अध्याय १३

1 त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्‍नुभयो । 2 उहाँको वरिपरि एउटा ठुलो भीड जम्मा भयो, त्यसैले उहाँ एउटा डुङ्गामा चढेर बस्‍नुभयो र सबै भीड समुद्रको किनारमा उभिए । 3 तब येशूले द‍ृष्‍टान्तहरूमा तिनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बीउ छर्ने मान्छे बीउ छर्न निस्क्यो । 4 जसै तिनले छरे, केही बीउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बीउलाई निलिदिए । 5 अरू बीउहरूचाहिं ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन । 6 तर जब चर्को घाम लाग्यो, ती ओइलाए किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले । 7 अरू बीउहरू काँडाका बोटहरू माझमा परे । ती काँडाका बोट बढेर आए र तिनलाई निसासिदिए । 8 अरू बीउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तीस गुणा अन्‍न उब्जाए । 9 जसको कान छ, त्यसले सुनोस् ।” 10 चेलाहरू आएर येशूलाई भने, “तपाईं भीडहरूसँग किन द‍ृष्‍टान्तहरूमा बोल्नुहुन्छ?” 11 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन । 12 किनकि जोसँग छ, त्यसलाई अझ धेरै दिइनेछ, अनि त्यससँग प्रशस्त हुनेछ । तर जोसँग छैन, त्यससँग भएको पनि त्यसबाट लिइनेछ । 13 त्यसैले तिनीहरूसँग म द‍ृष्‍टान्तहरूमा बोल्दछु, किनकि हेरे तापनि तिनीहरूले देख्दैनन्; अनि सुने तापनि तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्छन् । 14 तिनीहरूका निम्ति यशैया अगमवक्‍ताको अगमवाणी पूरा हुन्छ, जसले यसो भन्छन्, ‘सुन्‍दा त तिमीहरूले सुन्‍नेछौ, तर कुनै रीतिले बुझ्‍नेछैनौ; हेर्दा त तिमीहरूले हेर्नेछौ, तर कुनै रीतिले देख्‍नेछैनौ । 15 किनकि यी मानिसहरूको हृदय सुस्त भएको छ, र तिनीहरूका सुन्‍नलाई कठोर भएका छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूले आफ्ना आँखाले देख्‍नेथिए र आफ्ना कानले सुन्‍नेथिए, र आफ्ना हृदयले बुझ्‍नेथिए र तिनीहरू मतिर फेरि फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ । 16 तर धन्य तिमीहरूका आँखा, किनकि तिनले देख्छन्; र तिमीहरूका कान, किनकि तिनले सुन्छन् । 17 साँच्‍चै म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्‍ताहरू र धर्मी मानिसहरूले, तिमीहरूले देखेका कुराहरू हेर्ने इच्छा गरे, तर ती देखेनन् अनि तिमीहरूले सुनेका कुराहरू तिनीहरूले सुन्‍ने इच्छा गरे, तर ती सुनेनन् । 18 तब बीउ छर्नेको द‍ृष्‍टान्त सुन । 19 जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । बाटोतिर छरिएको बीउचाहिं यही हो । 20 ढुङ्गेनी जमिनमा छरिएको चाहिं त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ । 21 तर त्यसको आफ्नै जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्‍ट आउँछ, त्यसले तुरुन्तै ठेस खान्छ । 22 काँडाका बोटहरू छरिएको चाहिं त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धन-सम्पत्तिको छलले वचनलाई निसासिदिन्छ, अनि त्यो निष्फल हुन्छ । 23 असल माटोमा छरिएको चाहिं त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तीस गुणा फल फलाउँछ ।” 24 येशूले तिनीहरूलाई अर्को द‍ृष्‍टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो खेतमा असल बीउ छर्‍यो । 25 तर जब मानिसहरू सुते, तिनको शत्रु आयो, र गहुँका बीच-बीचमा सामा पनि छरेर गयो । 26 जब बोटहरू देखा परे र तिनीहरूले अन्‍न फलाउन थाले, तब सामाहरू पनि देखा परे । 27 त्यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजुर, के तपाईंको खेतमा असल बीउ मात्र छर्नुभएको थिएन र? अहिले यिनमा सामाहरू कसरी आए?’ 28 तिनले तिनीहरूलाई भने, ‘यो एउटा शत्रुले गरेको हो ।’ ती दासहरूले तिनलाई भने, ‘के हामी गएर त्यसलाई उखालेको तपाईं चाहनुहुन्छ?’ 29 त्यस जमिनका मालिकले भने, ‘होइन, किनभने तिमीहरूले सामा उखेल्दा, गहुँ समेत उखेलौला । 30 कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देओ । कटनीको समयमा फसल कटनी गर्नेहरूलाई म भन्‍नेछु, 'पहिले सामाहरू उखेल र त्यसलाई जलाउनलाई मुठाहरूमा बाँध, तर गहुँलाई मेरो ढुकुटीमा जम्मा गर’ ।” 31 त्यसपछि येशूले तिनीहरूलाई अर्को द‍ृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्यचाहिं रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो । 32 यो बीउ अरू सबै बीउभन्दा सानो हुन्छ । तर जब यो हुर्कन्छ, यो बारीमा भएका बोटहरूभन्दा ठुलो हुन्छ र एउटा रूख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।” 33 त्यसपछि येशूले तिनीहरूलाई अर्को द‍ृष्‍टान्त भन्‍नुभयो, “स्वर्गको राज्यचाहिं खमिरजस्तो हो जुन एउटी स्‍‍त्रीले लिइन् र तीन भाँडो पिठोमा त्यो नफुलेसम्म मिसाइन् ।” 34 येशूले यी सबै कुरा भीडलाई द‍ृष्‍टान्तहरूमा भन्‍नुभयो; अनि द‍ृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन । 35 योचाहिं अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, “म मेरो मुख द‍ृष्‍टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।” 36 तब येशूले भीडलाई छोड्नुभयो र घरभित्र जानुभयो । उहाँका चेलाहरू उहाँकहाँ आएर भने, “खेतका सामाहरूको बारेमा भनिएको द‍ृष्‍टान्त हामीलाई व्याख्या गरिदिनुहोस् ।” 37 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले असल बीउ छरे तिनीचाहिं मानिसका पुत्र हुन् । 38 खेतचाहिं संसार हो; अनि असल बीउचाहिं राज्यका छोराहरू हुन् । अनि सामाहरूचाहिं दुष्‍टका छोराहरू हुन्, 39 र त्यो शत्रु जसले ती सामाहरू छरे, त्योचाहिं शैतान हो । फसलको कटनी संसारको अन्त हो, र कटनी गर्नेहरूचाहिं स्वर्गदूतहरू हुन् । 40 त्यसैले जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ । 41 मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले तिनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् । 42 तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ । 43 तब धर्मी मानिसहरू तिनीहरूका पिताको राज्यमा सूर्यझैं चम्कनेछन् । जसको कान छ, त्यसले सुनोस् । 44 स्वर्गको राज्यचाहिं खेतमा लुकाइएको धनजस्तै हो । एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो । त्यो आनन्‍दित भएर जान्छ, त्योसँग भएका सबैथोक बेच्छ, र त्यसले त्यो खेत किन्छ । 45 फेरि, स्वर्गको राज्य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजेजस्तै हो । 46 जब त्यसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, त्यो गयो र त्योसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो । 47 फेरि, स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जालजस्तो हो, अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो । 48 जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब तिनीहरू बसे अनि असल कुराहरू भाँडाहरूमा बटुले तर काम नलाग्‍ने कुराहरूलाई फ्याँकिदिए । 49 संसारको अन्तमा यस्तै हुनेछ । स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्‍टहरूलाई छुट्‌ट्याउनेछन् । 50 तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ । 51 के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ?” चेलाहरूले उहाँलाई भने, “बुझेका छौं ।” 52 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसकारण स्वर्गको राज्यको लागि चेला बनेको हरेक शास्‍‍‍त्री एउटा मानिसजस्तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ ।” 53 येशूले यी द‍ृष्‍टान्तहरू बताइसक्‍नुभएपछि उहाँ त्यस ठाउँबाट जानुभयो । 54 तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । फलस्वरूप तिनीहरू आश्‍चर्य चकित भए र भने, “यी मानिसले यिनको ज्ञान र आश्‍चर्यकर्महरू कहाँबाट पाउँछन्? 55 के यी मानिस सिकर्मीका छोरा होइनन् र? के यिनकी आमा मरियम होइनन् र? अनि यिनका भाइहरू, याकूब, योसेफ, सिमोन र यहूदा होइनन् र? 56 अनि यिनका सबै बहिनी हाम्रै माझमा छैनन् र? यिनले यी सबै कुराहरू कहाँबाट पाए त?” 57 तिनीहरू उहाँबाट अप्रसन्‍न भए । तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्‍ताको आदर नहुने भनेको तिनको आफ्नै परिवार र आफ्नै देशमा मात्र हो ।” 58 र तिनीहरूको अविश्‍वासको कारण उहाँले त्यहाँ धेरै आश्‍चर्यकर्महरू गर्नुभएन ।