अध्याय १४

1 त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने । 2 तिनले आफ्ना नोकरहरूलाई भने, “यिनी बप्‍तिस्मा-दिने यूहन्‍ना हुन्; यिनी मरेकाहरूबाट फेरि जीवित भएका छन् । त्यसकारण यी शक्‍तिहरूले यिनमा काम गरिरहेका छन् ।” 3 किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्‍नी हेरोदियासको कारण यूहन्‍नालाई समाती बाँधेर झ्यालखानामा हालेका थिए । 4 किनकि यूहन्‍नाले तिनलाई भनेका थिए, “तिनलाई आफ्नी पत्‍नीको रूपमा राख्‍नु तपाईंको निम्ति उचित छैन ।” 5 हेरोदले उनलाई मार्न सक्थे, तर तिनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्‍नालाई अगमवक्‍ता मान्थे । 6 तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्‍न बनाइन् । 7 त्यसको प्रतिक्रियामा त्यसले जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए । 8 आफ्नी आमाले सिकाएपछि त्यसले भनी, “मलाई यहाँ एउटा थालमा बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर दिनुहोस् ।” 9 राजा त्यसको बिन्‍तीबाट निकै निराश भए, तर त्यसको आफ्नो शपथको कारण र तिनीसँग रात्री भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए । 10 हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्‍नाको शिर काटिदिए । 11 अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो र त्यसले त्यो आफ्नी आमाकहाँ लगी । 12 अनि उनका चेलाहरू आएर उनको शवलाई लगेर गाडे । त्यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए । 13 जब येशूले यो कुरा सुन्‍नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो । जब भीडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए । 14 त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भीड देख्‍नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बीचमा भएका बिरामीहरूलाई निको पार्नुभयो । 15 जब साँझ पर्‍यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा एकान्त ठाउँ हो र दिन बितिसक्यो । भीडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्‍न सकून् ।” 16 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।” 17 तिनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन् ।” 18 येशूले भन्‍नुभयो, “ती मकहाँ ल्याओ ।” 19 अनि येशूले भीडलाई चौरमा बस्‍नको लागि आदेश दिनुभयो । उहाँले ती पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले आशिष् दिनुभयो र रोटीलाई भाँच्‍नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भीडलाई दिए । 20 तिनीहरू सबैले खाए र टन्‍न भए । त्यसपछि तिनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले । 21 त्यहाँ खाएकाहरूमध्ये स्‍‍त्री र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए । 22 अनि उहाँले भीडलाई बिदा गरून्‍जेल उहाँले चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्कोपट्टि जान लगाउनुभयो । 23 उहाँले भीडलाई पठाइसक्‍नुभएपछि उहाँ आफैं डाँडामा प्रार्थना गर्न जानुभयो । साँझ पर्दा, उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो । 24 तर त्यस बेला डुङ्गा भने समुद्रको बीचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्त्रित भयो । 25 बिहान तीन बजेतिर येशू समुद्रमा हिंड्दै तिनीहरूका नजिक जानुभयो । 26 जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिंडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्‍च्‍याउन थाले । 27 तर येशू झट्टै तिनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “ढाडस गर! मै हुँ! नडराओ ।” 28 पत्रुसले उहाँलाई जवाफ दिए र भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउनलाई आदेश दिनुहोस् ।” 29 येशूले भन्‍नुभयो, “आऊ ।” त्यसैले पत्रुस डुङ्गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिंडे । 30 तर जब पत्रुसले बतासलाई देखे, तिनी डराए । जब तिनी डुब्‍न थाले, तिनले चिच्‍च्‍याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस्!” 31 येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो, पत्रुसलाई समात्‍नुभयो र तिनलाई भन्‍नुभयो, “ए अल्पविश्‍वासी! तिमीले किन शङ्का गर्‍यौ?” 32 त्यसपछि जब येशू र पत्रुस डुङ्गामा जानुभयो, तब बतास रोकियो । 33 त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” 34 जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्‍नुभयो । 35 जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए । 36 तिनीहरूले उहाँको कपडाको एउटा छेउ मात्र छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए सबै जना निको भए ।