अध्याय ११

1 अनि यसो भयो, येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्‍नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो ।

2 अनि जब यूहन्‍नाले झ्यालखानाबाट ख्रीष्‍टले गर्नुभएका कामहरूको बारेमा सुने, तिनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए, 3 र तिनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै हुनुहुन्छ जसको हामी प्रतीक्षा गरौं?”

4 येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ । 5 अन्धाहरूले द‍ृष्‍टि पाइरहेका छन्, लङ्गडाहरू हिँडिरहेका छन्, कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन् बहिराहरूले फेरि सुनिरहेका छन्, मरेकाहरू फेरि जीवित पारिएका छन्, अनि गरिबहरूलाई सुसमाचार सुनाइँदैछ ।" 6 अनि तिनीहरू धन्यका हुन् जसले मसँग चित्त दुखाएका छैनन् ।”

7 जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भीडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई? 8 तिमीहरू के हेर्न बाहिर गयौ– नरम लुगा लगाउने मानिसलाई? वास्तवमा नरम लुगा लगाउने व्यक्‍ति त राजाहरूका दरबारहरूमा बस्छ । 9 तर तिमीहरू के हेर्न बाहिर गयौ– के अगमवक्‍तालाई? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्‍ताभन्दा पनि महान् व्यक्‍तिलाई । 10 यिनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, ‘हेर, म आफ्नो समाचारवाहकलाई तिम्रो अगि-अगि पठाउँदैछु, जसले तिम्रो सामु तिम्रो बाटो तयार पार्नेछ ।’

11 साँच्‍चै म तिमीहरूलाई भन्दछु, स्‍‍त्रीबाट जन्मेकाहरूमा बप्‍तिस्मा-दिने यूहन्‍नाभन्दा महान् अरू कोही छैन । तरै पनि स्वर्गको राज्यमा सबैभन्दा कम महत्त्‍वको मानिस यिनीभन्दा महान् हुन्छन् । 12 बप्‍तिस्मा-दिने यूहन्‍नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ, र बलजफत गर्ने मानिसहरूले यसलाई बलपूर्वक पक्रन्छन् । 13 किनकि यूहन्‍ना नआउन्जेलसम्म सबै अगमवक्‍ता र व्यवस्थाले अगमवाणी गरिरहेका थिए; 14 अनि यदि तिमीहरू ग्रहण गर्न राजी हुन्छौ भने, आउनुपर्ने एलिया यिनी नै हुन् । 15 जसको कान छ, त्यसले सुनोस् ।

16 यस पुस्तालाई म केसँग तुलना गरूँ? यो त बजारमा खेलिरहेका बालकहरूजस्तै छ, जो बस्छन् र एक अर्कालाई बोलाउँछन्, 17 र भन्छन्, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौं, अनि तिमीहरू नाचेनौ । हामीले शोक गर्‍यौं, र तिमीहरू रोएनौ ।’ 18 किनकि यूहन्‍ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन्, अनि तिनीहरू भन्छन्, ‘त्यसलाई भूत लागेको छ ।’ 19 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, त्यो एउटा घिचुवा अनि पियक्‍कड मान्छे हो, कर उठाउनेहरू र पापीहरूको मित्र हो!’ तर बुद्धिचाहिं तिनको कामहरूले सिद्ध हुन्छ ।”

20 तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्‍तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्‍चात्ताप गरेका थिएनन् । 21 “धिक्‍कार तँलाई, ए खोराजीन! धिक्‍कार तँलाई, ए बेथसेदा! यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसकेका हुने थिए । 22 तर न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ । 23 ए कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस्? होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो । 24 तर म तिमीहरूलाई भन्दछु कि न्यायको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”

25 त्यस बेला येशूले भन्‍नुभयो, “पिता, म तपाईंको प्रशंसा गर्दछु । हे स्वर्ग र पृथ्वीका मालिक, म तपाईंको प्रशंसा गर्दछु, किनभने तपाईंले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो, र साना बालकहरूलाई ती प्रकट गर्नुभयो । 26 हो पिता, किनकि तपाईंको द‍ृष्‍टिमा यही नै मनपर्दो थियो ।

27 मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ; अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्‍तिले बाहेक पितालाई कसैले चिन्दैन । 28 हे सबै परिश्रम गर्नेहरू र गह्रौं बोझले लादिएका हो, मकहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु । 29 मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ । 30 किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ ।”