अध्याय २७

1 अब जब बिहान भयो, सबै मुख्य पूजाहारीहरू र मानिसका धर्म‍-गुरुहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्‍यन्‍‍त्र रचे । 2 तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए ।

3 त्यसपछि जब उहाँलाई पक्राउने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्यसलाई पछुतो लाग्यो र मुख्य पूजाहारीहरू र धर्म‍-गुरुहरूलाई ती चाँदीका तीसवटा सिक्‍का फर्काइदियो, 4 र भन्यो, “मैले निर्दोष मानिसलाई पक्राइदिएर दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार? तिमी आफैं जान ।” 5 अनि त्यसले ती चाँदीका सिक्‍काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो र झुण्डिएर मर्‍यो ।

6 ती मुख्य पूजाहारीहरूले ती चाँदीका सिक्‍काहरू लिए र भने, “यसलाई ढुकुटीमा राख्‍न न्यायसङ्गत हुँदैन, किनकि यो रगतको मोल हो ।” 7 तिनीहरूले आपसमा यसबारे छलफल गरे र त्यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने । 8 यही कारणले त्यस जमिनलाई आजको दिनसम्‍म पनि “रगतको जमिन” भनिन्‍छ ।

9 यसरी यर्मिया अगमवक्‍ताले भनेका वचन पूरा भयो, “इस्राएलका मानिसहरूले उहाँको निम्ति तोकेका मूल्‍य अर्थात् चाँदीका तीसवटा सिक्‍का तिनीहरूले लिए, 10 र परमप्रभुले मलाई निर्देशन दिनुभएअनुसार तिनीहरूले कुमालेको जमिनको निम्ति त्यो दिए ।”

11 अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्‍नुहुन्छ?”

12 तर जब मुख्य पूजाहारीहरू र धर्म‍-गुरुहरूद्वारा उहाँलाई दोष लगाइयो, उहाँले केही जवाफ दिनुभएन ।

13 अनि पिलातसले उहाँलाई भने, “के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुन्दैनौ?” 14 तर उहाँले एउटै पनि जवाफ दिनुभएन । त्यसकारण ती हाकिम बडो आश्‍चर्यचकित भए ।

15 अब चाडको दिनमा भीडद्वारा चुनिएको एक जना कैदीलाई छोडिदिने हाकिमको प्रथा थियो । 16 त्यस समयमा तिनीहरूसँग बारब्बा नाम गरेको एउटा कुख्यात कैदी थियो ।

17 त्यसैले जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ? बारब्बा कि येशू जसलाई ख्रीष्‍ट भनिन्छ?” 18 किनकि तिनलाई थाहा थियो, कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए ।

19 जब तिनी न्यायकर्ताको आसनमा बसिरहेका थिए, तिनकी पत्‍नीले तिनलाई सन्देश पठाइन् र भनिन्, “ती निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि तिनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु ।”

20 तब मुख्य पूजाहारीहरू र धर्म‍-गुरुहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भीडलाई राजी गराए । 21 ती हाकिमले तिनीहरूलाई सोधे, “यी दुईमध्ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “बारब्बा ।”

22 पिलातसले तिनीहरूलाई भने, “ख्रीष्‍ट भनिने येशूलाई चाहिं म के गरूँ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रूसमा झुन्ड्‍याउनुहोस् ।” 23 र तिनले भने, “किन? तिनले के अपराध गरेका छन्?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रूसमा झुन्ड्‍याउनुहोस् ।”

24 जब पिलातसले आफूले केही गर्न नसक्‍ने देखे, बरु खैलाबैला मच्‍चिन लागेको थाहा पाएर, तिनले पानी लिई भीडको सामु आफ्ना हात धोए र भने, “यी मानिसको रगतदेखि म निर्दोष छु । तिमीहरू आफैं जान ।”

25 सबै मानिसले भने, “तिनको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।” 26 अनि तिनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर तिनले येशूलाई कोर्रा लगाए र क्रूसमा झुन्ड्‍याउनुको निम्ति सुम्पिदिए ।

27 अनि ती हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे र सिपाहीहरूको सारा पल्टनलाई भेला गराए । 28 तिनीहरूले उहाँको वस्‍‍त्र खोलिदिए र तिनलाई लाल वस्‍‍त्र लगाइदिए । 29 तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, “यहूदीहरूका राजालाई जय होस्!” 30 तिनीहरूले उहाँलाई थुके र तिनीहरूले लौरो लिए र उहाँको शिरमा हिर्काए । 31 तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्‍‍त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रूसमा झुन्ड्‍याउन त्यहाँबाट लगे ।

32 जब तिनीहरू बाहिर आए, तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एक जना मानिसलाई भेट्टाए, जसलाई आफूहरूसँग जान तिनीहरूले कर गरे ताकि त्यसले उहाँको क्रूस बोकोस् । 33 तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसको अर्थ “खोपडीको स्थान” हो । 34 तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए । तर जब उहाँले त्यो चाख्‍नुभयो, उहाँले त्यो पिउनुभएन । 35 जब तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍‍त्रहरूलाई भाग लगाए । 36 अनि तिनीहरू बसे र उहाँलाई पहरा दिए । 37 उहाँको शिरदेखि मास्तिर यसो भनिएको अभियोग टाँसिदिए, “यी यहूदीहरूका राजा येशू हुन् ।” 38 दुई जना डाँकू उहाँसँगै क्रूसमा टाँगिएका थिए, एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि ।” 39 जो त्यो बाटो भएर जान्थे, तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे, 40 “तँ जसले मन्दिरलाई भत्काएर तीन दिनमा बनाउन गइरहेको थिइस्, आफैंलाई बचा! यदि तँ परमेश्‍वरका पुत्र होस् भने, क्रूसबाट ओर्लेर तल आइज!”

41 यसरी नै मुख्य पूजाहारीहरूले पनि शास्‍‍त्रीहरू र धर्म‍-गुरुहरूसँगसँगै उहाँको गिल्ला गरे र भने, 42 “यसले अरूहरूलाई बचायो, तर आफैंलाई भने बचाउन सक्दैन । यो इस्राएलको राजा हो । यो अब क्रूसबाट तल आओस्, र हामी त्यसमाथि विश्‍वास गर्नेछौं । 43 यसले परमेश्‍वरमा विश्‍वास गर्छ र परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले नै यसलाई बचाऊन्, किनकि यसले यस्तो भनेको थियो, ‘म परमेश्‍वरका पुत्र हुँ ।’” 44 र उहाँसँगै क्रूसमा टाँगिएका डाँकूहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे ।

45 अब मध्यान्‍नदेखि दिउँसो तीन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो । 46 तीन बजे येशू ठुलो स्वरले कराउनुभयो र भन्‍नुभयो, “इलोई, इलोई लामा सबखथनी?” जसको अर्थ हो, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको छ?” 47 जब त्यहाँ उभिरहेकाहरूमध्ये केहीले यो सुनेर भने, “यसले एलियालाई बोलाउँदैछ ।” 48 झट्टै तिनीहरूमध्ये एक जना दौडेर गयो र एउटा स्पन्ज लियो, त्यसलाई अमिलो दाखमद्यले भर्‍यो, त्यसलाई निगालोमा राखी उहाँलाई पिउन दियो ।

49 तिनीहरूमध्ये बाँकीकाहरूले चाहिं भने, “यसलाई एक्लै छोडिदेऊ । यसलाई बचाउन एलिया आउँछन् कि आउँदैनन्, हेरौं ।” 50 त्यसपछि येशू फेरि ठुलो स्वरले कराउनुभयो र आफ्नो प्राण त्याग्‍नुभयो । 51 हेर, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो । र पृथ्वी हल्लियो र चट्टानहरू टुक्रिए । 52 चिहानहरू उघारिए, र सुतिगएका पवित्र जनहरूका शरीरहरू बिउँताइए । 53 उहाँको पुनरुत्थानपछि तिनीहरू चिहानबाट बाहिर निस्के, पवित्र सहरमा प्रवेश गरे, र धेरैका कहाँ देखा परे ।

54 अब जब कप्‍तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ घटेका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्‍चै यिनी त परमेश्‍वरका पुत्र रहेछन् ।”

55 गालीलबाट येशूको हेरचाह गर्न उहाँलाई पछ्याइरहेका धेरै स्‍‍त्रीहरूले टाढाबाट त्यो हेरिरहेका थिए । 56 तिनीहरूमध्ये मरियम मग्दलिनी, याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए ।

57 जब साँझ पर्‍यो, अरिमाथियाबाट एक जना धनी मानिस आए, जसको नाम योसेफ थियो, जो आफैं पनि येशूका चेला थिए । 58 तिनी पिलातसकहाँ गए र तिनले येशूको शरीर मागे । अनि पिलातसले सो तिनलाई दिइयोस् भनेर आदेश दिए । 59 योसेफले शरीर लिए, र त्यसलाई सफा मलमलको कपडामा बेह्रे, 60 र तिनले आफैंले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे । अनि तिनले चिहानको मुखमा एउटा ठुलो ढुङ्गा गुडाइदिएर तिनी गए । 61 मरियम मग्दिलिनी र अर्की मरियम पनि त्यही चिहानको अर्कोपट्टि बसिरहेका थिए ।

62 अर्को दिन जुन तयारीको दिनको भोलिपल्ट थियो, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातससँग भेला भएका थिए । 63 तिनीहरूले भने, “हजुर, हामीलाई सम्झना छ, कि त्यो ठगाहा जिउँदो हुँदा त्यसले भनेको थियो, ‘तीन दिनपछि म फेरि उठ्नेछु ।’ 64 त्यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस् । नत्रता त्यसका चेलाहरू आउलान् र त्यसलाई चोरेर लगेर मानिसहरूलाई, ‘उहाँ मृतकहरूबाट जीवित हुनुभएको छ' भन्लान् ।’ अनि यो अन्तिम धोका पहिलेको भन्दा झन् नराम्रो हुनेछ ।”

65 पिलातसले तिनीहरूलाई भने, “पहरेदार लेऊ । जाओ, त्यसलाई तिमीहरूले सकेसम्म सुरक्षित राख ।” 66 त्यसैले तिनीहरू गए र ढुङ्गामा मोहर लगाए र पहरेदारहरू खटाएर चिहानलाई सुरक्षित राखे ।