9 1 अब पहिलेका करारमा पनि आराधनाका निम्ति नियमहरू र सांसारिक बासस्‍थान थिए । 2 किनकि एउटा बासस्‍थान तयार गरिएको थियो । पहिलो कोठा, जसभित्र सामदान, टेबुल, र उपस्थितिको रोटी थिए, त्यसलाई पवित्रस्थान भनिन्थ्यो । 3 दोस्रो पर्दाको पछाडितिर अर्को कोठा थियो, जसलाई महा-पवित्रस्थान भनिन्थ्यो । 4 यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि मन्‍न राखिएको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलापाटीहरू थिए । 5 करारको सन्दुकको माथि, महिमाका करूबहरूले प्रायश्‍चित्तको ढकनीलाई ढाकेका थिए, जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौं। 6 यी थोकहरूलाई तयार गरिसकेपछि, पूजाहारीहरू नियमित रूपमा बासस्‍थानको बाहिरी कोठामा आफ्ना सेवाको काम गर्न प्रवेश गर्थे। 7 तर प्रधान पूजाहारी मात्रै प्रत्येक वर्षको, एक पल्ट दोश्रो कोठामा प्रवेश गर्थे, र सो पनि रगत विना होइन त्यो रगत तिनले आफ्नै निम्ति र मानिसहरूले अजानमा गरेका पापहरूका निम्ति चढाउँथे । 8 पवित्र आत्माले देखाउनुभयो, कि पहिलो बासस्‍थान रहुञ्‍जेलसम्म महा-पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन । 9 वर्तमान समयका लागि यो एक उदाहरण थियो । अहिले चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् । 10 ती खाने र पिउने र विभिन्‍न किसिमका शुद्ध हुने विधिसँग मात्रै सम्बन्धित छन् । ती सबै शरीरका निम्ति नियमहरू मात्रै थिए, जुन नयाँ प्रणालीको समय नआउन्जेलसम्म राखिएको थियो । 11 ख्रीष्‍ट, आएका असल थोकहरूका प्रधान पूजाहारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध बासस्‍थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको थिएन, र यस सृजित संसारको थिएन । 1 12 बोका र बाछाहरूको रगतले नभई उहाँ आफ्नै रगतद्वारा सबैका निम्ति एकै चोटि त्यस महा-पवित्रस्थानभित्र प्रवेश गर्नुभयो र हाम्रो अनन्तको छुटकारलाई सुरक्षित गर्नुभयो। 13 किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले अशुद्ध भएकाहरूलाई छर्किंदा त्यसले तिनीहरूका शरीर शुद्ध पार्न तिनीहरूलाई परमेश्‍वरमा अलग गर्छ भने, 14 अनन्त आत्माद्वारा दोषरहित प्रकारले आफैँलाई परमेश्‍वरमा अर्पण गर्नुहुने ख्रीष्‍टको रगतले, झन् कति धेरै हाम्रा विवेकलाई जीवित परमेश्‍वरको सेवा गर्न मृत कामहरूबाट शुद्ध पार्छ ? 15 यसै कारणले गर्दा, उहाँ नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ । यो यस्तो छ कि मृत्युको कारणले गर्दा, पहिलो करारमुनि रहेकाहरूलाई तिनीहरूका पापहरूबाट स्वतन्‍त्र गर्छ भने बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकारलाई प्राप्‍त गर्नेछन्। 16 किनकि जहाँ इच्छापत्र हुन्छ, त्यहाँ त्यो बनाउने व्यक्‍तिको मृत्युलाई प्रमाणित गर्नुपर्ने हुन्छ । 17 किनकि एउटा इच्छापत्र तब मात्र लागु हुन्छ, जब त्यहाँ मृत्यु भएको हुन्छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ, तबसम्म यसको कुनै जोड हुँदैन । 18 त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन । 19 किनकि जब मोशाले सबै मानिसहरूलाई व्यवस्थामा भएका सबै आज्ञाहरू दिएका थिए, , तिनले बाछाका र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसप लिएर त्यस मुट्ठा र सबै मानिसहरूलाई छर्के । 20 तब तिनले भने, “यो करारको रगत परमेश्‍वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको छ ।” 21 यसरी नै, तिनले बासस्‍थानमा र सेवामा प्रयोग हुने सबै भाँडाहारूमा रगत छर्के । 22 अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्छ । रगत नबगाइकन क्षमा हुँदैन । 23 त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्‍कलहरूलाई यी जनावरहरूका बलिदानहरूद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैंलाई झन् कति धेरै उत्तम बलिदानहरूद्वारा शुद्ध पार्न आवश्यक थियो । 24 किनकि ख्रीष्‍ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिंं सत्यको एक नक्‍कल मात्र हो । बरु, हाम्रा निम्ति अहिले परमेश्‍वरको सामु उपस्थित हुन उहाँ आफैं स्वर्गमा प्रवेश गर्नुभयो । 25 उहाँ आफ्नै निम्ति घरिघरि बलि चढाउनका निम्ति त्यहाँ जानुभएको होइन, जसरी प्रधान पूजाहारीले हरेक वर्ष अर्काको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गर्छन् । 26 त्यसो भएको भए, संसारको उत्पत्तिदेखि नै उहाँले धेरै पल्ट दुःख भोग्‍नुपर्ने हुन्थ्यो । तर अब यस युगको अन्त्यमा उहाँको आफ्नै बलिद्वारा पापलाई हटाउन उहाँ प्रकट हुनुभएको छ। 27 जसरी मानिस एक पटक मर्न निश्‍चित छ, र त्यसपछि न्याय आउँछ, 28 त्यसरी नै, ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई एकै पल्ट बलि हुनुभयो । दोस्रो पल्ट उहाँ देखा पर्नुहुनेछ, पापसँग सामना गर्नलाई होइन, तर मुक्‍तिका लागि उहाँलाई पर्खिरहनेहरूका निम्ति हो ।

1केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा लेखिएको छ ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पूजाहारीजस्तै भएर आउनुभयो