अध्याय ६

1 तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्‍ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ । 2 त्यसैले जब तिमीहरूले कसैलाई केही दान दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरेजस्तै आफ्नै अगि तुरही नफुक । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् । 3 तर जब तिमीहरू केही दान दिन्छौ, तब तिमीहरूको दाहिने हातले जे गर्दैछ, त्यो तिमीहरूको देब्रे हातले थाहा नपाओस्, 4 ताकि तिमीहरूको दान गुप्‍तमा होस् । त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ । 5 अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरूजस्ता नहोओ, किनकि मानिसहरूले तिनीहरूलाई देखून् भनेर तिनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् । 6 तर जब तिमीहरू प्रार्थना गर्छौ, तब आफ्नो भित्री कोठामा जाओ । ढोका बन्द गर र आफ्ना पितासँग प्रार्थना गर जो गुप्‍तमा रहनुहुन्छ । त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ । 7 अनि जब तिमीहरू प्रार्थना गर्छौ, व्यर्थमा नबरबराओ, जसरी गैरयहूदीहरूले गर्छन्, किनकि धेरै बोल्नाले तिनीहरूको सुनाइ हुन्छ भनी तिनीहरू ठान्छन् । 8 त्यसकारण तिनीहरू जस्ता नहोओ, किनकि तिमीहरूले माग्‍नुभन्दा अगि नै तिमीहरूलाई के कुराको खाँचो छ भनी तिमीहरूका पिता जान्‍नुहुन्छ । 9 त्यसैले यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्, 10 तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पूरा होस् । 11 हामीलाई आज दिनभरिको भोजन दिनुहोस् । 12 हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं । 13 हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्, तर दुष्‍टबाट छुटकारा दिनुहोस् । 1 14 किनकि यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गर्‍यौ भने, तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ । 15 तर यदि तिमीहरूले तिनीहरूका पाप क्षमा गरेनौ भने, तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन । 16 साथै जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरेजस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् । 17 तर तिमीहरू जब उपवास बस्छौ, आफ्ना अनुहार पखाल र आफ्ना शिरलाई अभिषेक गर । 18 यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्तो देखिंदैनौ, तर गुप्‍तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्यो थाहा हुन्छ; अनि गुप्‍तमा देख्‍नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ । 19 पृथ्वीमा आफ्नो निम्ति धन सम्‍पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्‍ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन् । 20 बरु आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्‍ट गर्छ, न त चोरले चोरेर लैजान्छ । 21 किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ, त्यहाँ तिमीहरूको मन पनि हुनेछ । 22 आँखा शरीरको निम्ति बत्ती हो । त्यसकारण यदि तिमीहरूका आँखा असल छन् भने, सम्पूर्ण शरीर नै प्रकाशले भरिनेछ । 23 तर यदि तिमीहरूका आँखा खराब छन् भने, तिमीहरूका सम्पूर्ण शरीर नै अँध्यारोले भरिन्छ । त्यसकारण यदि तिमीहरूमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने, त्यो अन्धकार कति ठुलो होला! 24 कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्छ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्छ । तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ । 25 त्यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर । के जीवन भोजनभन्दा र शरीर वस्‍‍त्रभन्दा मूल्यवान् हुँदैन र? 26 आकाशका चराहरूलाई हेर! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ । के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र? 27 अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्‍न सक्छ र? 28 अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फूलहरूलाई हेर, ती कसरी उम्रन्छन् । तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन् । 29 र पनि म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभूषित थिएनन् । 30 यदि परमेश्‍वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, ए अल्प-विश्‍वासीहरू हो, के उहाँले तिमीहरूलाई झन् बढी पहिराउनुहुनेछैन र? 31 त्यसकारण चिन्तित भएर ‘हामी के खाउँला?’ वा ‘हामी के पिउँला?’ वा ‘हामी के लगाउँला?’ भनी नभन । 32 किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्‍ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्‍नुहुन्छ । 33 तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ । 34 त्यसकारण भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैंले गर्नेछ । हरेक दिनको आफ्नै पर्याप्‍त चिन्ता हुन्छ ।

1प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा निम्‍न पदावली छैनः किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।