1
ओबदियाले देखेका दर्शन । एदोमको विषयमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “हामीले परमप्रभुबाट एउटा सन्देश सुनेका छौं, र जातिहरूका बीचमा एक जना राजदूतलाई यसो भनेर पठाइएको छ, "उठ! हामी युद्धको निम्ति त्यसको विरुद्धमा उठौं!"
2
हेर्, म तिमीहरूलाई जाति-जातिका बीचमा सानो तुल्याउनेछु; तिमीहरू अति घृणित हुनेछौ ।
3
ए चट्टानका छेदहरूमा, आ-आफ्ना अग्ला घरहरूमा बस्नेहरू हो । आ-आफ्ना हृदयमा यसो भन्नेहरू “कसले मलाई तल जमिनमा खसाल्छ र?” तिमीहरूको हृदयको घमण्डले तिमीहरूलाई धोका दिएको छ ।
4
तिमीहरू गरूडझैं उचाइमा उडे पनि र तिमीहरूको गुँड ताराहरूका बीचमा भए पनि, तिमीहरूलाई त्यहाँबाट म तल ल्याउनेछु — परमप्रभु यो धोषणा गर्नुहुन्छ ।
5
तिमीहरूकहाँ चोरहरू आउँदा, रातमा डाँकुहरू आउँदा— तिमीहरूको कस्तो सर्वनाश होला!— के तिनीहरूले आफूलाई चाहिने जति मात्र चोरेर लाँदैनन् र? दाख बाटुल्नेहरू तिमीहरूकहाँ आए भने, तिनीहरूले अलिअलि सिलाहरू छोड्दैनन् र?
6
कसरी एसाव लुटिनेछ, त्यसका लुकाइएका धनसम्पत्ति खोसिनेछ!
7
तेरा मित्रराष्ट्रका सबै मानिसहरूले तँलाई सिमाना कटाउनेछन् । तँसँग मिलापमा भएका मानिसहरूले तँलाई धोका दिनेछन्, र तेरो विरूद्धमा प्रबल हुनेछन् । तेरो रोटी खानेहरूले नै तेरोमुनि पासो थाप्नेछन् । त्यसमा कुनै सुझबुझ नै छैन ।
8
परमप्रभु यो धोषणा गर्नुहुन्छ —“त्यो दिनमा के म एदोमबाट बुद्धिमान् मानिसहरूलाई र एसावका पहाडबाट समझदारलाई नाश गर्नेछैनँ र?”
9
ए तेमान, तेरा बलवान् मानिसहरू निराश हुनेछन्, जसको कारणले एसावका पहाडबाट सबै मानिसहरू काटिएर सखाप हुनेछन् ।
10
तेरो भाइ याकूबमाथि गरिएको क्रूरताको कारणले, तँ शर्ममा पर्नेछस्, र तँ सधैंको निम्ति नाश हुनेछस् ।
11
तँ एक्लै खडा भएको दिनमा, अनजान मानिसहरूले त्यसको धन खोसेर लगेका र परदेशीहरू त्यसका मूल ढोकाहरूभित्र पसेका र यरूशलेमको निम्ति चिट्ठा हालेका दिनमा, तँ पनि तीमध्ये एकझैं थिइस् ।
12
तर आफ्नो भाइको दुर्भाग्यको दिनमा हर्षित नहो, र यहूदाका मानिसहरूको विनाशको दिनमा तिनीहरूमाथि आनन्दित नहो; तिनीहरूको विपत्तिको दिनमा घमण्ड नगर् ।
13
मेरा मानिसहरूको विपत्तिको दिनमा तिनीहरूका मूल ढोकाभित्र प्रवेश नगर्; तिनीहरूको आपद्को दिनमा तिनीहरूको कष्टमाथि हर्षित नहो, तिनीहरूको विनाशको दिनमा तिनीहरूको धन-सम्पत्ति नलुट् ।
14
त्यसका भगुवाहरूलाई काट्नलाई दोबाटोमा खडा नहो, र विपत्तिको दिनमा त्यसका बाँकी बचेकाहरूलाई नसुम्पी ।
15
किनकि सबै जातिहरूमाथि परमप्रभुको दिन नजिकै छ । तैंले जस्तो गरेको छस्, तँलाई त्यस्तै गरिनेछ; तेरा कामहरू तेरो आफ्नै थाप्लोमा फर्किनेछन् ।
16
किनकि जसरी तैंले मेरो पवित्र पर्वतमा पिएको छस्, त्यसरी नै सारा जातिहरूले निरन्तर पिउनेछन् । तिनीहरूले पिउनेछन् र निल्नेछन् अनि तिनीहरू कहिल्यै अस्तित्वमा नभएझैं हुनेछन् ।
17
तर उम्केकाहरू सियोन पर्वतमा रहनेछन् र त्यो पवित्र हुनेछ, अनि याकूबको घरानाले तिनीहरूका आ-आफ्ना सम्पत्तिको अधिकार गर्नेछन् ।
18
याकूबको घराना आगो हुनेछ, र योसेफको घराना ज्वाला हुनेछ, र एसावको घराना झिंजाहरू हुनेछ, र यिनीहरूले तिनीहरूलाई जलाउनेछन् र भस्म पार्नेछन् । एसावको घरानामा कोही पनि बाँच्नेछैन, किनकि परमप्रभुले नै यसो भन्नुभएको छ ।”
19
नेगेवका मानिसहरूले एसावको डाँडामा अधिकार गर्नेछन् र बेंसीका मानिसहरूले पलिश्तीहरूको देशमा अधिकार गर्नेछन् । तिनीहरूले एफ्राइम र सामरियाका देशमा अधिकार गर्नेछन्, अनि बेन्यामीनले गिलादमा अधिकार गर्नेछ ।
20
निर्वासनमा गएको इस्राएलका मानिसहरूको समुहले कनान देशदेखि सारपतसम्मका देश अधिकार गर्नेछ । सपारादमा भएका यरूशलेमका निर्वासितहरूले नेगेवका सहरहरूमा अधिकार गर्नेछन् ।
21
उद्धार गर्नेहरू एसावको पहाडी देशमा शासन गर्नलाई सियोन पर्वतसम्म जानेछन्, र त्यो राज्य परमप्रभुको हुनेछ ।