अध्याय १५

1 त्यसपछि केही फरिसीहरू र शास्‍‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने, 2 “किन तपाईंका चेलाहरूले धर्म-गुरुहरूको परम्परालाई उल्लङ्घन गर्छन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन् ।” 3 येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले चाहिं किन आफ्ना परम्पराहरूका निम्ति परमेश्‍वरको आज्ञालाई उल्लङ्घन गर्छौ? 4 किनकि परमेश्‍वरले भन्‍नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मर्नेछ ।’ 5 तर तिमीहरू भन्छौ, ‘जसले आफ्नो बुबा वा आमालाई, “जे जति सहयोग तपाईंले मबाट प्राप्‍त गर्नुपर्ने थियो, त्यो अब परमेश्‍वरको निम्ति उपहार हो" भनेर भन्छ भने, 6 त्यस व्यक्‍तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन ।' यसरी तिमीहरूले आफ्नो परम्पराहरूका खातिर परमेश्‍वरको वचनलाई 1 बेकम्मा बनाएका छौ । 7 ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूका विषयमा ठिकै अगमवाणी गरेर यसो भने, 8 ‘यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छन् । 9 तिनीहरू मलाई व्यर्थमा आराधना गर्छन्, किनकि तिनीहरूले मानिसहरूका विधिहरूलाई आफ्ना सिद्धान्तहरू जस्तैगरी सिकाउँछन् ।" 10 त्यसपछि उहाँले भीडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्‍नुभयो, “सुन र बुझ– 11 मुखबाट भित्र पस्‍ने कुनै कुराले मानिसलाई अपवित्र बनाउँदैन । बरु जुन कुरा मुखबाट बाहिर आउँछ, त्यसले मानिसलाई अपवित्र बनाउँछ ।” 12 त्यसपछि चेलाहरू आए र येशूलाई भने, “फरिसीहरूले यो भनाइ सुन्दा तिनीहरू चिढिएका थिए भन्‍ने कुरा के तपाईंलाई थाहा छ?” 13 येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्यो उखेलिनेछ । 14 तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू अन्धा अगुवाहरू हुन् । यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने, दुवै जना खाल्डोमा खस्‍नेछन् ।” 15 पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस द‍ृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।” 16 येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ? 17 के तिमीलाई थाहा छैन कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ र त्यो शौचालयमा बाहिर निस्कन्छ? 18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट आउँछन् । मानिसलाई अपवित्र तुल्याउने कुराहरू ती नै हुन् । 19 किनकि दुष्‍ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झूटो गवाही र अपमान हृदयबाट निस्कन्छन् । 20 यी कुराहरूले मानिसलाई अपवित्र तुल्याउँछन् । तर नधोईएको हातले खाना खाँदा मानिसलाई अपवित्र बनाउँदैन ।” 21 त्यसपछि येशू त्यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्‍नुभयो । 22 र हेर, एउटी कनानी स्‍‍त्री त्यस क्षेत्रबाट बाहिर आई । त्यो चिच्‍च्‍याएर कराई र भनी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्, मेरी छोरी दुष्‍टात्माद्वारा धेरै नै सताइएकी छे ।” 23 तर येशूले एउटै पनि शब्द बोल्नुभएन । उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्दै बिन्‍ती गरे, “त्यसलाई यहाँबाट पठाइदिनुहोस्, किनकि त्यो हाम्रो पछिपछि चिच्‍च्‍याइरहेकी छे ।” 24 तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “मलाई इस्राएलको घरको हराएको भेडाकहाँ बाहेक कसैकहाँ पनि पठाइएको होइन ।” 25 तर त्यो आई र उहाँको अगाडि घोप्‍टो पर्दै भनी, “प्रभु, मलाई सहायता गर्नुहोस् ।” 26 उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “आफ्ना छोराछोरीहरूको रोटी लिएर साना कुकुरहरूकहाँ फालिदिनु उचित हुँदैन ।” 27 त्यसले भनी, “हो, प्रभु, तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबुलबाट खसेका केही स-साना टुक्राहरू खान्छन् ।” 28 त्यसपछि येशूले जवाफ दिंदै त्यसलाई भन्‍नुभयो, “स्‍‍त्री, तिम्रो विश्‍वास महान् छ; तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्यही घडी त्यसकी छोरी निको भई । 29 येशूले त्यो ठाउँ छोड्नुभयो र गालील समुद्रको नजिक जानुभयो । त्यसपछि उहाँ डाँडामाथि जानुभयो र त्यहीं बस्‍नुभयो । 30 ठुलो भीड उहाँकहाँ आयो । तिनीहरूले आफ्ना साथमा लङ्गडा, अन्धा, गूँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । तिनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो । 31 गूँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिंडेका, र अन्धाहरूले देखेका जब भीडले देख्यो तब तिनीहरू अचम्मित भए । तिनीहरूले इस्राएलका परमेश्‍वरको प्रशंसा गरे । 32 येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “मलाई यो भीडमाथि दया लागेको छ, किनकि तिनीहरू तीन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन । म तिनीहरूलाई केही नखुवाइकन यहाँबाट पठाउन चाहन्‍नँ, नत्रता तिनीहरू बाटोमा मुर्छा पर्लान् ।” 33 चेलाहरूले उहाँलाई भने, “यस्तो एकान्त ठाउँमा यत्रो भीडलाई सन्तुष्‍ट पार्न हामीले कहाँबाट पर्याप्‍त रोटी पाउन सक्छौं?” 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने, “सातवटा र केही स-साना माछा छन् ।” 35 त्यसपछि येशूले भीडलाई भुइँमा बस्‍नलाई आज्ञा गर्नुभयो । 36 उहाँले ती सातवटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो । अनि चेलाहरूले ती भीडलाई दिए । 37 मानिसहरू सबैले खाए र सन्तुष्‍ट भए । र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री जम्मा गरेर सात डाला भरे । 38 स्‍‍त्रीहरू र बालबालिकाहरूबाहेक जतिले खाए, तिनीहरू चार हजार पुरुषहरू थिए । 39 त्यसपछि येशूले भीडलाई पठाउनुभयो र डुङ्गामा चढ्नुभयो र मगादानको क्षेत्रतर्फ जानुभयो ।

1प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा परमेश्‍वरको वचन लेखिएको छ र अरू केही प्राचीन प्रतिलिपिहरूमा परमेश्‍वरको आज्ञा लेखिएको छ । यी दुवैमा कुनचाहिं उत्कृष्‍ट छ भनी छान्‍न कठिन छ ।