अध्याय २०

1 किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए । 2 ती खेतालाहरूसँग दिनको एक दिनारमा काम गराउन तिनी सहमत भएपछि तिनले तिनीहरूलाई दाखबारीमा पठाए । 3 तिनी नौ बजे बाहिर गए र बजारमा अरू खेतालाहरूलाई केही काम नगरी उभिरहेको देखे । 4 तिनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु ।’ यसैकारण तिनीहरू काम गर्न गए । 5 फेरि तिनी बाह्र बजे र तीन बजे बाहिर गए र त्यसै गरे । 6 एक पटक फेरि तिनी पाँच बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेका भेट्टाए । तिनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ?’ 7 तिनीहरूले तिनलाई भने, ‘किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन ।’ तिनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ ।’ 8 जब साँझ पर्‍यो, ती दाखबारीका मालिकले तिनका व्यवस्थापकलाई भने, ‘ती खेतालाहरूलाई बोलाऊ र अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ ।’ 9 जब पाँच बजे काममा लगाइएका खेतालाहरू आए, तिनीहरू सबैले एक दिनार पाए । 10 जब सुरुका खेतालाहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्‍त गरे । 11 जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्‍त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे । 12 तिनीहरूले भने, ‘यी अन्तमा आएका खेतालाहरूले एक घण्टा मात्र काममा बिताएका थिए, तर तपाईंले तिनीहरूलाई हामी समान बनाउनुभएको छ, हामीहरू जसले सारा दिनको बोझ र पोल्ने घामलाई सह्‍यौं ।’ 13 तर ती मालिकले जवाफ दिए र तिनीहरूमध्ये एक जनालाई भने, ‘मित्र, मैले तिमीलाई कुनै खराबी गरेको छैनँ । के तिमी मसँग एक दिनारमा मञ्जुर भएका थिएनौ र? 14 जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग । मैले तिमीलाई दिए जत्तिकै यी अन्त्यमा काममा लगाइएको खेतालाहरूलाई पनि दिने म इच्छा गर्छु । 15 के मैले मेरो आफ्नो सम्‍पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र? वा म असल भएको कारणले तिम्रा आँखा दुष्‍ट भएको हो?’ 16 यसैले पछिल्ला पहिला हुनेछ, र पहिलाचाहिँ पछिल्ला हुनेछ । 1 17 जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, उहाँले ती बाह्र जना चेलालाई अलग्गै राख्‍नुभयो, र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो, 18 “हेर, हामीहरू यरूशलेमतर्फ जाँदैछौं, र मानिसका पुत्र मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले तिनलाई मृत्युदण्डको दोष लगाउनेछन्, 19 र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन, र क्रूसमा झुण्ड्याउनको लागि तिनीहरूले तिनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन् । तर तिनी तेस्रो दिनमा उठाइनेछन् ।” 20 त्यसपछि जब्दियाका छोराहरूकी आमा आफ्ना दुई छोराका साथमा येशूकहाँ आइन् । तिनी उहाँको अगाडि घोप्‍टो परिन् र उहाँसँग केही कुरा मागिन् । 21 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले के कुराको चाहना गर्छौ?” तिनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा यी मेरा दुई जना छोरामध्ये एउटा तपाईंको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बसून् भनेर आज्ञा गर्नुहोस् ।” 22 तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरूलाई थाहा छैन । के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र?” तिनीहरूले उहाँलाई भने, “हामीहरू सक्षम छौं ।” 23 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मेरो कचौराबाट त पिउनेछौ । तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्‍न दिने मैले होइन, तर यो तिनीहरूका निम्ति हो, जसका निम्ति मेरा पिताद्वारा तयार पारिएको छ ।” 24 जब अरू दस जना चेलाले यो कुरालाई सुने, तिनीहरू यी दुई जना दाजुभाइसँग अति नै रुष्‍ट भए । 25 तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “तिमीहरू जान्छौ, कि गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् । 26 तर तिमीहरूका बीचमा यस्तो हुनुहुँदैन। बरु जो तिमीहरूका बीचमा महान् हुने चाहना गर्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ, 27 र जो तिमीहरूका बीचमा पहिलो हुने इच्छा गर्छ, त्यो तिमीहरूको दास हुनुपर्छ, 28 जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।” 29 जसै तिनीहरू यरीहोबाट बाहिर गए, एउटा ठुलो भीड उहाँको पछि लाग्यो, 30 र दुई जना अन्धा बाटोको छेउमा बसिरहेका थिए । येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्‍ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्‍च्‍याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।” 31 तिनीहरूलाई चूप रहन भन्दै भीडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।” 32 तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ?” 33 तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।” 34 तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो । तिनीहरूले त्यत्तिखेरै आफ्ना द‍ृष्‍टि प्राप्‍त गरे र उहाँलाई पछ्याए ।

1प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा निम्‍न पदावली छैनः बोलाइएका धेरै छन्, तर चुनिएका थोरै मात्र छन् ।