अध्याय १०

1 येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अनि हरप्रकारका रोग र बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो । 2 बाह्र जना प्रेरितका नाम यी हुन्ः पहिलो सिमोन (जसलाई उहाँले पत्रुस पनि भनेर बोलाउनुहुन्थ्यो) र तिनका भाइ अन्द्रियास; जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्‍ना; 3 फिलिप र बारथोलोमाइ; थोमा र कर उठाउने मत्ती; अल्फयसका छोरा याकूब र थेदियस; 4 सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई धोका दियो ।

5 यी बाह्रै जनालाई येशूले बाहिर पठाउनुभयो । उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरू बस्‍ने कुनै पनि ठाउँमा नजाओ, र सामरीहरूको कुनै पनि सहरमा प्रवेश नगर ।” 6 यसको सट्टा इस्राएलको घरानाको हराएका भेडाहरूकहाँ जाओ; 7 अनि जसै तिमीहरू जान्छौ, ‘स्वर्गको राज्य नजिकै आइसकेको छ’ भनी प्रचार गर । 8 रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्‍ठरोगीहरूलाई शुद्ध पार र भूतात्माहरूलाई धपाओ । तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ । 9 तिमीहरूका थैलीमा कुनै पनि सुन, चाँदी वा तामा नबोक । 10 तिमीहरूका यात्राको निम्ति झोला वा फाल्तु दौरा वा जुत्ता वा लौरो नबोक, किनकि खेतालाले आफ्नो भोजन पाउनुपर्छ । 11 तिमीहरू जुनसुकै सहर वा गाउँमा प्रवेश गर्छौ, त्यहाँ को योग्यको छ भनी पत्ता लगाओ र त्यहाँबाट ननिस्केसम्म तिमीहरू त्यहीं बस । 12 जब तिमीहरू घरमा पस्छौ, तब त्यसलाई अभिवादन गर । 13 यदि त्यो घर योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमाथि आओस् । तर यदि त्यो योग्यको छैन भने, तिमीहरूका शान्ति तिमीहरूकहाँ नै फर्केर आओस् । 14 जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस घर वा सहरबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ । 15 साँच्‍चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।

16 हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाझैं पठाउँछु । यसकारण सर्पझैं चनाखो र ढुकुरझैं सोझो होओ । 17 मानिसहरूदेखि होसियार बस! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन् । 18 अनि तिमीहरू मेरो खातिर शासकहरू र राजाहरू सामु तिनीहरू र अन्यजातिहरूका निम्ति गवाहीको रूपमा ल्याइनेछौ । 19 तर जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिन्छन्, तब तिमीहरूले कसरी वा के बोल्ने भन्‍ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ । 20 किनकि बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ । 21 दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ, र बुबाले आफ्नो छोरालाई । छोराछोरीहरू आफ्ना बुबा-आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन् । 22 मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ । तर जसले अन्तिम घडीसम्म सहन्छ, त्यस व्यक्‍तिको उद्धार हुनेछ । 23 जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्‍जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ ।

24 चेला आफ्नो गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ । 25 त्यो चेला आफ्नो गुरु र त्यो नोकर आफ्नो मालिकजस्तो हुनु नै त्यसको निम्ति पर्याप्‍त हुन्छ । यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान्!

26 त्यसकारण तिनीहरूसँग नडराओ, किनकि ढाकिएर प्रकट नहुने केही छैन, लुकेर थाहा नहुने केही छैन । 27 जे म तिमीहरूलाई अँध्यारोमा भन्दछु, त्यो उज्यालोमा भनिदेओ र जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ, त्यो घरको धुरीबाट घोषणा गर । 28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्‍नुहुनेसँग डराओ । 29 के एउटा सानो सिक्कामा दुईवटा भङ्गेरा बिक्दैनन् र? तापनि तिमीहरूका पिताको इच्छाबिना तीमध्ये एउटा पनि भुइँमा खस्दैन । 30 तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन् । 31 नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढी मूल्यवान् छौ । 32 यसकारण जसले मलाई मानिसहरूका सामुन्‍ने ग्रहण गर्छ, म पनि त्यसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु । 33 तर जसले मानिसहरूका सामुन्‍ने मलाई इन्कार गर्छ, म पनि त्यसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु ।

34 म पृथ्‍वीमा शान्‍ति ल्याउन आएँ भनी विचार नगर । म शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएँ । 35 किनकि म मानिसलाई त्यसको पिताको विरुद्ध र छोरीलाई त्यसकी आमाको विरुद्ध र बुहारीलाई त्यसकी सासूको विरुद्ध गराउन आएँ । 36 मानिसका शत्रुहरू त्यसको आफ्नै घरानाभित्रका हुनेछन् । 37 त्यो जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन; त्यो जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन । 38 जसले आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो निम्ति योग्यको हुँदैन । 39 आफ्नो जीवन बचाउनले त्यो गुमाउनेछ, र आफ्नो जीवन मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ ।

40 जसले तिमीहरूलाई स्वागत गर्छ, त्यसले मलाई स्वागत गर्छ र जसले मलाई स्वागत गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्छ । 41 जसले अगमवक्‍तालाई तिनी अगमवक्‍ता भएको कारणले स्वागत गर्छ, त्यसले अगमवक्‍ताको इनाम पाउनेछ । अनि जसले धर्मी मानिसलाई तिनी धर्मी भएको कारणले स्वागत गर्छ, त्यसले धर्मी मानिसको इनाम पाउनेछ । 42 जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्दछु, त्यसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन ।