अध्याय ९

1 येशू एउटा डुङ्गामा चढेर पारिपट्टि जानुभयो र आफ्नो सहरमा आइपुग्‍नुभयो । 2 हेर, तिनीहरूले उहाँकहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षाघातीलाई ल्याए । तिनीहरूको विश्‍वास देखेर येशूले त्यो पक्षाघात भएको व्यक्‍तिलाई भन्‍नुभयो, “छोरा आनन्दित होऊ । तिम्रा पाप क्षमा भएका छन् ।” 3 हेर, त्यहाँका केही शास्‍‍त्रीहरूले तिनीहरूका माझमा यसो भने, “यो मानिसले परमेश्‍वरको निन्दा गरिरहेको छ ।” 4 येशूले तिनीहरूको विचार थाहा पाउनुभयो र भन्‍नुभयो, “किन तिमीहरू आफ्ना हृदयमा दुष्‍ट विचार गरिरहेका छौ? 5 कुन कुराचाहिं भन्‍न सजिलो छ, ‘तिम्रा पाप क्षमा भएका छन्', भन्‍न कि 'उठ र हिँड' भन्‍न? 6 तर मानिसका पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भन्‍ने कुरा तिमीहरूले जान्‍न सक ।” उहाँले त्यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ ।” 7 त्यसपछि त्यो मानिस उठ्यो र आफ्नो घरतर्फ गयो । 8 जब भीडले यो देख्यो, तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे । 9 येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्‍तिलाई देख्‍नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए । उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।” तिनी उठे र उहाँको पछि लागे । 10 जब येशू खाना खान घरमा बस्‍नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए । 11 जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?” 12 जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “शरीरमा बलिया भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, तर बिरामीहरूलाई मात्र । 13 जाओ र यसको अर्थ के हो सिकः ‘म दया चाहन्छु, तर बलिदान होइन ।’ किनकि म, धर्मीलाई पश्‍चात्ताप गर्न बोलाउन आएको होइन तर पापीहरूलाई बोलाउन आएँ ।" 14 त्यसपछि यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र भने, “किन हामी र फरिसीहरू प्रायः उपवास बस्दछौं, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?” 15 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के जन्तीहरू दुलहा तिनीहरूका साथमा हुँदा-हुँदै दुःखी हुन्छन् र? तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ, र तिनीहरू उपवास बस्‍नेछन् । 16 कसैले पनि पुरानो वस्‍‍त्रमा नयाँ कपडाको टुक्रा टाल्दैन, किनकि त्यो टुक्रा वस्‍‍त्रबाट फाटिनेछ, र त्यो फटाइ झन् नराम्रो हुनेछ । 17 न त कसैले पुरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्छ । तिनीहरूले त्यसो गरे भने, त्यो मशक फुट्नेछ र सबै दाखमद्य पोखिनेछ, र मद्यको मशक नष्‍ट हुनेछ । त्यसको सट्टामा, तिनीहरूले नयाँ दाखमद्यलाई नयाँ मद्यको मशकमा राख्छन्, र दुवै सुरक्षित रहनेछन् ।” 18 जब येशूले तिनीहरूलाई यी कुराहरू भनिरहनुभएको थियो, हेर, एउटा अधिकारी आए र येशूलाई दण्डवत् गरे । तिनले भने, “मेरी छोरी भर्खरै मरेकी छे, तर आएर तपाईंले त्यसमाथि आफ्नो हात राखिदिनुहोस् र त्यो फेरि जीवित हुनेछे ।” 19 त्यसपछि येशू उठ्नुभयो र तिनको पछि लाग्‍नुभयो र उहाँका चेलाहरू पनि पछि लागे । 20 हेर, बाह्र वर्षदेखि रगत बग्‍ने व्यथा भएकी एक जना स्‍‍त्री येशूको पछाडि आई, र उहाँको वस्‍‍त्रको छेउ छोई । 21 किनकि त्यसले आफैंलाई यसो भनेकी थिई, “मैले उहाँको वस्‍‍त्र मात्र छोएँ भने पनि म निको पारिनेछु ।” 22 तर येशू पछाडि फर्कनुभयो र त्यसलाई देखेर भन्‍नुभयो “छोरी, साहस गर; तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” अनि त्यो स्‍‍त्री त्यही घड‌‍‍ी निको भई । 23 जब येशू त्यस अधिकारीको घरमा आउनुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीडले ठुलो हल्ला गरिरहेका देख्‍नुभयो । 24 उहाँले भन्‍नुभयो, “पर जाओ, किनकि ठिटी मरेकी छैन, तर निदाएकी छे ।” तर तिनीहरू उहाँको गिल्ला गरेर हाँसे । 25 भीडलाई बाहिर पठाइएपछि, उहाँ कोठाभित्र जानुभयो र उहाँले त्यसको हात समात्‍नुभयो, र त्यो ठिटी उठी । 26 यो खबर त्यस क्षेत्रको चारैतिर फैलियो । 27 जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो, दुई जना अन्धाहरूले उहाँलाई पछ्याए । तिनीहरू ठुलो स्वरले कराउँदै यसो भनिरहे, “दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्!” 28 जब येशू घरभित्र आउनुभयो, ती अन्धाहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्‍नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु ।” 29 त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूले विश्‍वास गरेअनुसार तिमीहरूलाई त्यस्तै नै होस् ।” 30 अनि तिनीहरूका आँखा खोलिए । त्यसपछि येशूले तिनीहरूलाई कडासाथ आज्ञा गर्नुभयो र भन्‍नुभयो, “ख्याल गर, कि यो कुराबारे कसैलाई पनि थाहा नहोस् ।” 31 तर ती दुई जना मानिस बाहिर निस्के र यो खबर त्यो क्षेत्रभरि नै फैलाए । 32 जसै ती दुई जना मानिस जाँदै थिए, हेर, एक जना भूतात्मा लागेको गूँगोलाई येशूकहाँ ल्याइयो । 33 जब त्यो भूतात्मा धपाइयो, तब त्‍यो व्यक्‍ति बोल्यो । भीडहरू छक्‍क परे र भने, “इस्राएलमा यस्तो कहिल्‍यै देखिएको थिएन!” 34 तर फरिसीहरूले यसो भनिरहेका थिए, “यसले भूतहरूको मालिकद्वारा भूतहरू निकाल्दछ ।” 35 येशू सारा सहरहरू र गाउँहरूमा जानुभयो । तिनीहरूका सभा घरमा शिक्षा दिंदै, राज्यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरू निको पार्दै हिँड्नुभयो । 36 जब उहाँले भीडलाई देख्‍नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए । तिनीहरू गोठालाबिनाका भेडाहरूजस्‍तै थिए । 37 उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छन्, तर खेतालाहरू थोरै छन् । 38 यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर, ताकि उहाँले आफ्‍नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस् ।”