अध्याय २८

1 अब विश्रामको समय सकिनै लाग्दा हप्‍ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्‍‍त्री चिहान हेर्न आए । 2 हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले, अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे । 3 तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो । 4 पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए । 5 स्वर्गदूतले ती स्‍‍त्रीहरूलाई सम्बोधन गरे र भने, “भयभीत नहोओ, किनकि मलाई थाहा छ, कि तिमीहरूले क्रूसमा टाँगिनुभएका येशूलाई खोज्दैछौ । 6 उहाँ यहाँ हुनुहुन्‍न, तर जस्तो उहाँले भन्‍नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ । आएर प्रभुलाई राखिएको ठाउँ हेर । 7 झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ । हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । त्यहीं नै तिमीहरूले उहाँलाई देख्‍नेछौ ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु ।” 8 ती स्‍‍त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे । 9 हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्‍नुभयो, “अभिवादन!” ती स्‍‍त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे । 10 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई देख्‍नेछन् ।” 11 जब ती स्‍‍त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पूजाहारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए । 12 जब पूजाहारीहरूले धर्म‍-गुरुहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए, 13 र तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूलाई यस्तो भन, ‘हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र त्यसको मृत शरीरलाई चोरेर लगे ।’ 14 यदि यो खबर हाकिमकहाँ पुग्यो भने, हामी उहाँलाई राजी गराउनेछौं र तिमीहरूलाई कुनै समस्यामा पर्न दिनेछैनौं ।” 15 अनि ती सिपाहीहरूले पैसा लिए र तिनीहरूलाई जस्तो निर्देशन दिइएको थियो, त्यस्तै गरे । यही खबर यहूदीहरूका माझमा सर्वत्र फैलियो र आजको दिनसम्म पनि यही कायम छ । 16 तर एघार जना चेला गालीलको त्यस डाँडामा गए जहाँ येशूले जानू भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो । 17 जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई दण्डवत् गरे, तर कतिले चाहिं शङ्का गरे । 18 येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ । 19 यसकारण जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ । 20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । र हेर, यस संसारको अन्तसम्म पनि म सधैं तिमीहरूको साथमा छु ।”