5
1
अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आइरहेको कष्टहरूको कारण रोओ र विलाप गर ।
2
तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् ।
3
तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ र तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैं नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ ।
4
हेर, ती खेतालाहरूको ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगायोे, त्यो तिमीहरूको विरुद्धमा कराइरहेको छ। ती खेतालाहरूको चित्कार सेनाहरूका प्रभुका कानसम्म पुगेको छ ।
5
तिमीहरू पृथ्वीमा सुख विलासमा बसेका छौ र आफैंलाई तृप्त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्टपुष्ट पारेका छौ ।
6
तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।
7
त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर । किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर । त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ ।
8
तिमीहरू पनि धैर्य धारण गर । तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ ।
9
भाइहरू हो, एक अर्काको विरुद्धमा गनगन नगर ताकि तिमीहरू दोषी नठहरिओस् । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ ।
10
भाइहरू हो, प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्ट र धैर्यबाट एउटा उदाहरण लेओ ।
11
हेर, जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौं । तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ, र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ ।
12
यी सबै कुराभन्दा माथि, मेरा भाइहरू हो, स्वर्गद्वारा वा पृथ्वीद्वारा वा कुनै पनि कुराद्वारा शपथ नखाओ । बरु, तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको “हो” को अर्थ चाहिं “हो” र “होइन” को अर्थ चाहिं “होइन” नै होस् ।
13
के तिमीहरूका माझमा कसैले कष्ट भोगिरहेको छ? त्यसले प्रार्थना गरोस् । के कोही आनन्दित छ? त्यसले प्रशंसाको गीत गाओस् ।
14
के तिमीहरूका माझमा कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि तिनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा तिनीहरूले त्यसलाई तेलले अभिषेक गरून् ।
15
विश्वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले त्यसलाई माथि उठाउनुहुनेछ । यदि त्यसले पाप गरेको छ भने, परमेश्वरले त्यसलाई क्षमा गर्नुहुनेछ ।
16
त्यसकारण एक अर्कामा आफ्ना पापहरू मानिलेओ, र एक अर्काका निम्ति प्रार्थना गर, ताकि तिमीहरू निको हुन सक । धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्तिशाली हुन्छ ।
17
एलिया पनि हामीजस्तै मानिस थिए । पानी नपरोस् भनी तिनले नम्रतापूर्वक प्रार्थना गरे, र देशमा तीन वर्ष र छ महिनासम्म पानी परेन ।
18
अनि एलियाले फेरि प्रार्थना गरे । आकाशले पानी दियो र पृथ्वीले त्यसको फल उब्जायो ।
19
मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने,
20
त्यस व्यक्तिले यो थाहा गरोस्, कि जसले कुनै पापीलाई त्यसको भड्किएको मार्गबाट फर्काउँछ, त्यसले त्यसलाई मृत्युबाट बचाउनेछ, र असङ्ख्य पापलाई ढाक्नेछ ।