अध्याय २५
1
तब स्वर्गको राज्य ती दस कन्याजस्तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए ।
2
तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए ।
3
किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् ।
4
तर बुद्धिमती कन्याहरूले बत्तीहरूसँगै आ-आफ्ना भाँडाहरूमा तेल पनि लगे ।
5
दुलहा आउन ढिला गर्दा तिनीहरू सबै निन्द्रामा परे र सुते ।
6
तर मध्यरातमा एउटा आवाज आयो, ‘हेर दुलहा! बाहिर जाऊ अनि उनलाई भेट ।’
7
त्यसपछि ती सबै कन्या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्क पारे ।
8
निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देओ किनभने हाम्रा बत्तीहरू निभ्न लागेका छन् ।’
9
तर बुद्धिमती कन्याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्त पुग्ने तेल नभएकोले, तेल बेच्नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’
10
जब तिनीहरू तेल किन्न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्द गरियो ।
11
केही समयपछि अरू कन्याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस् ।’
12
तर उनले जवाफ दिएर भने, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ ।’
13
त्यसकारण जागा रहो किनकि त्यो दिन वा घडी तिमीहरूलाई थाहा छैन ।
14
किनकि यो परदेश जानै लागेको मानिसजस्तै हो । तिनले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्पत्तिको जिम्मा दिए ।
15
तिनले तिनीहरूमध्ये एकजनालाई पाँच सिक्का, अर्कोलाई दुई सिक्का र फेरि अर्कोलाई एक सिक्का दिए । प्रत्येकले आफ्ना क्षमताअनुसार रकम पाए र ती मानिस आफ्नो यात्रामा हिंडे ।
16
पाँच सिक्का पाउने तुरुन्तै गयो र त्यसले त्यसलाई लगानी गर्यो, र त्यसबाट अर्को पाँच सिक्का कमायो ।
17
त्यसै गरी जसले दुई सिक्का पाएको थियो, त्यसले पनि त्यसबाट अर्को दुई सिक्का कमायो ।
18
तर एउटा मात्र सिक्का पाएको नोकर गयो र त्यसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।
19
अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।
20
पाँच सिक्का पाएको नोकर आयो र त्यसले अर्को पाँच सिक्का ल्यायो । त्यसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँच सिक्का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्को पाँच सिक्का कमाएको छु ।’
21
त्यसको मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासयोग्य नोकर! तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’
22
दुईवटा सिक्का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुई सिक्का दिनुभएको थियो । हेर्नुहोस्, मैले अर्को दुई सिक्का कमाएको छु ।’
23
त्यसको मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासयोग्य नोकर! तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’
24
त्यसपछि एउटा सिक्का पाएको नोकर आयो र भन्यो, ‘मालिक, मलाई थाहा छ कि तपाईं कडा स्वभावको मानिस हुनुहुन्छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ ।
25
मलाई डर लाग्यो, त्यसैले म गएँ र तपाईंको सिक्कालाई जमिनमुनि लुकाइराखें । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’
26
तर त्यसको मालिकले जवाफ दिए र त्यसलाई भने, ‘ए दुष्ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।
27
त्यसकारण तैंले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्याजसहित पाउने थिएँ ।
28
त्यसकारण त्योसँग भएको एक सिक्का लेओ र जुन नोकरसँग दस सिक्का छ त्यसलाई देओ ।
29
किनकि जससँग छ त्यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्यससँग भएको पनि त्यसबाट खोसिनेछ ।
30
त्यो बेकम्मा नोकरलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
31
जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्वर्गदूतहरू आउनेछन्, तब उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।
32
उनको सामुन्ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् ।
33
उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्नेछन् ।
34
त्यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्नेछन्, ‘आओ, तिमीहरू, जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्यलाई अधिकार गर ।
35
किनकि म भोकाएको थिएँ अनि तिमीहरूले मलाई खान दियौ; म तिर्खाएको थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ;
36
म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्ता गर्यौ; म झ्यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’
37
त्यसपछि धर्मी जनहरूले जवाफ दिई भन्नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्यौं र तपाईंलाई खुवायौं? वा तिर्खाउनुभएको देख्यौं र तपाईंलाई पिउन दियौं?
38
र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्यौं र तपाईंलाई भित्र ल्यायौं? अथवा नाङ्गो देख्यौं र पहिराइदियौं?
39
र हामीले तपाईंलाई बिरामी वा झ्यालखानामा कहिले देख्यौं र हामी तपाईंकहाँ आयौं?’
40
तब राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सबैभन्दा सानोलाई जे-जति गर्यौ, त्यो मेरो निम्ति नै गर्यौ ।’
41
त्यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई पनि भन्नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको हो,
42
किनभने म भोकाएको थिएँ तर तिमीहरूले मलाई खान दिएनौ, म तिर्खाएको थिएँ तर तिमीहरूले मलाई पिउन दिएनौ,
43
म परदेशी थिएँ तर तिमीहरूले मलाई भित्र लगेनौ, नाङ्गो थिएँ तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’
44
त्यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्यौं र हामीले तपाईंको सेवा गरेनौं?’
45
अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सबैभन्दा सानोलाई तिमीहरूले जे गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’
46
यिनीहरू अनन्तको दण्डमा जानेछन् तर धर्मीहरूचाहिं अनन्त जीवनमा प्रवेश गर्नेछन् ।”