असल थोक दिने भनी जान्दछौ भने, तिमीहरूका स्वर्गमा हुनुहुने पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ्ता गरेर दिनुहुनेछ?

12 त्यसकारण मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ, किनभने यो नै व्यवस्था र अगमवक्‍ताहरूको शिक्षा हो ।

13 साँघुरो ढोकाबाट भित्र पस । किनभने विनाशमा पुर्‍याउने ढोका चौडा हुन्छ र बाटो फराकिलो हुन्छ, र त्यस बाटोबाट जाने मानिसहरू धेरै छन् । 14 किनकि जीवनमा डोर्‍याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, र त्यो भेट्टाउने थोरै मात्र छन् ।

15 झूटा अगमवक्‍ताहरूदेखि होसियार बस, जो भेडाको भेषमा आउँदछन्, तर वास्तवमा तिनीहरू भोका ब्‍वाँसाहरू हुन् । 16 तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ । के मानिसहरूले काँढाको झाडीबाट अङ्‍गूर वा काँढाको बिरुवाबाट अन्जीर बटुल्छन् र? 17 यसरी नै हरेक असल रूखले असलै फल फलाउँछ, तर खराब रूखले खराबै फल फलाउँछ । 18 एउटा असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल नै फलाउन सक्छ । 19 हरेक रूख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ । 20 यसकारण तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ ।

21 ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ । 22 त्यस दिन धेरै मानिसले मलाई भन्‍नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेनौं?, के तपाईंको नाउँमा भूतहरू धपाएनौं? र तपाईंको नाउँमा धेरै शक्‍तिशाली कामहरू गरेनौं र?’ 23 तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ! ए दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल्!’

24 त्यसकारण हरेक जसले मेरा वचनहरू सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो । 25 पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो । 26 तर हरेक जसले मेरा वचन सुन्छ र पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो । 27 पानी परेर बाढी आयो, र हुरी आयो अनि त्यस घरलाई हान्यो, र त्यो ढल्यो र पूर्णरूपमा नष्‍ट भयो ।”

28 जब येशूले यी वचन भनेर सक्‍नुभयो, भीड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो, 29 किनकि उहाँले तिनीहरूका शास्‍‍त्रीहरूले जस्तो गरी होइन, तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो ।